|

 

  • पेमा लामा-

काभ्रेपलाञ्चोक : जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकले स्थानीय तह निर्वाचन २०७४ को लागि निर्वाचन शिक्षा कार्यकर्ता एवं मतदाता शिक्षा स्वयंसेवक प्रशिक्षण कार्यक्रम मंगलबारबाट शुरु गरेको छ। आम मतदाताहरुलाई निर्वाचनको आवश्यकता, महत्व एवं मतदानसम्बन्धी जानकारी दिने उद्देश्यले सो प्रशिक्षण कार्यक्रम सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

प्रशिक्षण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कार्यक्रम व्यवस्थापन समितिका संयोजकसमेत रहेका शिवप्रसाद सिमखडाले मंगलबारबाट मतदाता शिक्षाको कार्यक्रम औपचारिक रुपमा सुरु भएको बताए। ‘तपाईंहरु अब निर्वाचन शिक्षा कार्यकर्ता र मतदाता शिक्षा स्वयंसेवक हुनुभयो, यस्तो जिम्मेवारी पाउनु भनेको राज्यको जिम्मेवार ब्यक्ति बन्ने अवसर पनि हो’ सिमखडाले भने, ‘यसको उचित उपयोग गर्दै आम मतदाताहरुसम्म अहिले सिकाएको शिक्षा तपाई कार्यकर्ता र स्वयंसेवकहरुबाट हन जरुरी छ।’

उनले प्रजातन्त्रमा निर्वाचन अक्सिजन जस्तै भएको उल्लेख गर्दै त्यसको अनिवार्यता र निरन्तरताको लागि आम मतदातासमक्ष सन्देश पुर्‍याउन काम स्वयंसेवकहरुको भएको बताए। उनले सो अवसरमा सहभागीहरुलाई निर्वाचन सम्बन्धीको शिक्षा र मतदान कसरी बदर नहुने बनाउने भन्ने कुरालाई राम्रोसँग सिकाउने जिम्मा स्वयंसेवकहरुमाथि आएको प्रस्ट पारे।

त्यस्तै, जिल्ला निर्वाचन कार्यालयका प्रमुख जिल्ला निर्वाचन अधिकारी मधुकरप्रसाद पोखरेलले जिल्लाभरिमा ३ सय ३० जनालाई निर्वाचन शिक्षा कार्यकर्ता र मतदाता शिक्षा स्वयंसेवक सम्बन्धीको प्रशिक्षण दिने काम मंगलबारबाट सुरु भएको बताए। ‘आजबाट निर्वाचन आयोगले तोके बमोजिमको जिल्लामा निर्वाचन शिक्षा कार्यकर्ता र मतदाता शिक्षा स्वयंसेवक सम्बन्धीको प्रशिक्षण शुरु भएको छ, यो प्रत्येक समूहलाई २\२ दिन प्रदान गर्दै तीन दिन भित्रमा ३ सय ३० जनालाई प्रशिक्षण दिइसक्छौं’

पोखरेलले भने, ‘जसअनुसार आज जिल्ला निर्वाचन कार्यालयले ९० जनालाई प्रशिक्षण दिइरहेका छौं।’ पोखरेलका अनुसार प्रशिक्षण कार्यक्रममा जिल्लास्थित सामाजिक परिचालक, विद्यालयका बाल विकास केन्द्रका शिक्षिकाहरु तथा आवश्यक्ताअनुसार नपुग भएको ठाउँमा प्राथमिक तहका शिक्षकहरुलाई समावेश गरिनेछ।

उनले प्रत्येक केन्द्रमा १ हजार मतदाताको सहभागिता हुनेगरी १ सय ८९ वटा मतदानस्थलमा ३ सय ३० वटा केन्द्र हुने बताएका छन्। ‘एक मतदान स्थलमा हजार जनाभन्दा बढी भएमा अर्को मतदान केन्द्र स्थापना हुनेछ।’ पोखरेलले भने।

काभ्रेपलाञ्चोक जिल्लाबाट आगामि २०७४ साल वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा महिला १ लाख १५ हजार २ सय ५५, पुरुष १ लाख १५ हजार ५ सय ९३ र तेस्रो लिंगी १ गरी कुल २ लाख ३० हजार ८ सय ४९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.