|

काठमाडौं : सबै जीवन बीमा र निर्जीवन बीमा कम्पनीले २०७५ असार मसान्तभित्र चुक्ता पुँजी चार गुणा बढाउनुपर्ने भएको छ। बीमा समितिले शुक्रवार सो व्यवस्था गरेको हो। यो नयाँ व्यवस्थाले बीमा कम्पनीलाई बलियो बनाउने भन्दै सरोकारवालाले ढिलै भए पनि चुक्ता पुँजी बढाउनुपर्ने व्यवस्था गरिएकोमा प्रशंसा गरेका छन्। अहिले देशमा ९ ओटा जीवन बीमा र १५ ओटा नीर्जीवन बीमा कम्पनी रहेका छन्।

नयाँ व्यवस्थाअनुसार २०७५ असार मसान्तभित्र जीवन बीमा कम्पनीले २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीले १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउनुपर्नेछ। यसअघि जीवन बीमा कम्पनीको ५० करोड रुपैयाँ र निर्जीवनको २५ करोड रुपैयाँ चुक्ता पुँजी हुनुपर्ने व्यवस्था थियो।

विगत ७/८ वर्षदेखि बीमा कम्पनीको चुक्ता पुँजी नबढाइएको र अहिले अर्थतन्त्र बढ्दै गएकाले समयानुसार बीमा कम्पनीहरूको चुक्ता पुँजी बढाउन यस्तो व्यवस्था गरिएको समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताए। ‘ठूला–ठूला कम्पनीहरूको पनि बीमा गर्न सक्ने बीमा कम्पनी हुनुपर्ने भएकाले यस्तो व्यवस्था गरिएको हो,’ उनले भने।  

बीमा समितिले अबको १६ महीनाभित्र बीमा कम्पनीहरूलाई पुँजी बढाउन कम्पनीको नाफाबाट बोनस शेयर र हकप्रद शेयरका साथै मर्जर–प्रक्रियाबाट चुक्ता पुँजी बढाउन सकिने विकल्प दिएको छ। ‘बीमा कम्पनीहरूले बोनस दिने, लगानीकर्ताले हकप्रदबाट पुँजी थप्ने तथा मर्जर गरेर भए पनि तोकिएको पुँजी पुर्‍याउनु पर्नेछ,’ अध्यक्ष चापागाईंले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.