|

काठमाडौं : २०७४ वैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचनमा प्रयोग गरिने मतदाता परिचयपत्रको छपाइ सोमबार सुरु भएको छ। आयोगको कान्तिपथस्थित केन्द्रीय कार्यालय परिसरमै परिचयपत्र छपाइको कार्य सुरु भएको हो।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले डोल्पा जिल्ला त्रिपुरासुन्दरी नगरपालिका वडा नं. १० का मतदाता सुनकुमारी खत्रीको परिचय नम्बर १०५४०५७९ को मतदाता परिचयपत्र सार्वजनिक गर्दै परिचयपत्र छपाइको शुभारम्भ गरेका हुन्। मतदाता खत्रीको जनप्रभा उच्च माविमा मतदान केन्द्र छ।

मतदाताको परिचयपत्र लेमिनेसनसहित तयारी अवस्थामा आएको छ। यो मतदाता परिचयपत्र नयाँ प्रविधि प्रयोग गरी बनाइएको हो। स्थानीय तह निर्वाचनमा यही नयाँ परिचयपत्र प्रयोग गरेर मात्रै मतदान गर्न पाइनेछ। यसअघि बनाइएका पुराना परिचयपत्रबाट मतदान गर्न नपाउने आयोगले जनाएको छ। आयोगले आइतबारमात्रै स्थानीय तह निर्वाचनमा एक करोड ४० लाख ५४ हजार ४८२ मतदाताको नामावली स्वीकृत गरेको थियो।

नयाँ परिचयपत्रमा विशेष प्रकारका भ्वाइड प्रिन्टोग्राफ, माइक्रोटेक्स्ट, डिफ्युज प्रिन्टिङ, क्यूआर कोडजस्ता सुरक्षण विधि अपनाइएको छ। यो परिचयपत्रलाई फोटोकपी वा स्क्यान गर्न मिल्दैन, त्यसो गरेमा नक्कली भएको तत्कालै थाहा हुने जानकारी आयोगले दिएको छ। यसमा रहेको क्यूआरकोडमा अन्य विवरण राख्न र त्यसमा रहेका विवरण हेर्न सकिन्छ।

छपाइ गर्ने जिम्मा पाएको ओम्नी गु्रपका अध्यक्ष तुलहरि सिंहले १० दिनमा छपाइ कार्य सक्ने जानकारी दिए। परिचयपत्रको चारैतिर सिल्ड भएकाले नभाँचिने र १० वर्षसम्म चल्ने उनले जानकारी दिए। प्रतिघन्टा ६५ देखि ७० हजार प्रति तयार गर्न सकिने र दैनिक सातदेखि १० लाख मतदाताको परिचयपत्रको छपाइ गर्न सकिने उनले बताए।

मतदाता परिचयपत्र छपाइका लागि तीन सेवामा गरी ६०० कर्मचारी खटाइएको उनले बताए। परिचयपत्र छपाउनका लागि तीनवटा छपाइ मेसिन र ३६ वटा लेमिनेसन मेसिन प्रयोगमा ल्याइएको छ। त्यस्तै लेमिनेसनका लागि थप २२ वटा मेसिन जगेडामा राखिएको छ। 

एउटा परिचयपत्रको लागत नौ रुपियाँ ९९ पैसा रहेको छ। परिचयपत्र छपाइ छिटो भए पनि प्याकिङ गर्न भने समय लाग्नेछ। आयोगको कार्यतालिका अनुसार वैशाख १० गतेसम्म जिल्लाजिल्लामा पुर्‍याउने योजना छ। आयोगले संविधानसभा निर्वाचन २०७० देखि फोटोसहितको मतदाता परिचयपत्रको व्यवस्था गरेको हो। आयोगले आइतबारदेखि नै मतदाताको नामावली पनि छपाइ सुरु गरेको थियो। मतदाताको नामावलीमा पनि मतदाताको तस्बिर अङ्कित हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.