|

रुपन्देही : निर्माण कम्पनीबीचको विवादका कारण रोकिएको भैरहवा अन्तरराष्ट्रिय विमानस्थलको काम सुचारु भएको छ। ठेक्का पाएको चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभिएसन र स्थानीय निर्माण कम्पनी नर्थ वेष्ट इन्फ्रा नेपालबीच रकमको विवादका कारण १० दिनदेखि निर्माणको काम रोकिएको थियो। 

दुई कम्पनीबीचको विवाद समाधानको चरणमा पुगिसकेकाले चिनियाँ कम्पनीले आफै निर्माणको काम थालेको विमानस्थल निर्माण आयोजनाका निर्देशक ओम शर्माले बताए।

‘हामीले काम ढिलो हुनुहुँदैन भनेर पत्रै काटेर ताकेता गरिरहेका थियौं, उनले भने,'त्यसपछि चिनियाँ कम्पनीले काम सुरु गरिसकेको छ, काम तीव्र गतिमै अघि बढ्छ।’

आयोजना प्रमुख शर्माका अनुसार चिनियाँ कम्पनीले आफ्नो जनशक्ति प्रयोग गरेर विमानस्थलको टर्मिनल भवन र फायर भवनको निर्माण कार्य गरिरहेको छ।

यसअघि भएको निर्णयअनुसार नेपाली कम्पनीले गरेको नापजाँच कार्य सकिएको र पेश गरिएको बिलबिजक अनुसार रकमको विषयमा दुवै कम्पनीबीच छलफल र हिसाबकिताब जारी रहेको आयोजना प्रमुख शर्माले बताए।

चिनियाँ कम्पनीले आयोजनाबाट ठेक्का लिएर नेपाली कम्पनीमार्फत काम गराउँदै आएकोमा रकम उपलब्ध नगराएको भन्दै नेपाली कम्पनीले काम रोकेको थियो । काम रोकिएपछि भएको सहमतिअनुसार काम अघि बढिसकेकाले चिनियाँ कम्पनीले आफैं निर्माणको काम थालेको उनले बताए।

दुवै कम्पनीको विवादको कारण बन्द भएको विमानस्थलको निर्माण कार्य सुचारु गराउन सरकारी स्तरबाटै दुबै पक्षलाई राखेर छलफल भएको थियो। सो छलफलमा विमानस्थलको निर्माणको लागि नेपाली कम्पनीले गरेको कामको नाँपजाँच गर्ने, नापजाँच पछि ५ दिनभित्र नेपाली कम्पनीले चिनियाँ कम्पनीलाई बिलबिजक उपलब्ध गराउने र बिलबिजक प्राप्त भएको ७ दिनभित्र दुवै कम्पनीले सहमति भएको थियो। 

भूकम्प, तराई आन्दोलन, बन्दहड्तालका कारण निर्माण कार्य रोकिएको जनाउँदै सरकारसँग थप समय माग गरे पछि नागरिक उड्डयन प्राधिकरणलले ६ महिनाको समय थप्दै सन् २०१७ डिसेम्बर ३१ मा आयोजना निर्माण सम्पन्न गर्नु पर्ने काम २०१८ को जुन १५ सम्म पुगेको थियो।

२०२३ सालमा भारत सरकारको सहयोगमा निर्मित गौतमबुद्ध विमानस्थललाई स्तरोन्नती गरी अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा निर्माण गर्न चिनियाँ कम्पनी नर्थ वेस्ट एभिएसन कम्पनीले ठेक्का लिएको छ।  ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैयाँमा २०१७ डिसेम्बर ३१ सम्म  काम सक्ने गरी यस कम्पनीले सम्झौता गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.