|

  • रमेश रावल-

कालिकोट : सरकारले आउँदो वैशाख ३१ गतेका लागि स्थानीय तहको चुनावको मिति घोषणा गरेसँगै कालिकोटमा चुनावको सरगर्मी बढेको छ। झन्डै २ दशकपछि स्थानीय तहको चुनाव हुने भएपछि कालिकोटका स्थानीय उत्साहित बनेका छन्।

स्थानीय तहको चुनाव नजिकिँदै गर्दा कालिकोटमा रहेका ठूला दलहरू सम्भावित उम्मेदवार खोज्न केन्द्रीत भएका छन् । अहिले गाउँघरमा चुनावी रौनक बढेको छ। स्थानीयहरु चुनावमा कसलाई मत दिने भन्दै चर्चा परिचर्चा गर्न थालेका छन्। चियापसल, मेलापत, खेतबारीमा काम गर्दा पनि चुनावकै कुरा हुने गरेको पाटनका नेपाली कांग्रेस कालिकोटका महासमिति सदस्य मोतीराज बमले बताए। ‘जताजतै चुनावी माहोला तातेको छ।’ उनले भने,‘चुनावका कारणले स्थानीयवासी पनि उत्साहित भएका छन्।’

विगतमा सदरमुकाम र सहरमा केन्द्रित भएका राजनीतिक दलहरु अहिले गाउँमा हुने भेला तथा सभामा गर्न थालेका छन्। महिलाहरु पनि चुनावी चर्चामा लागेका भेटिन्छन्। लामो समयपछि स्थानीय तहमा आफूलाई मनपर्ने जनप्रतिनीधि चुन्न पाउने आशाले जनतामा खुसी लागेको नरहरिनाथ गाउँपालिकाका अध्यक्षका प्रत्यासी सुरथबहादुर शाहीले बताए।

‘लामो समयदेखि जनप्रतिनिधिविहीन भएकाले अब नागरिकले आफूलाई मनपर्ने प्रतिनिधि रोज्न पाउने भन्दै खुसी मानेका छन्।’ उनले भने, ‘आफूहरुले झेल्दै आएका समस्या अब चुनाव भएपछि कम हुने आशमा खुसी भएका हुन्।’ उनले भने।

सबैजसो दलले प्रतिद्वन्द्वी उम्मेदवार पर्खंदै टुंगो लगाउने योजना बनाएका छन् । पद र उमेरभन्दा पनि जनमत आकर्षित गर्न सक्ने र स्थानीय निकाय सञ्चालन गर्न सक्ने क्षमताका आधारमा उम्मेदवार छनौटमा केन्द्रित भएका छन् । विकासे योजना छनोट र उपभोक्ता समितिको काममा केन्द्रित हुने राजनीतिक कार्यकर्ता चुनाव लक्षित गतिविधिमा केन्द्रित हुन थालेको स्थानीय शिक्षक नवराज शाहीले बताए।

कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाले जिल्लाका ३ नगरपालिका र ६ गाउँपालिका क्षेत्रमा सभा र भेटघाट बढाएका छन्। कांग्रेसले १० वटै स्थानीय निकायमा सम्भावित उम्मेदवार पहिचान गर्न टोली खटाएको छ। एमालेले गाउँ केन्द्रित जनपरिचालन अभियान थालेको भने माओवादी केन्द्रले टोलस्तरमा रहेको सेल कमिटी हुँदै गाउँ तहबाट उम्मेदवारबारे सुझाव संकलन थालेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.