प्रवासीलाई स्वदेश फर्कन एमालेले गर्‍यो आग्रह

|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र तयारी सुरु गरेको छ। एमालेको सोमबार सम्पन्न स्थायी समिति बैठकले उपाध्यक्ष वामदेव गौमतको संयोजकत्वमा घोषणापत्र तयारी समिति निर्माण गरी घोषणापत्र बनाउन सुरु गरेको हो।

घोषणापत्र तयारीका लागि मंगलबार घोषणापत्र मस्यौदा समितिको पहिलो बैठक बसेको छ। संयोजक वामदेव गौतमको अध्यक्षतामा बसेको बैठकले स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट बनाइने घोषणापत्रका बारेमा प्रारम्भिक छलफल भएको छ।

बैठकमा निर्वाचनमा जाँदा जनता सामु प्रस्तुत गर्ने एजेण्डा, पार्टीको नीतिलाई जनतासम्म पुर्याउने विधीका विषयमा छलफल भएको छ। बैठकमा बोल्ने समितिका नेताहरूले राष्ट्रियताको प्रवर्द्धनलाई चुनावको पहिलो एजेण्डा बनाउनुपर्नेमा जोड दिएका थिए।

राष्ट्रियता, शिक्षा, स्वास्थ्य, यातायात, स्थानीय स्वायत्तता, रोजगारीलाई मुख्य एजेण्डा बनाउने गरी घोषणापत्र मस्यौदाबारे छलफल भएको बैठकपछि एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।

सबैभन्दा बढी अधिकार कसरी स्थानीय तहमा पुर्‍याउन सकिन्छ भन्ने ढंगले छलफल गर्ने र त्यहीअनुसार नारा बनाइने बैठकमा छलफल भएको छ। घोषणापत्र निर्माण समितिले पार्टीसँग सम्बन्धित विज्ञहरूका रायसमेत लिएर अघि बढ्ने निर्णयसमेत गरेको छ।

बैठकमा नेपाली जनताका प्रतिनिधिहरूद्वारा संविधानसभामार्फत् जारी संविधानले नै आर्थिक–सामाजिक रूपान्तरणमार्फत् समाजवादउन्मुख हुने भन्ने तय गरिसकेकाले समाजवाद प्राप्तिका लागि आवश्यक घोषणापत्र जनतासमक्ष लैजाने गरी छलफल अघि बढाइएको सचिव भट्टराईले जानकारी दिए।

प्रवासीलाई स्वदेश फर्कन आग्रह

यसैबीच एमालेले देशबाहिर रहेका प्रवासी नेपालीलाई स्वदेश फर्केर निर्वाचनमा सहभागी हुन आग्रह गरेको छ। बैठकले देशबाहिर रहेका प्रवासी नेपाली मञ्चका अधिवेशनहरू बैशाखदेखि जेठको पहिलो सातासम्म स्थगित गर्ने निर्णय गरी सोहीअनुसार मातहत कमिटीहरूलाई निर्देशनसमेत दिएको छ।

'दुई दशकपछि आयोजना हुन लागेको स्थानीय निर्वाचनमा सहभागी हुनका लागि प्रवासमा रहेका नेपालीहरूलाई स्वदेश फर्किएर सक्रियतापूर्वक भाग लिन आग्रह गरिएको छ', बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, 'हिजो बसेको स्थायी समितिको बैठकले यसअघि नै स्थानीय निर्वाचनलाई ध्यानमा राखी मातहतका सम्मेलन तथा अधिवेशनहरू स्थगित गर्ने निर्णय गरिसकेको छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.