|

लहान : सिरहाको लहान नगरपालिका– ३ स्थित आँपको बगैँचामा झुण्डिएको अवस्थामा भेटिएका एक युवकको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरी कर्तव्य ज्यानअन्तर्गत मुद्दा चलाएको छ।

पक्राउ गरिएका पाँच जनालाई आज सिरहा जिल्ला अदालतमा उपस्थित गराई अनुसन्धानका लागि छ दिनको म्याद थप भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक (डिएसपी) हीराबहादुर पाण्डेले जानकारी दिए। इलाका प्रहरी कार्यालय लहानले आज अपराह्न कार्यालयमा पत्रकार सम्मेलन गरी पक्राउ परेका पाँच जनालाई सार्वजनिक गरेको हो। हत्यामा संलग्न एकजना अझै फरार रहेको र खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।

कोको परेका छन् पक्राउ? 

सप्तरीको सुरुङ्गा नगरपालिका– ८ का अन्दाजी १६ वर्षका श्रवणकुमार साहको हत्यामा प्रहरीले प्रारम्भिक अनुसन्धानको आधारमा एक महिलासहित पाँच जनालाई पक्राउ गरी मुद्दा चलाएको हो। पक्राउ परेकाहरूमा लहान नगरपालिका– ३ का अन्दाजी ४० वर्षका वसन्त साह, सप्तरीको सुरुङ्गा नगरपालिका– ५ की ३३ वर्षकी रञ्जुकुमारी मण्डल, सिरहाको फूलकहाकट्टी– ९ घर भई हाल लहान– ३ बस्दै आएका अन्दाजी १८ वर्षका भोलाजित नेपाल सिंह, लहान– ८ का १८ वर्षका दीपक शर्मा र लहान– ३ का १७ वर्षका मिस्टर राईन रहेका छन्। 

कसरी भयो हत्या? 

उक्त हत्यामा संलग्नहरूले पक्राउपछि दिएको बयानअनुसार मृतक श्रवणले चैत १३ गते अपराह्न आरोपी रञ्जुलाई आफ्नो मोवाइलबाट ‘तिम्रो मोवाइलको मेमोरी मैले भेटेको छु, त्यसमा अश्लील भिडियोहरू पनि छन्’ भन्दै फोन गरेका थिए। उनले फोन गर्ने समयमा रञ्जुसँगै रहेका वसन्त र भोलाजितले ‘को रहेछ, त्यसलाई भेटेर सिध्याउनुपर्छ’ भन्दै लहान– ३ स्थित नयाँ बस पार्कतिर गएका थिए। त्यही बेला भोलाजितले आफ्ना साथीहरू दीपक र रमानन्द गुप्तालाई बोलाएर आफूसहित पाँच जना नयाँ बसपार्क पुगेपछि रञ्जुलाई पर्खिरहेका श्रवणमाथि कुटपिट भएको थियो । 

कुटपिटबाट ज्यान जोगाउन भाग्दै नजिकै रहेको बिन्दी यादवको घरमा लुकेर बसेका श्रवणलाई घरबाट थुतेर पानी छ्याप्दै मरणासन्न हुनेगरी कुटेपछि उनी ज्यान जोगाउन पुुनः भाग्दै पूर्वतिरको नर्सरीतिर गएका थिए। त्यहाँबाट मोटरसाइकलमा राखेर लहान– ३ का रोशन साहको आँपको बगैँचामा पुगेका उनलाई त्यहीँ हत्या गरेर ‘आत्महत्या गरेको’ भन्ने देखाउन आरोपीहरूले कपडाको डोरी बनाएर आँपको रूखमा झुण्ड्याइदिएका थिए। 

हत्यामा संलग्न वसन्त र रञ्जुलाई खोजतलासको क्रममा सुनसरीको सोनापुरबाट लुकिछिपी बसिरहेको अवस्थामा तथा भोलाजित र दीपकलाई चैत १८ गते पक्राउ गरिएको र मिस्टर राईनलाई चैत १९ गते स६प ७४१४ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक पाण्डेले बताए। 

पक्राउ गरिएका वसन्त घर निर्माणको ठेक्कापट्टाको काम गर्थे। रञ्जु पनि उनीसँगै मजदुरको रूपमा काम गर्दै थिइन्। घटनाको दिन श्रवणले फोन गरेको समयमा दुवै जना लहान– ३ का देवकान्त सिंहको निर्माणाधीन घरको छत ढलानको काम गर्दै थिए । 

को हुन् श्रवण?

सप्तरीको सुरुङ्गा नगरपालिका– ८ का देवनारायण साहका छोरा अन्दाजी १६ वर्षका श्रवणकुमार साहले लहान– ३ स्थित लक्ष्मण ललिता कुशवाहा माविबाट भर्खरै सकिएको माध्यमिक शिक्षा परीक्षा दिएका थिए। मृतक साह लहान अस्पताल चोकदेखि दक्षिण डेरा लिएर आफ्नो भतिजसहित बस्दै आएका थिए। आँपको रूखमा झुण्ड्याइएको शवको खुट्टाले भुइँ छोएको र शरीरको विभिन्न भागबाट रक्तश्राव भएको भेटिएपछि प्रहरीले शवको पोष्टमार्टमा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गराएर अनुसन्धान अगाडि बढाएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.