|

काठमाडौं : दोस्रो संविधानसभा निर्वाचन बहिस्कार गरेको नेकपा क्रान्तिकारी माओवादी आउँदो स्थानीय तह निर्वाचनमा सहभागी हुने भएको छ। गत सोमबार र मंगलबार दुई दिन काठमाडौंमा भएको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै क्रान्तिकारी माओवादीले  चुनावलाई उपयोग गर्ने जनाएको हो।

संविधानसभा निर्वाचन र संविधानसभाले बनाएको संविधान बहिस्कार सही रहेको तर्क गर्दै अध्यक्ष मोहन वैद्य किरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ-  'वर्तमान संविधानले दलाल एवम् नोकरशाही पूँजीपति र सामन्तवर्गको नेतृत्व तथा अधिनायकत्वमा आधारित पश्चगामी राज्यसत्ताको प्रतिनिधित्व तथा संरक्षण गर्दछ। त्यसैले हाम्रा लागि यस प्रकारको संविधान अस्वीकार्य रहेको छ र त्यसलाई खारेज गरी संघीय जनगणतान्त्रिक संविधानको निर्माणका लागि संघर्ष गर्ने नीति अवलम्वन गरिएको छ। पार्टीको यो नीति सही तथा वैज्ञानिक रहेको छ।'

'उपयोग दक्षिणपन्थी र बहिस्कार क्रान्तिकारी हुँदैन'

चुनावको उपयोग दक्षिणपन्थी र बहिस्कार क्रान्तिकारी नहुने तर्क अध्यक्ष वैद्यको छ।

'सामान्य अर्थमा नेपालमा चुनाव उपयोग गर्दा दक्षिणपन्थी र बहिष्कार गर्दा क्रान्तिकारी भइन्छ भन्ने मानसिकता पनि पाइन्छ । त्यो गलत हो', विज्ञप्तिमा भनिएको छ, 'विश्व र नेपालमा पनि क्रान्तिकारी ढंगले चुनाव उपयोग गरिएका र बहिष्कार क्रान्तिकारी नभई ढोंगमा परिणत भएका उदाहरणहरु पनि छन्। यसरी हेर्दा चुनाव उपयोग हमेशा गलत र बहिष्कार हमेशा सही हुन्छ भन्ने कुरा पनि ठीक होइन।'

'अन्तर्राष्ट्रिय र नेपाली कम्युनिस्ट आन्दोलनमा पनि संसदीय चुनावहरुको उपयोगका नाममा सुधारवाद तथा दक्षिणपन्थी अवसरवाद र बहिष्कारका नाममा यान्त्रिकतावाद, संकीर्णतावाद वा कुनै वेला क्रान्ति विरोधी उद्देश्यसित जोडिएका पनि देखा पर्दै आएको' विज्ञप्तिमा उल्लेख छ। 'हामीले सामान्यतःयी दुवै खाले गलत प्रवृत्ति र मुख्यतः दक्षिणपन्थी अवसरवाद तथा क्रान्तिविरोधी चिन्तनप्रति सतर्क रहन जरुरी छ', विज्ञप्तिमा भनिएको छ।

चुनावको सार्थकतामा प्रश्न

स्थानीय निर्वाचनमा भाग लिने निर्णय गरे पनि क्रान्तिकारी माओवादीले निर्वाचनको सार्थकतामा भने प्रश्न उठाएको छ।  'स्थानीय निर्वाचन प्रदेशको मातहतमा गरिने भनिएकोमा सो नगरिएको, विशेष, संरक्षित तथा स्वायत्त क्षेत्रहरुको व्यवस्था भई नसकेको, पहिचानसहितको संघीयतातर्फ पनि ध्यान नदिइएको, श्रमिकवर्ग तथा उत्पीडित जनसमुदायका हक अधिकार सुनिश्चित भै नसकेको स्थितिमा स्थानीय निर्वाचनको सार्थकता देखिंदैन', निर्णयमा उल्लेख छ।

उपयुक्त निर्णय

निर्वाचन अझै सुनिश्चित नभएको निष्कर्ष निकाले पनि चुनाव हुने स्थितिमा उपयोग गर्नुपर्ने निर्णय उसको छ।

'निर्वाचन हुने स्थिति पैदा भएमा उपयुक्त निर्णय लिनु आवश्यक देखिएको' भन्दै उसले उल्लेख गरेको छ-

स्थानीय निर्वाचन जनताका अत्यावश्यक तथा दैनिक कामहरुको व्यवस्थापनसित जोडिएको, महान् जनयुद्ध तथा क्रान्तिले गंभीर धक्का खाई प्रतिक्रियाकाल सुरु भएको, अहिले उभारको अवस्था नरहेको, क्रान्तिको तयारीका लागि जनाधार तयार पार्न तथा जनताकाबीचमा संगठन विस्तार गर्न आवश्यक बन्न गएको, जनताको एउटा ठुलो हिस्सामा निर्वाचनप्रति चासो देखिएको र पश्चगामी सत्ता तथा व्यवस्थाको विरोध एवम् भण्डाफोर गर्ने एउटा उपयुक्त माध्यम हुने भएकोले सो निर्वाचनको क्रान्तिकारी ढंगले उपयोग गर्न आवश्यक छ।

यस प्रकारको उपयोग पार्टीद्वारा नभई संयुक्त मोर्चा मार्फत् गर्ने क्रान्तिकारी माओवादीको निर्णय छ।  'त्यस निम्ति मोर्चालाई समर्थन गरेर जाने नीति अबलम्वन गर्नु पर्दछ', विज्ञप्तिमा भनिएको छ।

किन गर्ने उपयोग?

उसले चुनाव उपयोग गर्नुका कारणबारे विज्ञप्तिमा उल्लेख गरेको छ-

१. प्रतिक्रियावादी राज्यसत्ता तथा व्यवस्थालाई स्वीकार गरी त्यसको संरक्षण तथा कार्यान्वयन गर्न निर्वाचनमा भाग लिनु र त्यस प्रकारको सत्ता तथा व्यवस्थाको विरोधमा भण्डाफोरको नीति अवलम्वन गरी क्रान्तिकारी उपयोग गर्नुका बिच तात्विक तथा गुणात्मक अन्तर हुन्छ ।

२. स्थानीय निर्वाचनको उपयोग सम्बन्धी हाम्रो नीति वर्तमान प्रतिक्रियावादी राज्यसत्ता तथा व्यवस्था, तिनको कार्यान्वयन एवम् संरक्षणमा संलग्न पश्चगामी तथा दक्षिणपन्थी संशोधनवादी राजनीतिक दलहरुको विरोध तथा भण्डाफोर गर्ने र क्रान्तिको तयारीका लागि जनाधार तयार पार्ने तथा संगठन विस्तार गर्ने उद्देश्यमा आधारित रहेको छ ।

३. निर्वाचन उपयोगको क्रममा राप्रपा, नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रसहितका राजनीतिक दलहरुको प्रतिक्रान्तिकारी तथा राष्ट्रघाती चरित्रको सशक्त विरोध तथा भण्डाफोर गर्नुपर्दछ। साथै, उनीहरुकाबीचको अन्तर्विरोधलाई देश तथाजनताको पक्षमा उपयोग गर्नेबारे पनि आवश्यक ध्यान दिनु पर्दछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.