|

काठमाडौं : नुवाकोटको एक गरिब परिवारका पाँच दाजुभाइमध्ये जेठा हुन् उनी। विवाह गरेपछि घरमा खटपट भयो। उनी घर छाडेर काठमाडौं हान्निए। विगत सम्झिदै कृष्णराज दुलाल भन्छन् 'घरमा कुरा नमिलेपछि आफ्नो श्रीमती र छोरा लिएर घर छोड भन्ने आदेश आयो र म काठमाडौं आएँ।'  

२०४८ सालमा नुवाकोटबाट काठमाडौं छिरेका कृष्णराज अहिले 'वुद्ध हर्ष नर्सरी'का मलिक हुन्। उनी घर सल्लाह नमिलेकाले घर छोडेर काठमाडौं आएका थिए। पढ्न नपाएका उनलाई काठमाडौं आएर के गर्ने भन्ने थाहा थिएन। भन्छन् 'अरु काम गर्न पढेको थिइनँ यहाँ आएर ज्यामी काम गर्ने सोच थियो र त्यही गर्न थालेँ।'

ज्यामी काम गर्ने क्रममा कृष्णराज तत्कालीन शितल निवासका सचिव रामप्रसाद रिमालको घरमा काम गर्न पुगे। त्यही बेला उनले रिमालका छोरासँग आफूलाई राम्रो जागिर लागाइदिन प्रस्ताव गरे। रिमालका छोराले पनि उनलाई कान्ति बाल अस्पतालमा मालीको काम लगाइदिए। उनी एकातिर बाल अस्पतालमा काम गर्दै थिए भने अर्कातिर तरकारी खेती पनि गर्थे। भन्छन् 'मैले ५ वर्षसम्म गाईपालन पनि गरेँ त्यही बेला तरकारी खेती गरेको थिएँ।'

कृष्णराज अहिले ६ रोपनी जग्गामा सञ्चालित नर्सरीमा विभिन्न जातका फूलका विरुवा र फूल उत्पादन गरिरहेका छन्। उनले त्यहाँ ६ जनालाई रोजगारी दिएका छन्। उनले वार्षिक रुपमा ५ देखि ७ लाखसम्म कमाइ गर्छन्। भन्छन् 'सबै खर्च कटाएर महिनामा ५० देखि ६० हजारसम्म नाफा हुन्छ।' अर्काको जग्गा भाडामा लिएर नर्सरी व्यवसाय गरिरहेका उनले दिनको १ हजार जग्गाको भाडा बुझाउँछन्। 

नर्सरी उत्पादनमा सानो केही गल्ती भयो भने धेरै घाटा लाग्ने उनको अनुभव छ। 'पहिलो वर्ष त आफूसँग खासै ज्ञान नभएकाले पनि घाटा लाग्यो', कृष्णराज भन्छन् 'अलिकति पनि पानी, घाम, चिसो, मल मिलेन भने बिरुवा नै उम्रिन्दैन। त्यसमा विशेष ध्यान दिनुपर्छ।'उनको नर्सरीमा ३५ रुपैयाँ पर्ने बिरुवादेखि १५ हजार पर्ने बिरुवासम्म पाइन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.