पूर्व अध्यक्ष ढकाल अघिअघि, मुरारका र राणा मौन

|

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वको लागि आइतबार उम्मेदवारी दर्ता सुरु भएको छ। आइतबार बिहान १० बजेदेखि उम्मेदवारी दर्ताका लागि समय तोकेपछि पहिलो उम्मेदवारी शेखर गोल्छाले दर्ता गरे। वरिष्ठ उपाध्यक्ष सहित गोल्छा प्यानलका पदाधिकारीहरु र केही केन्द्रीय सदस्यहरुले उम्मेदवारी दर्ता गराए।

गोल्छा प्यानलबाट जिल्ला, नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, एसोसिएट उपाध्यक्षमा चन्द्र ढकाल र वस्तुगत उपाध्यक्षमा उमेश श्रेष्ठले उम्मेदवारी दर्ता गराए। कोषाध्यक्षमा ज्ञानेन्द्रलान प्रधानले उम्मेदवारी दर्ता गरे।

केन्द्रीय सदस्यहरुमा प्रवलजंग पाण्डे, सौरभ ज्योति, अन्जन श्रेष्ठ, कमला श्रेष्ठ, कृष्ण दुलाल, रविन श्रेष्ठ लगायतले उम्मेदवारी दर्ता गराए। आगामी नेतृत्वको लागि उम्मेदवारी दर्ता गराउँदा महासंघको कार्यालय टेकुमा केही रमाइला दृष्य देखिए।

१. त्रिपुरेश्वरदेखिको पैदल यात्रा

गोल्छा प्यानलबाट उम्मेदवारी दर्ता गराउने पदाधीकारीहरु महासंघ एकै पटक पैदल यात्रा गरेर आएका थिए। उनीहरुले फूलको माला र रातो टीका लगाएर महासंघको कार्यलयमा छिरे। करिव ११ बजे महासंघमा प्रवेश गरेका उनीहरु विहान १० बजेदेखि त्रिपुरेश्वरस्थित द बेकरी क्याफेमा जम्मा भएर पैदलै महासंघतर्फ गए। महासंघको कार्यालयमा पनि उनीहरुले लिफ्टको प्रयोग गरेनन्। महासंघको चौथो तलामा मनोनयन दर्ता गर्ने व्यवस्था गरिएको उनीहरु पैदल लिफ्टको प्रयोग नगरी गएका थिए।

वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र सदस्यहरुका लागि तयार गरिएका तीन किसिमका उम्मेदवारी पत्र भरेर उनीहरुले निर्वाचन समितिलाई बुझाए। निर्वाचन समितिलाई उम्मेदवारी पत्र बुझापछि सामुहिक फोटो खिच्नको लागि सभाहलमा प्रवेश गरे।

२. माला लगाएरै हिडे चण्डी ढकाल

उम्मेदवारी दर्ता गराउन पुगेका पदाधिकारीले माला र टीका लगाएता पनि केन्द्रिय सदस्यका उम्मेदवारहरुले माला टीका भने लगाएका थिएनन्। वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छालाई समर्थन गरेका पूर्व अध्यक्ष चण्डीराज ढकाल भने फूलमाला र टीका लगाएरै महासंघ प्रवेश गरे।

उनी अगाडि अगाडि र अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यका उम्मेदवारहरु भने उनको पछिपछि देखिन्थे। सामूहिक फोटो खिच्नेदेखि उम्मेदवारी दर्ता गराउने कार्यमा सक्रिय भएर ढकाल लागे। उनी पनि पदाधिकारीका उम्मेदवारसंगै द बेकरी क्याफेबाट पैदल हिँडेर महासंघमा गएका थिए।

३. भवानी आइनन्, मुरारका व्याक बसे

शेखर गोल्छा प्यानलको उम्मेदवारी दर्ताका क्रममा महासंघका वर्तमान अध्यक्ष र वरिष्ठ उपाध्यक्ष भवानी राणा पनि सहभागी भएका थिए। तर आइतबार महासंघका कार्यालयमै भएर पनि उम्मेदवारी दर्ता र सामुहिक फोटो सेसनमा पुशुपति मुरारका सहभागी भएनन्। 

पदाधिकारीहरुको उम्मेदवारी दर्ता पछिमा मात्रै सभाहलमा निस्केका मुरारकाले सामुहिक फोटो खिच्न समेत मानेनन्। अरुले सामुहिक फोटो खिच्दा उनी अलि पर हट्थे। अहिलेकी वरिष्ठ उपाध्यक्ष भवानी राणा भने गोल्छाको उम्मेदवारी दर्तामा सहभागी भइनन्। उनी सोमबार मध्यान्हसम्म महासंघ कार्यालय आइनन्। 

४. सौरभ ज्योतिले भने 'मेरो साथ चन्द्र ढकाललाई' 

उम्मेदवारी दर्ता कार्यक्रममै एसोसिएटतर्फका उपाध्यक्षका दुई आकांक्षीबीच समझदारी भयो। स्वतन्त्र रुपमा उपाध्यक्षमा दाबी गरेका सौरभ ज्योतिले सहमतिको लागि भन्दै अर्का गोल्छा प्यानलका उम्मेदवार चन्द्र ढकाललाई समर्थन गरे। 'मैले एसोसिएट उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेको थिएँ, तर महासंघलाइ एकताबद्ध गर्नको लागि आफ्नो उम्मेदवारी फिर्ता गर्न चाहन्छु,मेरो समर्थन चन्द्र ढकाललाई हो' ज्योतिले भने। एउटै पदमा प्रतिस्पर्धी देखिएका ज्योतिले ढकाललाई संगै राखेर समर्थन गर्ने बताएपछि ढकाल मुस्कुराए।

ढकालले सौरभ ज्योतिले गरेको त्यागको प्रशंसा समेत गरे। एसोसिएट उपाध्यक्षमा नै दावी गर्दै आएका अन्जन श्रेष्ठले समेत केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.