|

चितवन : नारायणगढ–मुग्लिन सडक खण्डको घुमाउनेमा सोमबार पहिरो खस्दा पुरिएर २ जनाको मृत्यु भयो। दुर्घटनामा २ घाइते छन्।  पहिरोमा परिएर ५ सवारीसाधन क्षतिग्रस्त बने। 

भरतपुर महानगरपालिका वडा नम्वर २९ को कविलास स्थित घुमाउने भन्ने स्थानमा  बिहान सवा १० बजेतिर सुख्खा पहिरो खसेको हो। चितवनका प्रहरी उपरीक्षक दिपक थापाका अनुसार मृत्यु हुनेमा पहिरोमा पुरिएको बा १० प ४८४४ नम्वरको मोटरसाईकल चालक लम्जुङ जिल्लाको सुन्दरबजार ३ भोटेवडारका अन्दाजी ४५ वर्षिय रेशमराज राना रहेका छन्। सोही मोटरसाइकलको पछाडि सवार रानाका १५ वर्षिय छोरा सन्दिप राना घाइते छन्।

त्यसैगरी, मुग्लिन हुँदै नारायणगढतर्फ आउदै गरेको ना ४ ख ५४१९ नम्बरको ट्याङ्करका सह चालक भारतको वेतिया जिल्ला घर भएका २५ वर्षिय विनय कुमार कोईरीको मृत्यु भएको प्रहरीले जनाएको छ। पुरिएको ट्याङ्कर निकाल्दै गर्दा उनको शव फेला परेको हो। ट्याङकरका चालक पर्सा लक्षयमनुवा १८ का ३६ वर्षीय बनु पटेल घाइते छन्।

घटना स्थलबाट रा १ ख ७७९ नम्वरको मिनि ट्रक, बा १६ च ३९०७ नम्बरको कार र ना ६ ख ६६६४ नम्बरको ट्रक बाहिर निकालिएको छ। यी सवारीसाधनमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ । मोटरसाइकल र ट्याङ्कर भने क्षतविक्षत भएका छन्।

पहाड काट्न खोज्दा पहिरो गयो

नारायणगढ मुग्लिन सडक खण्ड बिस्तारको कार्य भैरहेको छ । सोही क्रममा भित्तो काटिएको क्षेत्रमा पहिरो खसेको हो। भित्तो काट्नका लागि प्रत्येक दिन बिहान १० वजेबाट दिउँसो ४ वजेसम्म सडकमा आवागमन रोकिने गरिन्छ।  

सडकमा बिहान १० बजे अघिनै छिरेका सवारीका साधन बाहिर निक्लनु अघिनै पहिरोले पुरिएका हुन्। पहिरोमा मुग्लिनबाट नारायणगढतर्फ आएका सवारीका साधन परेका छन्। घटनास्थल नारायणगढबाट २० किलोमिटर मुग्लिनतर्फ पर्दछ। 

नारायणगढ–मुग्लिन सडक खण्डमा पर्ने घुमाउने ठुलो पहिरो जाने क्षेत्र हो। ठुलो घुमाउरो मोड रहेको क्षेत्र भएकै कारण त्यस क्षेत्रलाई घुमाउने भनिने गरिएको हो। तर अहिले सडक बिस्तारको लागि घुमाउनेको पहाड नै हटाएर बाटो सिधा बनाउने काम भइरहेको छ।

सो ठाउँको पूरै पहाड हटाउन लागिएको थियो। डाँडोको टुप्पामा गएर एक्साभेटर र रक ब्रेकरले पहाड खोस्रने र फुटाउने गरेको देख्दा तलबाट हेर्नेहरु नै डराउने अवस्था छ। झण्डै ५० मिटर अग्लो पहाडको टुप्पाबाट पहाट काट्ने काम भैरहेको छ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार सो पहाड पन्छाउँदा ४० हजार घन मिटर ढुंगा माटो निस्कने अनुमान छ। घुमाउनेमा अहिले सडकको चौडाइ लगभग छ मिटर मात्रै छ। पहाड काटेपछि सो ठाउँको सडक २० मिटरको हाराहारीमा चाक्लो हुने इन्जिनियर खनालले बताए।

यस क्षेत्रमा एशियाली मापदण्डको सडक बनाउनका लागि बिस्तारको काम भइरहेको छ। सो सडकका धेरै ठाउँमा अहिले दुईवटा गाडी एकै चोटी ओहर दोहर गर्न गाह्रो हुने अवस्था छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.