|

काठमाडौं : राजेन्द्र खड्गी नेपाली सिनेमा क्षेत्रमा द्वन्द्व निर्देशकका रूपमा परिचित नाम हो। लामो कपाल, डरलाग्दो ज्यान, ठुल्ठूला आँखा, उनको परिचय थियो। उनी आफैँ पनि फिल्ममा अभिनय गर्थे। फिल्ममा उनले निर्वाह गर्ने भूमिका पनि डरलाग्दो नै हुन्थ्यो। उनी फिल्ममा हिरोसँग जुध्ने मात्र नभएर हिरोइनलाई जबरजस्ती गर्नेसम्म गर्थे।

आफूले फिल्ममा गरेको अभिनयका कारण बाहिर बाटोमा हिँड्दा पनि आफूसँग धेरै युवतीहरू डराउने उनी बताउँछन्। भन्छन्, 'फिल्मको भिलेन थिएँ म तर मलाई वास्तविक भिलेन सम्झेर डराउँथे।' मुक्का हानेर राँगो ढालेको कुराले पनि उनी निकै चर्चामा थिए।

राजेन्द्रले अहिलेसम्म पाँच सय फिल्ममा द्वन्द्व निर्देशन गरिसकेका छन्। उनले फिल्ममा द्वन्द्व निर्देशक वा भिलेन भएर काम गर्दाका केही बिर्सन नसक्ने घटनाहरू थाहा खबरलाई बताएका छन्।

१. आफूले छोडेर श्रीकृष्णलाई ब्रेक 

राजेन्द्रले फिल्ममा आफू अनुबन्धित भइसकेको भए पनि आफूले फिल्म छोडेर श्रीकृष्ण श्रेष्ठलाई फिल्ममा भित्र्याएका थिए। त्यो कुरालाई कहिल्यै नबिर्सने उनी बताउँछन्।

२. राजेश हमालको किकले पाँच दिन हस्पिटल

'भाउजु' फिल्मको सुटिङका बेला राजेश हमालले हानेको किकले आफू तीन कान्लामुनि पुगेको राजेन्द्र सम्झन्छन्। भन्छन्, 'राजेशजीले हानेको किकले पाँच दिन हस्पिटल बस्नुपर्‍यो।'

३. भुवनको फाइटले खुट्टामा स्टिल

भुवन केसी अभिनित फिल्म 'साथी म तिम्रो'मा फाइट सिकाउँदै गर्दा भुवनले हानेको किकबाट उनी गम्भीर घाइते भएका थिए। उक्त घटनाका कारण उनले आफ्नो खुट्टाको अप्रेसन गर्नुपरेको थियो। 'त्यही कारणले म अहिले खुट्टामा स्टिल हालेर हिँडिरहेको छु', उनले बताए।

४. 'सपना'मा भाँच्चियो दाँत

फिल्म ‘सपना’को छाया‌ंकन गर्दा ४० फिट माथिबाट नारायणी नदीमा हामफाल्दा उनको एउटा दाँत भाँचिएको थियो। उनले भने, 'खुब जोसिएर हामफालेको थिएँ, तल पुग्दा दाँत नै भाँच्चियो।' अहिले राजेन्द्रले भाँच्चिएको दाँत भएको ठाउँमा सुनको दाँत हालेका छन्।  

५. भाँच्चिन बाँकी ठाउँ कतै छैन

फिल्ममा काम गर्दा 'यो फिल्ममा चाहिँ चोट लागेन है' भन्ने कुनै पनि फिल्म छैन राजेन्द्रको। उनले काम गरेका सबै फिल्ममा एक न एक चोट लागेकै छ। उनका हात-खुट्टा सबै भाँच्चिएका छन्। भन्छन्, 'फिल्ममा काम गर्दाको चोटका कारण अहिले मलाई जाडोको बेला सास फेर्न पनि गाह्रो हुन्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.