|

  • गोविन्द महतो-

धनुषा : नयाँ शक्ति पार्टी नेपालका १५ जना नेता कार्यकर्तालाई धनुषा प्रहरीले पक्राउ गरेको छ। दलीय चुनाव चिह्नको माग गर्दै निर्वाचन कार्यालय धनुषा अगाडि धर्ना दिन गएका सो पार्टीका १५ जना कार्यकर्तालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

नयाँ शक्ति पार्टी नेपाल तथा अन्य दलहरूको निर्णयअनुसार देशभरका जिल्ला निर्वाचन कार्यालय घेराउ गर्ने क्रममा जिल्ला निर्वाचन कार्यालय धनुषा घेराउ गर्न पुगेका उनीहरूलाई पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक लीलामणि आचार्यले जानकारी दिएका छन्।

पक्राउ पर्नेहरूमा नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य तारा महतो, हेना झा, केन्द्रीय प्रादेशिक सदस्य रुवी मिश्र, जिल्ला सदस्य अमना खातुन, मोहन झा, विजय भगत, रमेश यादव, सुरेन्द्र यादव, प्रशान्त झा रहेका छन्। यसैगरी भरत साह, सुमन ठाकुर, रघुनाथ साह, नरेन्द्रविक्रम साह, सोहेल खाँ र जयकुमार दास पनि पक्राउ परेका छन्।

आइतबार काठमाडौंस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालय घेराउ गर्न पुगेका नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसहितका नेताहरूलाई प्रहरीले पक्राउ गरेको थियो। प्रहरीले आफ्ना नेताहरूलाई पक्राउ गरेपछि आक्रोशित प्रदर्शनकारीले सोमबार जिल्ला निर्वाचन कार्यालय घेराउ गर्दै सरकारविरुद्ध चर्का नाराबाजीसहित प्रदर्शन गरेका थिए। सोही क्रममा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।

उनीहरूले संसद्मा नरहेका दललाई दलीय चुनाव चिह्न नदिने निर्वाचन आयोगको निर्णय तानाशाही भएको आरोप लगाउँदै आफूहरूको माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनीसमेत दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.