|

बुटबल: हिमलाल ज्ञवालीको अध्यक्षतामा बुटबलमा लुम्बिनी प्रादेशिक प्रज्ञा प्रतिष्ठान गठन भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान र लुम्बिनी वाङ्मय प्रतिष्ठानको तत्वावधानमा बुटवलमा शनिबार भएको कार्यक्रममा प्रतिष्ठानको २१ सदस्यीय तदर्थ समिति गठनको घोषणा गरियो। 

तदर्थ समितिको  उपाध्यक्षमा बालकृष्ण भट्टराई र कृष्णादेवी श्रेष्ठ शर्मा, सचिवमा ऋषि आजाद, सहसचिवमा कविराज पौडेल, कोषाध्यक्षमा लक्ष्मण ज्ञवाली चयन भएका छन्।

त्यसैगरी सदस्यहरुमा अर्जुन ज्ञवाली, यानेन्द्र जिसी, बालकृष्ण चापागाईं, विकास के.सी., देवेन्द्र घिमिरे ‘कपिलबन्धु’, प्रा. डा. सुरेन्द्र गिरी, इश्वर बा खनाल, कृष्ण कोइराला, गंगा अभिलाषी, दलबहादुर गुरुङ, बम बहादुर थारु लगायत रहेका छन्।   

तदर्थ समितिले प्रज्ञा प्रतिष्ठानको प्रदेश नम्बर ५मा शाखा स्थापना गर्नका लागि सबै प्रक्रिया पूरा गर्ने काम गर्ने अध्यक्ष हिमलाल ज्ञवालीले बताए।  शाखा खोल्न प्रज्ञा प्रतिष्ठान पनि सकारात्मक छ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेतीले लुम्बिनी नेपालको प्राज्ञिक थलो भएको र लुम्बिनीको सम्बन्ध विश्वसंग जोडिएको भन्दै लुम्बिनी वाङ्मय प्रतिष्ठानलाई लुम्बिनी प्रादेशिक प्रज्ञा प्रतिष्ठानमा रुपान्तरण गर्न सहयोग गर्ने वचन दिए।

‘प्रज्ञा प्रतिष्ठान उद्देश्य मिल्ने संस्थासँग सहकार्य गर्दै देशैभर पुग्छ,'उप्रेतीले भने ‘लुम्बिनी प्रादेशिक प्रज्ञा प्रतिष्ठानलाई सरकारले सहयोग गरेन भने पनि प्रज्ञा प्रतिष्ठानले शाखा खोलेरै पनि सहयोग गर्छ।’

लुम्बिनी नेपालको प्राज्ञिक परिचय दिने थलो भएको उनले बताए। उप्रेतीले प्रतिष्ठानको लागि जग्गा प्राप्तिका लागि प्रयास जारी राख्न आग्रह गरे। प्रज्ञा प्रतिष्ठानले प्राचीनता र बहुलतालाई प्राथमिकता दिदै आएको उनको भनाइ छ।

भाषा, साहित्य, संस्कृतिको विकासमा निजी क्षेत्रको पनि सहयोग जरूरी रहेको उनले बताए। उप्रेतीले विकास निर्माणमा जस्तै भाषा, साहित्य, संस्कृति लगायतको विकासमा पनि निजी क्षेत्रको साथ आवश्यक हुने औंल्याए।

नयाँ संविधान अनुसार प्रदेशले चाहे अनुसार भाषा, संस्कृतिको प्रतिष्ठान बनाउन सक्ने भए पनि आवश्यक भए प्रज्ञा प्रतिष्ठानले सहयोग पुर्‍याउन सक्ने उनले बताए ।

कार्यक्रममा पूर्व शिक्षामन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले सातै प्रदेशमा स्वायत्त प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने विषय सरकारको नीति तथा कार्यक्रममै समावेश हुनुपर्ने बताए।

बुद्धले संघ (समूह, संगठन) को शरणमा जान शिक्षा दिएको शर्माले बताए। शर्माले बुद्धभूमिबाट संकल्प गरिएको लुम्बिनी प्रादेशिक प्रज्ञा प्रतिष्ठान बनाउने अभियान सफल हुने विश्वास व्यक्त गरे।

