|

उदयपुर  : आगामी वैशाख ३१ गते हुने निर्वाचनको उत्साह बोकेर वैदेशिक रोजगारीबाट घर फर्केकाहरु मतदान गर्ने अधिकारबाट वञ्चित हुने भएका छन्। वैदेशिक रोजगारीमा रहेको बेला भोटर लिस्टमा फोटो सहितको मतदाता नामावली दर्ता नगरेकाले उनीहरुले स्थानीय तहको निर्वाचनमा मतदान गर्न नपाउने भएका हुन्।

२० वर्षपछि हुन लागेको स्थानीय निर्वाचनमा मत लगाउन नपाउने भएपछि विदेशबाट फर्केकाहरु खल्लो महसुस गर्न थालेका छन्। ‘२० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा भाग लिन कतारदेखि आएँ,’ साविक जाँते गाविसका युवराज कोइराला भन्छन्, ‘०६४ सालको निर्वाचनमा जसरी अहिले भोट लगाउन नपाइने रहेछ, मेरो त भोटर लिस्टमा नामै भेटिनँ, नआएको भएनै वेस हुने रहेछ।’

यसरी नै ५ वर्षदेखि मलेसियामा कार्यरत मैनमैनीका सन्तोष मगरले पनि निर्वाचनमा मतदान गर्न नपाउने भएका छन्। मगरले आगामी असारसम्मको बिदा लिएर निर्वाचनमा सहभागी हुन आउँदा उस्तै समस्यामा परेका छन्। ‘सोचेको थिएँ, नागरिकताबाट भोट दिन पाइन्छ तर, होइन रहेछ’ मगरले भने, ०६४ सालको पहिलो निर्वाचनमा भाग लिएर मलेसिया गएको थिएँ, त्यसपछि आउँदै जाँदै गरे पनि फोटो सहितको मतदाता नामावली बनाइएन।’

मगर र कोइराला एउटा प्रतिनिधि पात्र मात्र हुन्। निर्वाचनका लागि भन्दै कतारबाट दुई दिनअघि नेपाल आइपुगेका उदयपुरगढी गाउँपालिका ३ भलायडाँडा होम बस्नेतले विदेशबाट फर्केकाहरु पनि मतदान गर्नबाट वञ्चित भएको बताए। ‘कतारमा म कार्यरत रहेको क्षेत्रबाट लगभग सिरहा, सप्तरी, उदयपुर, खोटाङ लगायतका दुईसय बढी युवा फर्केका छन्,’ बस्नेतले भने, ‘अहिले भाइबर, टेलिफोन, फेसबुकबाट नआएकै भए हुने रहेछ भन्दै गुनोसो गरिरहेका छन्।’

१९ वर्ष ११ महिनापछि हुन लागेको स्थानीय निर्वाचनमा स्वदेशमा भन्दा विदेशमा बस्नेलाई चुनावी उत्साह छ। विदेशमा बसेर सामाजिक सञ्जालहरुमा चुनाव खुसियाली मानाइरहेकाहरु नेपाल आउँदा न्याउरो मुख लगाउन बाध्य छन्।

आफूले मन पराएको जनप्रतिनिधि चुन्नबाट वञ्चित भएपछि आक्रोश समेत पोख्छन्। कतारबाट फर्केका बस्नेत पुन भन्छन्, ‘निर्वाचन हुनुभन्दा एकसाता अघिसम्म नाम दर्ता हुने व्यवस्था मिलाउँदा राम्रो हुने थियो, नभए विदेशमा बसेकालाई उतै दर्ता गर्न पाउने व्यवस्था सरकारले किन नमिलाएको होला?’

वैदेशिक रोजगारीमा जानेहरु मात्र नभएर जिल्लाबहिर रहेकाहरुको पनि मतदाता नामावाली छुटेको गुनासो गर्न थालेका छन्। ‘गाउँमा काकाले वडा अध्यक्षको उम्मेदवारी दिने भनेर बोलाउनुभयो’ काठमाडौंमा स्‍नातकोत्तरमा अध्ययन गर्दै गरेका कटारी नगरपालिका १० सन्देश खत्रीले भने, ‘हामी काठमाडौं बस्नेको धेरैको नामावली नभएको अहिले थाहा हुँदैछ, के गर्ने होला भनेर छक्क परिएको छ।’

संघीय गणतन्त्र नेपालको पहिलो स्थानीय तहको निर्वाचनमा युवाले नै भाग लिन नपाउनु यतिबेला आक्रोश बन्दै गएको छ। बिहे गरेका, बसाई सरेको गएकाहरुले पनि चुनावी माहोल तत्दै जाँदा पीडा पोख्न थालेका छन्।

जिल्ला निर्वाचन कर्यालयका अनुसार उदयपुरका हाल १ लाख ७९ हजार मतदता छन्। कार्यालयका प्रमुख एकबहादुर बस्नेतका अनुसार गएको फागुन १८ गते सरकारले चुनाव घोषणा गरेसँगै फागुन २० गतेदेखि आगामी वैशाख ३१ गतेसम्म नयाँ मतदता नामावली दर्ता गर्ने प्रक्रिया पूर्ण रुपले बन्द गरेको छ। ‘छुटेका मतदाता नामावली अद्यावधिक गर्न गएको माघमा शिविर चलाएका थियौं।’ बस्‍नेतले भने, ‘त्यसपछि विदेश बस्दाको समयमा छुटेको, नेपालमै हुँदा छुटेको भए पनि सरकारले निर्णय नगरी केही हुँदैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.