|

पाँचथर : पत्रकार सन्देश सुब्बाको कविता कृति ‘आगोको सौन्दर्य’ मंगलबार पाँचथरको फिदिममा विमोचन गरिएको छ। कवि वीरेन्द्र तुम्बापो ‘प्रतीक’ले सो कृति विमोचन गरेका हुन्। 

कृति विमोचन गर्दै कवि प्रतीकले समकालीन नेपाली कविताको गद्य धारमा लेखिएका कविता कृतिमध्ये सुब्बाको कृति अव्बल भएको दावी गरे। लिम्बू समुदायको जीवन–दर्शन, सामाजिक न्याय, गाउँले परिवेश, राज्यप्रति उत्पीडित वर्गको आक्रोश, शहरमा गुम्दै गएको मानवीयता र प्रकृतिप्रतिको अगाध प्रेमको चित्रण सुब्बाको कवितामा रहेको उनले औँल्याए। भाषाशैली नरम तर ओजनदार भाव पक्ष उनको कवितामा भएको प्रतीकको भनाइ थियो। 

कविको पहिलो कृति भए पनि सो कृति खँदिला कविताहरूको संग्रह भएको साहित्यकार एवं पत्रकार प्रेम ओझाले बताए। नेपाली साहित्यको कविता विधामा तन्नेरी साहित्यकाहरूको उपस्थिति कम देखिएको बेला सुब्बाको उपस्थिति दर्विलो भएको ओझाको भनाइ थियो। समालोचकहरु लक्ष्मीप्रसाद ढुङ्गाना, सगुन सुसारा, मधु आजिक केरुङ र राज दिलाञ्जलिले सुब्बाका कविताहरू पहिचान, स्वशासन, आत्मनिर्णय, वर्गीयता र सामाजिक न्यायको पक्षमा ओकलिएका शक्तिशाली स्वरहरू भएका टिप्पणी गरे। 

कृतिमा १९ वटा कविता समावेश छन्। रेडपाण्डा प्रकाशनले सो कृति बजारमा ल्याएको हो। कवि सुब्बा, दोस्रो अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा प्रथम र पूर्वाञ्चलस्तरीय खुला कविता प्रतियोगितामा दोस्रो भइसकेका छन्।

सोही कार्यक्रममा सर्जक जङ्ग तामाङ ह्रिञ्जेन, नारायण थपलिया, विवश बेनाम, जुनु खतिवडालगायतले कविता र गजलवाचन पनि गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.