|

सुनसरी : पूर्वका छ जिल्लामा नेपाल र भारतबीच सीमा छुट्याउन गाडिएका सीमास्तम्भमध्ये ६ सय ६६ वटा हराएका छन्। पूर्वका सिरहा, सप्तरी, सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, र संखुवासभामा गरी २ हजार ६ सय १३ सीमा स्तम्भ रहेका छन्। जसमा सप्तरीमा सबैभन्दा बढी गायब भएका छन्। सप्तरीका ५ सय ६० मध्ये ३ सय ९९ सीमास्तम्भ गायब भएको सशस्त्र प्रहरीको रेकर्डमा उल्लेख छ।

नेपालको सशस्त्र प्रहरी र भारतीय एसएसबीको सोमबार बसेको २ पक्षीय बैठकको निर्णयबारे सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताइएको हो। यस्तै, झापाका ८ सय ९८ मध्ये १ सय २७ र मोरङका १ सय २४ मध्ये ३० वटा गायब छन्। प्रहरीको रेकर्डअनुसार, सुनसरीका २ सय ९० मध्ये ४०, सिरहाका ३ सय ८८ मध्ये ६८ र पाँचथरका ९४ मध्ये २ वटा स्तम्भ गायब छन्। इलाम, ताप्लेजुङ र संखुवासभामा भने सीमा स्तम्भ गायब नभएको तर मर्मत सम्भार गर्नुपर्ने र पुनर्निर्माण गर्नुपर्ने अवस्था रहेको बताइएको छ।

सीमास्तम्भ गायब भएपछि अहिले चौतर्फी रूपमा दसगजा क्षेत्र अतिक्रमण गरेर घर–टहरा निर्माण र बालीनाली लगाउने क्रम बढ्दो  छ। ४ फिट देखि ८—१० फिट सम्म अग्ला सिमेन्ट र कंक्रिटले बनेका सीमा स्तम्भ जसले पायो त्यसले सजिलै भत्काउन सक्ने अवस्थामा हुँदैनन्। तर पनि यति धेरै संख्यामा सीमास्तम्भ गायब हुनु भनेको अतिक्रमण गर्ने मानसिकता बोकेकाले भत्काएर गायब गरेको सहजै अनुमान गर्न सकिन्छ।

बैठकले सीमा स्तम्भको तथ्यांक अद्यावधिक गरी मर्मत सम्भारलाई निरन्तरता दिने निर्णय पनि गरेको छ। सशस्त्र प्रहरीको पूर्वी क्षेत्रीय मुख्यालय पकलीमा भएको बैठकमा मुख्यालयका डिआइजी जानकीराज भट्टराई नेतृत्वको टोली र भारतका तर्फबाट सशस्त्र सीमा बल सेक्टर हेडक्वाटर गान्टोक सिक्किमका डिआइजी भेनडन साकेन र सशस्त्र सीमा बल सेक्टर हेडक्वाटर रानीदंगा सिलगुडीका डिआइजी बिक पालको सहभागिता थियो। बैठकपछि आयोजित पत्रकार सम्मेलनमा मर्मत सम्भार गर्नुपर्ने स्तम्भको हकमा २ पक्षीय सर्भेबाट भइरहेको कार्यलाई निरन्तरता दिने, हराएका र भत्किएका तथा खतरामा परेका स्तम्भको निगरानी गर्ने जानकारी दिइयो।

बैठकमा पूर्वी नेपालका विभिन्न नाकाबाट हुने सक्ने मानव ओसारपसारसँगै बेचबिखन कार्यलाई पूर्ण रूपमा नियन्त्रण गर्ने र जाली नोटको कारोबार रोक्ने सहमति भएको छ। यस्तै, सीमा क्षेत्रमा हुन सक्ने हतियारको अवैध ओसारपसार तथा लागुऔषध नियन्त्रण गर्ने सहमति भएको पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.