|

इलाम : विभागीय टिम नेपाल पुलिस क्लब इलाममा भैरहेको तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डपकको सेमीफाइनल प्रवेश गरेको छ। सोमबार भएको तेश्रो क्वाटरफाइनलमा उपाधिको दाबेदार मानिएको लक्ष्मी हुन्डाइ मनाङ मस्याङदी क्बललाई पुलिसले १-०ले हरायो।

पुलिसलाई जित दिलाउन अभिषेक रिजालले निर्णायक गोल गरे। खेलको ३५ औ मिनेटमा कप्तान भोला सिलबालको फ्रिकिकलाई मनाङका गोलकिपर दिनेश थापा मगरले पन्च गरेपछि अभिषेक रिजालले रिबाउन्डमा गोल गरेका थिए। त्यसपछि पुलिस खेलमा बिस्तारै रक्षात्मक देखियो।

पहिलो हाफमा पुलिस आक्रमक

खेलको पहिलो हाफमा पुलिस निकै आक्रमक देखिएको थियो। खेलको दोस्रो मिनेटमा मनाङका गोलकिपर विट भैसकेको अवस्थामा रवि पासवानले गोल गर्ने मौका गुमाएका थिए। चौथो मिनेटमा पुलिसका स्टाइकर भरत शाहले काउन्टरमा गोल गर्ने मौका गुमाए। ३५ औं मिनेटमा अभिषेक रिजालले गोल गर्दै पुलिसलाई अग्रता दिलाए।

३८ औ मिनेटमा  अफ्रिकन खेलाडी डेनीको प्रहार पोष्टमाथिबाट बाहिरिएपछि मनाङले बराबरी गोल फर्काउने मौका गुमाएको थियो। दोश्रो हाफमा हुस्सुका कारण २ पटक खेल रोकियो। १७ औ मिनेटमा मैदान हुस्सुले ढाकेपछि खेल स्थगित भएको थियो। पुन खेल संचालन भएको ९ मिनेटपछि हुस्सुकै कारण करिब ५ मिनेट खेल रोकियो।

खेलपछि प्रक्रिया दिँदै मनाङ प्रशिक्षक छिरिङ लोप्साङले इलाममा पहिलो पटक सहभागी भएकाले खेलमैदानको बारेमा जानकारी नभएपछि  पराजित हुनुपरेको बताए। ‘ खेलमैदानका कारण मनाङले आफनौ खेल्न सकेन । बल र मैदान खराब भएकाले पनि खेलाडीले टेक्निकल खेल देखाउन सकेनन्,’ उनले भने।

पुलिसका कप्तान भोला सिलवालले निकै नै प्रतिस्पर्धात्मक भएपनि खेलाडीले राम्रो खेलेको प्रतिक्रिया दिए। ‘मनाङ जस्तो फर्ममा रहेको टिम भनेपछि जित्नुपर्छ भन्ने मानसिकता बोकेकाले जित्न सफल भयौ,' म्यान अफ दि म्याच घोषित हुँदै नगद ७ हजार समेत जितेका कप्तान सिलवालले भने।

प्रतियोगिताअन्तर्गत मंगलबार हुने अन्तिम क्वाटरफाइनलमा सिमएजी संकटा र साबिक उपविजेता विभागीय टिम शसस्त्र प्रहरी बलबीच प्रतिस्पर्धा हुनेछ।

२६ गते सकिने प्रतियोगिताको विजेताले नगद ४ लाख रुपैयाँ र उपविजेताले नगद २ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यामहाको मोटरसाइल तथा सर्वाधिक गोलकर्ताले नगद २५ हजार रुपैयाँ पुरस्कार जित्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.