लुम्बिनी वाङ्मय प्रतिष्ठानको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनको सन्दर्भमा नेपाल प्रज्ञा प्रतिष्ठान र लुम्बिनी वाङ्मय प्रतिष्ठानको संयुक्त तत्वावधानमा आयोजित ‘सर्वदर्शन संगोष्ठी अन्तर्गत आदिमकालीन दार्शनिक चिन्तनका प्रवृत्तिहरु, बहुभाषिक लोकवार्ता’ विषयक छलफल कार्यक्रममा तीन वटा कार्यपत्र प्रस्तुत गरिएका थिए।

आदिमकालीन दार्शनिक चिन्तनका प्रवृत्तिहरुबारे कार्यपत्र प्रस्तुत गर्दै प्रज्ञा प्रतिष्ठानका प्राज्ञ गोपीरमण उपाध्यायले चिन्तन प्रणालीलाई युगको सिलसिलाको आधारमा अध्ययन गर्नुपर्ने बताए।

दार्शनिक चिन्तनको  विकासक्रमलाई समाज विकासकै क्रममा र वैचारिक संघर्षलाई पनि वर्गसंघर्षको विकास संगसंगै अध्ययन गर्नुपर्ने उनको भनाइ थियो। नेपाली समाजको दार्शनिक प्रवृत्तिहरुको अध्ययन गर्दा जीवन्त चिन्तन प्रणालीको रुपमा माक्र्सवादलाई लिनुपर्ने उनको निष्कर्ष थियो।

बहुभाषिक संघ गोष्ठीहरुको आवश्यकताबारे अवधारणापत्र प्रस्तुत गर्दै प्राध्यापक वनमाली निराकारले समुन्नत समाज र राष्ट्र निर्माणको शुरुवात भाषिक सदभाव बढाउने कार्यबाट सुरु गर्नुपर्ने बताए।

१ सय २८ जातिका १ सय २३ वटै भाषा राष्ट्रभाषा भएको भन्दै उनले सबै भाषाको महत्व र विशेषता समान हुने बताए।

नारायण ज्ञवाली र नारद गौतमको सहयोगमा तयार पारेको लु्म्बिनी वाङ्मय प्रतिष्ठानलाई लुम्बिनी प्रादेशिक प्रज्ञा प्रतिष्ठानमा रुपँन्तरणबारे अवधारणापत्र प्रस्तुत गर्दै प्रा. डा. हिरण्यलाल ज्ञवालीले भाषा, साहित्य, कला, संस्कृति, संगीत र तीसंग सम्बद्ध अन्य संस्थाहरुको छाता संगठनको रूपमा कार्य गर्न लुम्बिनी प्रादेशिक प्रज्ञा प्रतिष्ठानमा रुपान्तरण जरुरी रहेको बताए।

सोही अवसरमा लुम्बिनी वाङ्मय प्रतिष्ठानले प्रकाशित गरेको ‘लालीगुराँस’ साहित्यिक पत्रिकाको वर्ष ३७ अंक २ विमोचन गरियो।

लुम्बिनी वाङ्मय प्रतिष्ठानका अध्यक्ष हिमलाल ज्ञवालीको अध्यक्षता, साहित्यकार जंगबहादुर शाहको स्वागत मन्तव्य र युवा साहित्यकार कविराज पौडेलको सञ्चालन रहेको कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका दर्शन विभाग प्रमुख दिनेशराज पन्त, बुटवल उपमहानगरपालिकाका पूर्व नगर प्रमुख भोजप्रसाद श्रेष्ठले मन्तव्य राखेका थिए। सो अवसरमा मीन राना, खोमा तरामु, अर्जुन शर, होमनाथ काफ्ले, पुरुषोत्तम पाण्डे लगायतका साहित्यकारहरुले आ–आफ्ना रचना प्रस्तुत गरेका थिए।

बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाको सह-आयोजनामा भएको कार्यक्रममा कपिलवस्तु तौलिहवा निवासी साहित्यकार विष्णुराज आत्रेय ‘लाटो साथी’लाई सम्मान गरिएको छ। बनारस हिन्दु विश्वविद्यालयका नेपाली विभाग प्रमुख समेत रहेका आत्रेयको ‘पाणिनी’ उपन्यासका लागि हिमलाल ज्ञवाली स्रष्टा पुरस्कार प्रदान गरिएको हो। यस पुरस्कारको राशी १५ हजार रुपैयाँ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.