विचार

इतिहासको पाइलो
SHARES

चैत २१, २०७३

    समय कति चाँडो हुत्तिँदो रहेछ!

    नेपालको राजनीतिक आन्दोलनमा ठूलो प्रभाव छोड्ने नक्खु जेल विद्रोहको उमेर चालीस वर्ष भइसकेछ। त्यो ऐतिहासिक कामलाई सायद हामी सबैले बिर्सिसकेका थियौँ। बाँच्ने जीजिविषाले त्यतिबेला हामीलाई त्यो खतरनाक सुरुङ खन्न हौसला दिएको थियो। नक्खु जेल विद्रोह गरेर बाहिर निस्किएपछि त्योभन्दा ठूला चुनौतीको सामना गर्नु परेर होला त्यो ऐतिहासिक घटना स्वयम् हाम्रो स्मृतिभित्र दबेर बस्यो।

    नेपालको राजनीतिक इतिहासमा महत्त्वपूर्ण भूमिका खेल्ने नक्खु जेल विद्रोह– ०३३, लाई पुनर्ताजगी दिने अभियान नेकपा एमालेका पोलिटव्यूरो सदस्य विन्दा पाण्डेले थाल्नुभयो। ‘सके सम्मान गर्ने, नसके भेटघाट गर्ने’ भन्ने उहाँको सोच थिएछ। एकल प्रयासमा सम्मान गर्ने काम त उहाँबाट हुने कुरो भएन, तर उहाँको प्रयत्नले हामी १० जनालाई एक ठाउँमा भेला पा¥यो। त्यतिबेला हामी सबैले नेता मानेका सीपी मैनाली, तथा झापा आन्दोलनका अन्य साथीहरू घनेन्द्र बस्नेत, नरेश खरेल, नारद वाग्ले, भीष्म धिमाल, जीवन मगर, कोअर्डिनेशन सङ्गठनमा सामेल भएका प्रदीप नेपाल, गोपाल शाक्य, माधव पौडेल, वीरबहादुर लामा तुलसीलाल स्मृति प्रतिष्ठानको एउटा कोठामा भेला भयौँ।

    बाँकी पाँच जनामा अशोक न्यौपानेको निधन भैसकेको थियो। निधनको समयमा उहाँ फ्रेन्च कम्युनिस्ट पार्टीको सदस्य हुनुहुन्थ्यो। बाँकी धर्म घिमिरे र हर्क खड्का दुवै झापा आन्दोलनका आन्दोलनकारी, भारतीय कम्युनिस्ट पार्टीका सदस्य नेमुसिंह राजवंशी र मोरङका मजदुर तर जेल विद्रोहसँग लापत्ता हुनुभएका कामेश्वर हलवाई कसैको दोहोरो संपर्कमा नरहनु भएका कारण उपस्थित हुन सक्नुभएन।

    जो भेला भयौँ, दश जना, हामीले एकअर्कालाई नियालेर हेर्‍यौँ। हाम्रा पार्टीहरू छिन्नभिन्न भैसकेका थिए। म, घनेन्द्र बस्नेत, नरेश खरेल, गोपाल शाक्य, माधव पौडेल र नारद वाग्ले नेकपा एमालेमै सक्रिय थियौँ। सीपीले एमालेबाट निस्किएर माले खोल्नुभएको थियो। वीरबहादुर लामा एमालेपछि तीन पार्टीको नेता भइसक्नुभएको थियो। भीष्म धिमाल एमाओवादीबाट समानुपातिक सभासद भए पनि उहाँले कहिल्यै आफूलाई एमालेबाहिर भएको नठानेको, आफ्ना सबै साथीभाइ एमालेमै रहेको कुरो बताउनुभयो।

    त्यसैले नक्खु जेल विद्रोहलाई परिवर्तनको एउटा मोड मानिनुपर्छ। एउटा त्यस्तो मोड, जो ‘न भूतो न भविष्यति’ नै थियो। किनभने त्यो कसैको एकल विद्रोह थिएन। त्यो सुरुङबाट बाहिर निस्कने एक जना मात्र पलायन गर्नुभयो। बाँकी चौध जनाले नेपाली राजनीतिलाई अगाडि बढाउने काममा महत्त्वपूर्ण भूमिका निभाउनुभयो।

    एउटा अनौठो चेत मनमा उठ्यो– चालीस वर्षपछि पनि हामी उस्तै रहेछौँ। हरिला, भरिला, जोशिला। उमेरको हिसाबले हामी सबैले साठीको नेटो काटिसकेका थियौँ तर हामी तीन कोरी उमेर पार गरेका बूढा हौँ भन्ने मलाई पटक्कै लागेन त्यतिबेला।

