|

लहान : सिरहा जिल्ला सदरमुकामसमेत रहेको सिरहा नगरपालिकाअन्तर्गत चार वडाका बासिन्दाले नगरपालिकाबाट अलग भएर छुट्टै गाउँपालिकाको माग गरेका छन्। स्थानीय तहको पुनःसंरचनाअन्तर्गत सिरहा नगरपालिकाको वडा नं. १८ लक्ष्मिनियाँ, वडा नं. १९ सन्हैठा, वडा नं. २० लगडिगदियानी र वडा नं. २२ हकपारासहित औरही गाउँपालिकामा परेको इँटाटार कृष्णपुरका बासिन्दाले छुट्टै गाउँपालिकाको माग गरेका हुन्।

संघीय समाजवादी फोरम नेपाल सिरहाका अध्यक्षसमेत रहेका हकपाराका बादलप्रसाद यादवले स्थानीय बासिन्दा, राजनीतिक दलका अगुवाहरुको राय विचारसमेत नलिई नेताहरुले आ–आफ्नो भोट सुरक्षित गर्ने गरी अव्यावहारिक रुपले गरिएको पुनःसंरचना आफूहरुलाई मान्य नभएको बताए।

जिल्ला सदरमुकाम सिरहाबाट पाँचदेखि आठ किलोमिटरको दूरीमा रहेका उक्त चार गाविस विकास निर्माण र भौतिक पूर्वाधार र प्रशासनिक दृष्टिले ओझेलमा पर्ने भएकाले  आफूहरु छुट्टै गाउँपालिकामा बस्न चाहेको नेकपा (माओवादी केन्द्र) का नेता महेश यादवले बताए। छुट्टै गाउँपालिकाको माग गर्दै नाराजुलुससहित स्थानीय बासिन्दाले आइतबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापन पत्रसमेत पठाएका छन्।

सुखीपुरमा तालाबन्दी जारी

करिब १८ महिनादेखि नगरपालिकाको रुपमा दैनिक कामकाज गर्दै आएको सुखीपुरलाई स्थानीय तहको पुनःसंरचनामा गाउँपालिका बनाइएको विरोधमा २८ फागुनमा नगरपालिकाको मूलगेटमा लगाइएको ताला अझै खुलेको छैन।

‘हामीले गरेको तालाबन्दी प्रहरीले खुलाउने भएकाले मूलगेटसहित कार्यालयका तीन वटा कोठामा तालाबन्दीसँगै वेल्डिङसमेत गरेका छौं’ सुखीपुर नगरपालिका बचाउ संघर्ष समितिका संयोजक बिपी भुवन यादवले भने। पछिल्लो २४ दिनदेखिको तालाबन्दीले कर्मचारीहरु कार्यालय समयमा दिनभर बजारतिर बसेर कार्यालय समयपछि फर्किने गरेको स्थानीय कृष्णमोहन चौधरीले बताए।

वि.सं. २०७२ साल आसोज १ गते गरेको नेपाल सरकारको निर्णयअनुसार तत्कालीन सुखीपुर गाविसमा छिमेकी मोहनपुर कमलपुर, कविलासी, विद्यानगर, लर्कनहा, बलही र सिलोर्वा पछवाडीलाई गाभेर सुखीपुर नगरपालिका घोषणा गरिएको थियो। 

सप्तरीमा पनि छुट्टै गाउँपालिकाको माग

सप्तरीको साविकका रौतहट, रामनगर, मौवाहा, बेलही र मल्हनियाँ गाविसलाई मिलाएर छुट्टै नयाँ गाउँपालिका माग्दै स्थानीय राजनीतिक दलका अगुवासहित सार्वसाधारण आन्दोलनमा उत्रिएका छन्। स्थानीय बिहुल नदी पश्चिममा पर्ने उक्त पाँच गाविसका सेवाग्राहीलाई दूरीका हिसाबले पनि बढी समय लाग्ने र बाटोसमेत अप्ठ्यारो रहेकाले नगरपालिकाबाट अलग गरेर छुट्टै गाउँपालिकाको माग गरिएको स्थानीय अगुवाहरु बताउँछन्।

स्थानीय तहको पुनःसंरचनाअन्तर्गत फागुन २७ गते बोदेबर्साइन केन्द्र रहने गरी फूलकाही, मानराजा, रौतहट, खडकपुर, काचन, देउरी, रामनगर, मौवाहा, सारश्वर, धनगढी, नेङ्डा, बेलही र मलहनियासहित १४ गाविसलाई गाभेर बोदेबर्साइन नगरपालिका घोषणा गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.