|

काठमाडौं : बिहीबार संसद बैठकमा अविश्वास प्रस्ताव वा बजेट सम्बन्धी विधेयक कुनलाई अगाडि बढाउने भन्ने विषयमा प्रमुख दलहरुबीच विवाद भएपछि सभामुख ओनसरी घर्तीले राजनीतिक भेटघाट तीब्र पारेकी छन्। 

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेको अविश्वास प्रस्तावमा छलफल हुनुपर्ने र एमालेले बजेट सम्बन्धी विधेयकमा छलफल हुनुपर्ने अडान दर्ता लिएपछि सभामुखले प्रमुख दलहरुबीच सहमति जुटाउन लागेकी हुन्। 

यसै क्रममा उनले मंगलबार प्रधानमन्त्री ओलीलाई भेटेकी थिइन् भने बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेकी छन्। 

मंगलबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर राजनीतिक सहमति जुटाउन आग्रह गरेकी सभामुख घर्तीले बुधबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेकी हुन्। बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि सभामुखले भेट गरेकी छन्।  

बुधबार बिहान लाजिम्पाटमा भएको भेटमा सभामुखले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई दलहरुबीच सहमति जुटाउन भूमिका खेल्न आग्रह गरेकी थिइन्। ‘बिहीबार बस्ने संसद बैठकलाई सहज बनाउन तपाईँहरुबीच सहमति हुन जरुरी छ, जुन विषयमा भए पनि सहमति जुटाउन मेरो आग्रह छ', सभामुखको भनाई उदृत गर्दै प्रचण्डका स्वकीय सचिव जोखबहादुर महराले भने।

प्रचण्डले सहमति जुटाउन आफूले अन्य राजनीतिक दलसँग सम्वाद थाल्ने जवाफ दिएका थिए। संसद्को कार्यसूची अनुसार नै अविश्वासको प्रस्ताव अघि बढाउन आग्रह गर्दै प्रचण्डले सो विषयमा सहमति जुटाउन प्रयास थाल्ने बताएका हुन्।

कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि सभामुख घर्तीले सहमति कायम गरी संसद बैठक सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेकी थिइन्। देउवाले अविश्वासको प्रस्तावमाथि छलफलका निम्ति पहल थाल्ने जवाफ दिएका थिए।

सभामुख घर्तीकी प्रेस सल्लाहकार बबिन शर्माले बिहीबार संसद बैठकलाई सहज रुपमा अघि बढाउन सभामुखले प्रयास थालेको बताए। ‘सबै राजनीतिक दलका नेतालाई भेटेर उहाँले सहमति कायम गर्नका लागि आग्रह गर्नुभएको छ’ थाहाखबरसँग शर्माले भने, ‘दलहरुबीच सहमति नजुटे कार्यसूची अनुसार बिहीबार अविश्वासको प्रस्तावमाथि नै छलफल गर्ने सभामुखको तयारी छ।’ सभामुख घर्ती र राष्ट्रपति विद्या भण्डारीबीच हाल भेटघाट जारी छ ।

मंगलबार सभामुखले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी थिइन्। भेटमा ओलीले बजेट सम्बन्धी विधेयक कार्यसूचीबाट हट्नुको कारणबारे सभामुखसँग चासो राखेका थिए। सभामुखले आफू संसदको परम्परा अनुसार नै अघि बढेको जवाफ दिँदै दलहरुबीच सहमति गर्न आग्रह गरेकी थिइन्। दलहरुबीच सहमति नजुटेमा कार्यसूची अनुसार अविश्वास प्रस्ताव अगाडि बढाउन आफू बाध्य हुने उनको भनाई थियो।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले दर्ता गरेको प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमाथि बिहीबार संसदमा छलफल हुने कार्यसूची छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.