|

उदयपुर : उदयपुरका किसानहरु वन पैदावरअन्तर्गत पर्ने रिठ्ठाको व्यवसायिक खेती गर्न आकर्षण हुँदै गएका छन्। साबुन, स्याम्पु, आयुर्वेदिक औषधि, कस्मेटिक समान लगायतका वस्तुहरु उत्पादन गर्न प्रयोग गर्ने मुख्य कच्चापदार्थ मानिने रिठ्ठाको खेतीमा राम्रो आम्दानीको अवसर देखेपछि यहाँका किसानहरु रिठ्ठा खेतीतर्फ आकर्षित भएका हुन्।

 ‘विभिन्न प्रकारको साबुन, स्याम्पु, आयुवेर्दिक औषधि, कस्मेटिक बनाउने प्रमुख कच्चा पदार्थको रुपमा रिठ्ठाको प्रयोग हुने भएकाले अहिले यसको मागसमेत बजारमा बढेको छ।’ मुर्कुची बजारस्थित थापा जडीबुटी वाष्पीकरण प्लान्टका प्रोपाइटर भरत थापाले भने, ‘उदयपुरमा उत्पादित रिठ्ठा नेपालका विभिन्न सहर हुँदै भारतसम्म निकासी हुने गरेकोले पाएको छु।’

पहाडी क्षेत्रका वनमा पाइने रिठ्ठो चार दशक अघि गाँउघरमा नुहाउनका लागि प्रयोग हुने गर्दथ्यो। विगत एक दशकदेखि रौताको मुर्कुची बजारमा संकलन र बिक्री गर्दै आएका स्थानीय श्याम तामाङले रिठ्ठाको खेती गर्नका लागि कृषकहरुलाई प्रोत्साहन र सहयोग गर्न थालेको बताए।

‘रौता, इनामे, आँपटार र पोखरी क्षेत्रमा रिठ्ठाको व्यवसायिक खेती गरी उत्पादन सुरु भएको छ।’ तामाङले भने, ‘यसरी उत्पादन गर्ने कृषकले बर्सेनि ३ देखि ५ लाख रुपैयाँको आम्दानी गर्न थालेका छन्।

बजारमा प्रतिकिलो ५० देखि ६० रुपैयाँ रहेको रिठ्ठो एक घर कृषकले बर्सेनि १० क्विन्टलभन्दा बढी बिक्री गर्न थालेका छन्। कटारी, मुर्कुची र बेल्टार बजारमा रहेका बजारमा रिठ्ठाको ठेकेदारले खरिद गरी सिधै उद्योगमा बिक्री गर्ने गर्दछन्। खाद्य बाली उत्पादन नहुने भिरालो र बाँझो जमिन पनि सदुपयोग गर्दै वातावरण संरक्षणमा समेत सहयोग पुग्ने गरी रिठ्ठाको खेती गर्न सकिने भुटारमा रिठ्ठाको खेती गर्दै आएका कृषक उमेश खत्रीले बताए। ‘मैले वर्षेनी २ देखि ३ लाख आम्दानी गर्ने गरेको छु।’ खत्रीले भने, ‘यसको लागि अन्य खाद्य बालि नहुने ठाँउमा रोप्दा पनि उत्पादन हुन्छ।’

वातावरण संरक्षणका साथै किसानलाई आम्दानीसमेत दिने भएकोले रिठ्ठाको व्यावसायिक उत्पादन गर्ने किसानलाई सामुदायिक वन समूहमार्फत विभिन्न सहुलियत र प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको जिल्ला वन कार्यालय उदयपुरका सहायक वन अधिकृत जागेश्वर साहले बताए।

‘सामुदायिक वन समूहकै धन भएकाले सामुदायिक वन क्षेत्र भित्रसमेत रिठ्ठाको व्यावसायिक खेती गरेर आम्दानी वृद्धि गर्न किसानलाई अभिप्रेरित गरिरहेका छौं।’ सहायक वन साहले भने, ‘अबको १० वर्षमा प्रतिकृषक वार्षिक आम्दामी ५ लाख पु¥याउने गरी विभिन्न जनचेतनामूलक कार्यक्रम गरिरहेका छौं।’

सरकारी तथ्यांकअनुसार देशबाट विश्वका विभिन्न मुलुकमा रिट्ठा निर्यात भइरहेको छ। व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०७२/०७३ मा नेपालबाट विश्वका १४ देशमा रिट्ठा निर्यात भएको छ। उक्त वर्ष ती देशमा २ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख १५ हजार ७ सय ८० किलो रिट्ठा निर्यात भएको देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.