|

कोलम्बियाको दक्षिण पश्चिमी क्षेत्रमा गएको ठूलो बाढीले बगाउँदा २ सय ५० भन्दा बढीको मृत्यु भएको छ। पहिरोमा पुरिएर धेरै जना घाइते भएका कोलम्बियाली अधिकारीहरुले जानकारी दिएका छन्।

कोलम्बियाको पुतुमायो राज्यमा रातिको समयमा घण्टौंसम्म परेको भीषण वर्षापछि नदीले ल्याएको बालुवा र माटो सहितको बाढीले सिंगो सहर नै पुरिएको हो। समाचार संस्था रोयटर्सले दुर्घटनामा २ सय ५४ जनाको मृत्यु भएको उल्लेख गरेको छ। रेडक्रसका अनुसार उक्त घटनामा २ सय २० जना हराइरहेका छन् भने अरु २ सय २ जन घाइते भएका छन्।

भारी वर्षाका कारण धेरै नदीहरुमा आएको बाढीले शहर नै पुरिएको हो। 'यो मुसलधारे वर्षा थियो, राति ११ देखि १ बजेसम्म निकै ठूलो पानी पर्‍यो' बाढीग्रस्त क्षेत्रमा आफ्ना ससुरा खोजिरहेका मारिय उस्लेले रोयटर्ससँग भनेका छन्। मेरो सासुआमा पनि हराउनुभएको छ, तर हामीले दुई किलोमिटर पर उहाँलाई जिउँदै फेला पार्‍यौं, उहाँको टाउकोमा चोट लागेको छ। तर उहाँ होसमा नै हुनुहुन्छ' उनले भने।

राष्ट्रपति जुआन म्यानुल सान्तोस घटनास्थलमा पुगेका छन्। उनले उक्त क्षेत्रमा आपतकालीन अवस्थाको घोषणा गरेका छन्। समाचार संस्था रोयटर्सका अनुसार त्यस क्षेत्रमा ११ सय भन्दा बढी प्रहरीहरु उद्दार कार्यमा खटिएका छन्। उद्दारमा खटिएका एक सैनिक अधिकारीका अनुसार घाइतेको संख्या धेरै भएका कारण स्थानीय अस्पतालमा उपचारका लागि समस्या भएको छ।

उक्त राज्यका गभर्नर सोरेल आरोकाले कोलम्बियाका सञ्चार माध्यमसँग सिंगो गाउँ नै पुरिएको बताएका छन्। उद्दारकर्ताहरुले लगातारको खराब मौसम र पूर्वाधारहरु ध्वस्त भएका कारण उद्दार कार्य प्रभावित भएको बताएका छन्। ८० प्रतिशत भन्दा बढी सडक ध्वस्त छन् भने पुलहरु पनि बगेको छ। उक्त प्रदेशको राजधानी मोकोआका मेयर जोस एन्टोनियो क्यास्ट्रोले स्थानीय रेडियोलाई भनेका छन् शहर पुरै एक्लिएको छ, विजुली र पानी समेत छैन।

घटनास्थलको अवलोकनपछि फर्किएका राष्ट्रपति सान्तोसले पत्रकारहरुसँग भनेका छन् 'मेरो र सिंगो कोलम्बियाबासीकव मुटु दुखद घटनाको शिकार भएको छ।' एक्कासी नदीमा ठूलो बाढी आएका कारण स्थानीय वासिन्दाले घर छाडेर सुरिक्षत ठाउँमा पुग्न सकेनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.