|

काठमाडौं :

दृश्य १. आइतबार दिउँसो ३:३० बजे। घट्टेकुलोको गल्लीभित्र रातो रङको घरको दोस्रो तल्ला। खाटमा ७९ वर्षकी छत्रछाया न्यौपाने बसिरहेकी छन्। सेतो सिरक ओढेर बसेकी उनको छेउमा बसेकी छन्, २०४७ सालमा अन्माएर पठाएकी कान्छी छोरी कञ्चन शर्मा।

कान्तिपुर टिभीको कार्यक्रम 'सुमनसँग'बाट चर्चामा आएकी कञ्चन त्यहाँ वृद्ध आमालाई भेट्न माइत आएकी थिइनन्। उनी त्यहाँ उनका पूर्व पतिले दिन लागेको पैसाका लागि आएकी थिइन्। कोठामा छत्रछाया र कञ्चनका अलावा छत्रछायाकी जेठी छोरी निर्मला पोखरेल, उनका भाइका छोरा मोहनराज चापागाईं थिए।

करिब ५ बजेतिर एक पुरुष र १ महिला वकिल छिर्छन्। उनीहरूले कञ्चन शर्मालाई उनका पूर्व पति मोहनलाल जैसी रेग्मीले मानवीय नाताले जीवन निर्वाहका लागि दिन लागेको ११ लाख रुपैयाँ दिने भएको व्यहोराको कागज बोकेर आएका थिए। वकिल कुमारी खरेलले पत्र पढेर सुनाइन्। त्यसपछि उनले कञ्चनलाई औँठाछाप लगाउन लगाइन् र हस्ताक्षर गराइन्। कञ्चनले हाँस्दै हस्ताक्षर गरिन्। उनले पैसा भने तत्काल पाइनन्। पैसा दिने व्यक्ति मोहन रेग्मी भने त्यहाँ उपस्थित थिएनन्। उनले आमाका हातमा पैसा दिने, कञ्चनसँग भेट नगर्ने भनेर त्यहाँ आएका थिएनन्।

छोरीको भरणपोषणका लागि आएको पैसा उठाउने जिम्मा पाएकी छत्रछायाले भनिन्, 'के सोचेकी थिएँ के भयो?, रूपरङ राम्रै थियो, जागिर पनि थियो र छोरी दिएँ, अहिले यस्तो भयो', उनी सिरक ओढेर चुपचाप लागिन्।

कञ्चन भने पत्रकारसँग कुरा  गर्न लागिन्। उनले भनिन्, 'म सडकपेटीमा सात वर्षसम्म बेवारिसे र बेसहारा थिएँ। त्यसपछि एक जीवन पाएँ। यो मैले पाउनै पर्ने पैसा हो। यो मेरो राइट हो, पत्रमा मानवताका नाताले जीवन निर्वाहका लागि भने पनि।' उनले यसरी पैसा पाउनुको जस दीक्षा चापागाईंलाई दिइन्। उनले 'दीक्षा नभएको भए मरिसकेकी हुन्थेँ' भनिन्।

एकछिनपछि छत्रछायालाई ट्याक्सीमा चढाएर घट्टेकुलोमा रहेको नेपाल पत्रकार मञ्चको अफिसमा रहेका ज्वाइँलाई भेट्न लगियो।

दृश्य २.

घट्टेकुलोमा रहेको नेपाल पत्रकार मञ्चको कार्यालयको ड्यासको छेउमा चस्मा लगाएका व्यक्ति गालामा हात लगाएर बसेका थिए। त्यहाँ केही पत्रकार उपस्थित थिए, जसका क्यामेरा तिनै व्यक्तितिर सोझिएका थिए। उनी थिए, कञ्चनका पूर्व पति मोहन रेग्मी।

एकछिनमा छत्रछाया न्यौपानेलाई डोर्‍याएर भित्र ल्याइयो अनि सुरु भयो, रकम हस्तान्तरण कार्यक्रम। वकिल कुमारी खरेलले मोहन रेग्मीलाई कञ्चनले दाहिने भागमा हस्ताक्षर गरेको पत्रको देब्रे भागमा औँठाछाप लगाए। हस्ताक्षर गरे। तबसम्म उनी चुपचाप भनेअनुरूप गरिरहेका थिए। कोठाको एक कुनामा रहेका एक युवालाई झोला ल्याउन संकेत गरे। ती युवाले झोलाबाट पहेँलो थैली रेग्मीको हातमा राखिदिए, जसमा ११ लाख रुपैयाँ नगद थियो। उक्त पैसा टेबुलमा बिछ्याइयो र छेउमा राखियो, कञ्चन र मोहनले हस्ताक्षर र औंठाछाप लगाएको पत्र।

सबै पैसा फेरि रबरले बाँधे रेग्मीले अनि सबै लगेर कुर्सीमा बसेकी छत्रछाया न्यौपानेको खुट्टामा राखिदिए।

पत्रकारहरूले केही बोलिदिन आग्रह गरेपछि उनले पूर्व पत्नीलाई जीवन निर्वाहको पैसा दिने व्यवस्था गर्न सहजकर्ताको भूमिका निर्वाह गर्ने सासुआमालाई धन्यवाद दिए। उनले छत्रछायालाई नाम जस्तै व्यवहार भएको भनेर सासुआमा भनेरै सम्बोधन गरे।

त्यसपछि उनी अलि भावुक बने। उनले सासुआमा छत्रछायाप्रति क्षमा माग्दै सुरुमा भने, 'यो जीवन हो र यस्तै भयो। हाम्रो सम्बन्ध यस्तै रह्यो।' उनले मिडियामा पारिवारिक कुरालाई बढी उछालिएको बारे गुनासो गरे र पछिल्लो समय वास्तविकता बाहिर ल्याएको भन्दै मिडियाप्रति आभार पनि व्यक्त गरे। मिडियाले गरेको अन्यायको क्षतिपूर्ति अझै नपाएको पनि उनको गुनासो थियो।

मोहन रेग्मी र कञ्चन शर्माका दुई छोरा छन्। रेग्मीले आफ्नो परिवारबारे सञ्चार माध्यममा र सामाजिक सञ्जालमा आएका समाचारले छोराहरूको पढाइ र मानसिकतामा गहिरो प्रभाव परेको र अब यस्तो नगरिदिन आग्रह गरे। उनले अरूले गरेको गल्तीबाट आफूलाई अन्याय भएको दुखेसो पोखे। पारिवारिक मामलामा अन्य व्यक्तिहरूले खेलेको प्रति गुनासो गर्दै भने, 'मेरा बच्चाहरूलाई र मलाई बाँच्न दिनुपर्‍यो। अब कसैको परिवारमा यस्तो अवस्था नआओस्। अचानोको पीर खुकुरीलाई थाहा हुँदैन।'

कञ्चनसँग भेट्न मन छ कि छैन? भन्ने प्रश्नमा रेग्मीले भने, 'चाहना त केके थियो थियो। सँगै बाँच्ने भनेर विहे गरेका थियौं।'

मोहन र कञ्चनकी अामा (मोहनकी सासुअामा)

दिदी निर्मला र अामासँग कञ्चन

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.