|
फाइल फोटो

गुल्मी : गैंडाकोटबाट कोरला जोड्ने कालीगण्डकी करिडोरको ट्र्याक असारभित्रै खुल्ने भएको छ। धुसा भीर, बागखोर भीर, बेलबगर भीर, डाँडाकाल भीर र कुचुरे भीर गरी ७ किलोमिटरको अत्यन्तै अप्ठ्यारो काम सकेपछि चालू आर्थिक वर्षभित्रै ट्र्याक जोडिने भएको हो।

नेपाली सेनाले टाकुरेदेखि पालुङखोलासम्मको २३ किलोमिटर सडकको काम पनि द्रुत गतिमा गरिरहेको छ। ठाउँठाउँमा गरी करिब १६ किलोमिटर सडकको ट्र्याक खोल्ने काम सकिएको छ। कालीगण्डकी करिडोर सडक निर्माण कार्यदलका प्रमुखसमेत रहेका महासेनानी रेश्मीराज भट्टराईले पाँचवटा कठिन भीर फोरेपछि कालीगण्डकी करिडोरको पूरै ट्र्याक खोलिने बताए।

संसद्को विकास समितिले नेपाली सेनाको सहकार्यमा गुल्मीको बरालवादेखि पालुङखोला हुँदै बागलुङको धुसा भीरसम्मको आइतबार स्थलगत अवलोकन गरेको थियो। भट्टराईले भने, ‘सेना द्रुतगतिमा खटिएको छ। ७ किलोमिटर मात्र बाँकी रहेकाले यसै आवमा ट्र्याक खोलिसक्ने लक्ष्यमा छौं।'

उनका अनुसार पालुङखोलामा बेलीब्रिज हालिएको छ भने गौदी खोला, चौरा खोला र ठेउले खोलामा पनि यसै आवमै बेलिब्रिज हाल्न निर्माण सुरु गरिएको छ। कालीगण्डकी करिडोरको बागलुङ-बेनी-जोमसोम खण्डको ट्र्याक खोल्ने काम नेपाली सेनाले २०६४ सालमै सम्पन्न गरेको थियो। यसमा गुल्मी खण्ड ४२ किलोमिटरमध्ये ३७ र बागलुङ खण्डको १४ किलोमिटर सकिएको छ भने पालुङखोला-टाकुरे २३ किलोमिटर खण्डमा निर्माणकार्य भइरहेको हो।

विकास समितिका सभापति रवीन्द्र अधिकारीले नेपालका उत्तर-दक्षिण जोड्ने ९ वटा करिडोर (लोकमार्ग) मा काम भइरहेकोमा कालीगण्डकी करिडोर र रसुवा-स्याफ्रुबेसी हुँदै रसुवागढी जोड्ने दुई मार्गमा द्रुतगतिमा काम भइरहेको जानकारी दिए। उनले भने, ‘नवलपरासीको गैंडाकोटदेखि चीनको कोरला ४ सय ३५ किलोमिटरको कालीगण्डकी करिडोर सांस्कृतिक, सामाजिक एवं आर्थिक परिवर्तन गर्ने रणनीतिक सडक हो। यो करिडोरले यी क्षेत्रको मात्र नभई नेपालका साथै भारत र चीनसमेतका लागि विकासको बीज रोप्नेछ।'

उनले सडकको काम ढिलो हुने भएकाले यो करिडोरमा निश्चित खण्ड पूरा गर्नासाथ सेनाले सरकारलाई हस्तान्तरण गर्ने र सडक विभागले कालोपत्रेका लागि प्रक्रिया अघि बढाइहाल्ने गरी काम अघि बढाउन निर्देशन दिए। नेपाली सेनाको विकास निर्माण निर्देशनालयका निर्देशक एवं सहायकरथि उद्धव बिष्टले ७ किलोमिटरको ट्र्याक जोड्ने काम असारभित्र सम्पन्न भएपछि रिडीदेखि जोमसोमसम्म १ सय ७४ किलोमिटर सडकमा १२ महिना यातायात सञ्चालन हुने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.