|

  • रमेश रावल-

कालिकोट : चैतको खडेरीसँगै कालिकोट जिल्लाका अधिकांश ग्रामीण क्षेत्रमा खानेपानीको हाहाकार हुन थालेको छ। खानेपानीको क्षेत्रमा काम गर्ने निकायको लापरबाहीले गर्दा गाउँमा स्थानीयले यसरी खानेपानीको अभाव झेल्नुपरेको हो।

विकासका पूर्वाधारमध्यकै समस्याका रूपमा खानेपानी देखिएको कोटवाडा–३ का गणेश विष्टले बताए। ‘जिल्लामा एक दर्जनभन्दा भेरै गैरसरकारी संस्था र सरकारी कार्यालय भए पनि नरहरिनाथ गाउँपालिका र पलाता गाउँपालिकामा खानेपानीको निकै समस्या छ।’ उनले भने, ‘गाउँमा पिउने पानी छैन, स्वास्थ्य संस्थामा उस्तै हालत छ। गाउँमा पानीको अवस्थाले गर्दा निकै नाजुक छ।’

नरहरिनाथ गाउँपालिकोको कोटबाडाको स्वास्थ्य चौकीमा बिग्रिएको धारा मात्र छ। बिरामी र स्वास्थ्यकर्मीलाई पानी चाहियो भने गाउँमा गएर ल्याउनुपर्ने अवस्था रहेको विष्टले बताए। ‘सरसफाइको कुराभन्दा पनि पिउने पानी नै घरबाट बोकेर ल्यानुपर्ने बाध्यता रहेको छ।’ उनले भने।

त्यस्तै, सान्नी त्रिवेणी गाउँपालिकाको रकुमा रित्ता धाराहरु छन्। पानीको निकै अभाव छ । साविकको रकु–३ र ४ वडाका ८० घरधुरीका स्थानीयवासीले खानेपानी अभाव झेल्नु परेको छ । दलित समुदाय भएको यो गाउँमा पानीको हाहाकार स्थानीय शिक्षक लालबहादुर गिरीले बताए ‘गाउँमा पिउने पानीको चरम अभाव छ ।’ उनले भने, ‘विद्यालयमा बालबालिकाले पिउने पानी पाएका छैनन्।’

जिल्लाको पलाता गाउँपालिकाको धौलागोह र खिन गाउँमा पनि पानीको निकै अभाव छ। वनजंगल नभएको सुख्खा क्षेत्र भएका कारणले पनि पानीको अभाव हुने गरेको हो। लामो समयदेखि यहाँका स्थानीयले पानीको अभाव झेल्दै आएको स्थानीय सुमन बमले बताए। ‘पलाता गाउँपालिकामा पानीको सधैं अभाव हुने गरेको छ।’ उनले भने, ‘पानीका लागि रातभरि हिँडेर कर्णाली नदीको पानी लिन जानुपर्ने अवस्था छ।’

जिल्लाको खानेपानीको अवस्थालाई सहज गरी ग्रामिण क्षेत्रमा पहुँच पुगाउने आफू प्रतिबद्ध रहेको खानेपानी सरसफाई तथा सव डिभिजन कार्यालयका प्रमुख कुलप्रसाद पौडेल बताए । ‘पानी अभाव नहुने गरी योजना बन्दै छ । हाल सबै ठाउँमा पानीको अभाव भएको छैन । केही गाउँमा मात्र पानीका समस्या देखिएको हो’ उनले भने।

गाउँभन्दा पनि सदरमुकाममै ठूलो पानीको समस्या देखिएको मान्मका स्थानीयले बताएका छन् । कालिकोटमा ८० प्रतिशत खानेपानीको पुहँच पुगेको जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितीले तथ्यांकमा देखाएको छ । जिल्लालाई खुला दिशामुक्त घोषणा गरिए पनि अहिलेसम्म पानीको अभावले सदरमुकामका सार्वजनिक शौचालय एउटा पनि प्रयोगमा छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.