    यो त मेरो मनको भावना मात्र थियो। यथार्थ के थियो भने हामी सबै २०३३ चैतको ऊर्जाशील उमेर भन्दा चालीस वर्ष बूढा भैसकेका थियौँ। समयले हामीलाई जितेको त थिएन तर हामीले समयलाई नेतृत्व दिन पनि सकेका थिएनौँ। हामी समय सँगसँगै हिँडिरहेका मात्र थियौँ। यो नै स्वाभाविक थियो। किनभने एउटा मान्छेले कति वर्ष जेल विद्रोह गर्न सक्छ? कति वर्ष ऊसँग आगो जस्तो ऊर्जा बलिरहन सक्छ? भाषण गर्नु एउटा कुरा हो, आफ्नै भाषणलाई आफैँले व्यवहारमा उतार्नु अर्कै कुरा हो। उसमाथि पन्ध्र, सोह्र वर्ष सबै हिसाबले अप्राकृतिक जीवन भोगेर आएकाहरू! बुढ्यौलीको रोगले सताइएकाहरू! पञ्चायती निरङ्कुशताका विरुद्ध भूगिगत राजनीति मात्र होइन, भूमिगत जीवन जिउनु कति कष्टसाध्य थियो? सत्य कि भोग्नेलाई थाहा हुन्छ कि तिनलाई जोगाएर पाल्नेलाई।

    हाम्रो दावीलाई अरूले माने त्यो सही हुने, नमाने गलत हुने होइन। सत्य के हो भने नक्खु जेल विद्रोह एउटा विशिष्ट घटना थियो। त्यो सामान्य सुरुङ खनाइ थिएन। लाग्न त सबैलाई आफूले गरेको काम अधिक महत्त्वपूर्ण लाग्दछ। तर सबै उत्तिकै महत्त्वपूर्ण हुँदैनन्। हुनै सक्दैनन्। नेपाली राजनीतिमा उत्ताल तरङ्ग ल्याउने नक्खु जेल विद्रोहले कोअर्डिनेशन केन्द्रको दायरालाई मात्र फराकिलो पारेन, त्यसले तत्कालीन समयदेखि अहिलेसम्मै एउटा बलियो कम्युनिस्ट पार्टी निर्माण गर्ने काममा महत्त्वपूर्ण भूमिका निर्वाह गर्‍यो। युवाहरूलाई असंभव ठानिने काम गर्न ऊर्जा प्रदान गर्‍यो। त्यसले आमूल परिवर्तनको सपना देख्ने ठूलो युवा पङ्क्ति नेपाली राजनीतिलाई दियो।

    त्यसैले नक्खु जेल विद्रोहलाई परिवर्तनको एउटा मोड मानिनुपर्छ। एउटा त्यस्तो मोड, जो ‘न भूतो न भविष्यति’ नै थियो। किनभने त्यो कसैको एकल विद्रोह थिएन। त्यो सुरुङबाट बाहिर निस्कने एक जना मात्र पलायन गर्नुभयो। बाँकी चौध जनाले नेपाली राजनीतिलाई अगाडि बढाउने काममा महत्त्वपूर्ण भूमिका निभाउनुभयो।

    तर नक्खु जेल विद्रोह इतिहास हो। तुलसीलाल स्मृति प्रतिष्ठानमा भेला भएका हामी पनि त्यो इतिहासका पात्र भयौँ। किनभने नेपाली राजनीतिमा नक्खु जेल विद्रोहको ‘स्पिरिट’ छैन। त्यसो हुनुका पछाडि कसैको दोष पनि छैन। नक्खु जेल विद्रोहमा सेवा, समर्पण, त्याग र तपस्या थियो। कृष्णप्रसाद भट्टराई, भीमबहादुर तामाङ पनि त्यतिबेला नक्खु जेलमै हुनुहुन्थ्यो। अहिलेका दागी खुमबहादुर खड्का त्याग, तपस्या र सेवाको भावना बोकेका कारण नक्खु जेलमै आस्थाको बन्दी हुनुहुन्थ्यो। कृष्णप्रसाद भट्टराई र भीमबहादुर तामाङ निराश भएरै यो धराबाट हराउनुभयो भने खुमबहादुर खड्काले आफूलाई समयानुकूल परिवर्तन गर्नुभयो। दाग लागेरै भए पनि उहाँ यतिबेला नेपाली काङ्ग्रेस पार्टीभित्र सभापति भन्दा शक्तिशाली नेता बन्नुभएको छ।

    तर तुलसीलाल स्मृति प्रतिष्ठानमा भेला भएका हामी धेरैले वर्तमानको राजनीतिमा आफूलाई फिट गर्न सकेनौँ। पछिल्लो समयमा केहीले आस्थासहित राजनीतिभन्दा बाहिरको पेशा रोज्नुभयो। आफ्नो काममा सफल पनि हुनुभयो। थोरै हामी ‘ट्रान्सप्लाण्टेड किड्नी’ भएर पार्टीमा अडकिइरहेका छौँ।
    राजनीतिको परिवर्तनकारी घटनाका अभियन्ता भएका हामीले आफूलाई नक्खु जेल विद्रोहको इतिहाससँगै समाहित गर्ने बेला आएछ। अहिलेको राजनीति भ्रष्ट छ। राजनीति भ्रष्ट भयो भनेर रोइ कराइ गर्नुको कुनै अर्थ छैन। पुँजीवाद भनेकै भ्रष्टाचार, अनाचार र दुराचारकोे शासन हो। पुँजीवादी राजनीति गर्न सक्ने गरी परिवर्तित भएका नेताले आफ्नो राजनीतिलाई निरन्तरता दिने हो। नसक्नेले गुनासो गाउनु भन्दा इमान्दार नागरिक भएर बाँच्नु राम्रो हो।

प्रदीप नेपाल

नेकपा एमालेका नेता प्रदीप नेपाल राजनीतिसँगै साहित्य रचनामासमेत क्रियाशील छन् ।

 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]