|

रुकुम : तकसेरा संघर्ष समितिले सरकारले गाउँपालिकाको केन्द्र परिवर्तन नगरे वैशाख ३१ गते हुने निर्वाचन बहिष्कार गर्ने चेतावनी दिएको छ। रुकुमको खलंगामा समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा समितसका संयोजक जुद्ध बुढामगरले तकसेरा गाउँलाई पुथा उत्तरगंगा गाउँपालिकाको केन्द्र घोषणा नगरे निर्वाचन बहिष्कार गर्ने चेतावनी दिए।

सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर पुथा उत्तरगंगा गाउँपालिकाको केन्द्र साबिकको कोल गाविसमा रहने  निर्णय गरेको छ। सरकारको यस निर्णयको विरोध गर्दै तकसेरावासीहरु आन्दोलनमा छन्। तकसेरालाई गाउँपालिकाको केन्द्र घोषणा गर्नुपर्ने उनीहरुको माग छ।

'यदि समयमै हाम्रो माग पुरा भएन भने स्थानीय तहको चुनावमा मात्र होइन प्रदेश र राष्ट्रिय चुनाव पनि हामी बहिस्कार गछौं,' संयोजक बुढामगरले भने,'यसमा जिल्लास्थित ३ ठुला दल सहित स्थानीय सबैको सहमति छ।’

साबिकको तकसेरा गाविस हाल पुथा उत्तरगंगा गाउँपालिकाको १० र ११ वडामा पर्छ। तकसेरा गाउँ सम्पुर्ण मगर बस्ती हो। सरकारले गाउँपालिकाको केन्द्र कोलमा रहने निर्णय गरेसँगै कार्यालय उद्‍घाटनका लागि कोल पुगेको कार्यकारी अधिकृत तिलक रावलसहितको टोलीले तकसेरावासीको विरोधका कारण कार्यालय उद्‍घाटन गर्न पाएनन्।

गाउँपालिकाका कार्यकारी अधिकृत तिलक रावलले त्यस क्षेत्रको परिस्थति अनुकुल नभएका कारण अनिश्चितकालका लागी कार्यालय उद्घाटन कार्यक्रम स्थगित गरिएको बताएका छन्।

को-को छन् संघर्ष समितिमा

तकसेरा संघर्ष समितिका संयोजक जुद्ध बुढामगर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध छन्। संघर्ष समितिमा  माओवादी केन्द्र राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तेजेन्द्र खाममगर, नेपाली कांग्रेसका जिल्ला समिती सदस्य हरिशंकर बुढामगर र नेकपा एमालेका जिल्ला सचिवालय सदस्य सतमान पुनमगर पनि छन्।

'म विप्लव माओवादीको जिल्ला सदस्य हो तर अहिले म पार्टीमा छैन। म लगायतका अन्य दलका नेताहरुले पनि पार्टीबाट राजीनामा दिनुभएको छ,' संयोजक बुढामगरले पत्रकार सम्मेलनमा भने,'मेरो पार्टीले मात्र नभएर यस क्षेत्रका माओवादी, कांग्रेस र एमालेका नेताहरुले पनि राजीनामा दिईसकेका छन्। हाम्रो समस्यामा दलहरुले चासो दिदैंनन् भने हामी किन पार्टीमा बस्ने?'

आन्दोलनका लागि विदेशबाट आर्थिक सहयोग

तकसेरालाई जसरी पनि गाउँपालिकाको केन्द्र बनाउन संघर्ष समितिलाई विदेशमा आर्थिक सहयोग प्राप्त भएको छ। विदेशमा रहेका त्यस क्षेत्रमा स्थानीयहरुले रकम पठाएको संयोजक बुढामगरले बताए।

'सरकारले स्थानीय तहको सिफारिस गरेदेखि कुनै न कुनै रुपमा हाम्रो आन्दोलन जारी छ। आन्दोलनमा करोडौं रकम खर्च भएको छ,’ संयोजक बुढा मगरले भने,'हाम्रो आन्दोलनका लागि विदेशमा रहेका शुभेच्छुकहरुले रकम पठाईराख्नु भएको कुरा साँचो हो।'

संघर्ष समितिले काठमाडौं, रुकुम खलंगा र अन्य ठाउँमा ठुलो जनशक्ति परिचालन गर्दै आएको छ। जसमा सहभागी सबै जनताहरुको खर्च समितिले बेहोर्दै आएको छ।  तकसेरा गाउँका अधिकांस युवाहरु रोजगारीको शिलसिलामा विदेशमा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.