​उम्मेदवारको नाम आउन बाँकी

|

काठमाडौं : विपक्षी दल नेकपा एमालेका २ नम्बर प्रदेशका ८ वटै जिल्लाका एमाले पार्टी अध्यक्षहरूले पार्टीलाई चुनाव जिताउन र जिल्लामा स्थानीय आवश्यकताअनुसार कार्यक्रम गर्न आग्रह गरेपछि एमाले अहिले पूर्ण रूपमा आसन्न स्थानीय चुनावमा केन्द्रित भएको छ।

सरकारले आगामी बैशाख ३१ गतेका लागि स्थानीय तहको निर्वाचनको मिति तय गरेपछि एमाले निर्वाचनको सम्पूर्ण तयारीमा जुटेको हो। निर्वाचनका लागि एमालेले केन्द्रदेखि स्थानीयस्तरसम्म आफ्ना सम्पूर्ण पार्टी पंक्ति परिचालन गरेको छ। त्यसो त मेची-महाकाली राष्ट्रिय अभियानकै क्रममा चैत ३ गते महेन्द्रनगरको कञ्चनपुरमा बसेको स्थायी समितिको बैठकले स्थानीय तहहरूको घोषणा तथा स्थानीय तहको निर्वाचन घोषणापछिको विशेष परिस्थितिमा स्थानीय पार्टी संरचनाको पुनर्व्यवस्थापन गर्न प्रदेश संगठनका संयोजक, सहसंयोजक, इञ्जार्ज, सह-इञ्चार्ज तथा जिल्ला अध्यक्षहरूलाई विशेष निर्देशन दिइसकेको छ।

फागुन २७ बाट स्थानीय तहहरूको नयाँ संरचना कार्यान्वयनमा आएसँगै विद्यमान गाविस र नगर, उपमहानगर, महानगरपालिकाहरूलाई चार महानगरपालिका, १३ उपमहानगरपालिका, २४६ नगरपालिका र ४८१ गाउँपालिकासहित ७४४ वटा स्थानीय संरचना र तीअन्तर्गत छ हजार ६८० वटा वडा निर्माण भएका छन्। सोही संरचनाअन्तर्गत एमालेले आफ्ना पार्टी संगठनको संरचना निर्माण गर्न निर्देशन दिएको छ।

एमाले उपाध्यक्ष भीम रावलले स्थानीय निर्वाचनका लागि घोषणापत्र निर्माण, परिचालन, स्थानीयस्तरको पार्टी कमिटी नयाँ संरचनाअनुसार निर्माण र निर्वाचनको सम्पूर्ण तयारीका कामहरू अहिले धमाधम भइरहेको बताए। 'भर्खरै सम्पन्न स्थायी समितको बैठकले घोषणापत्र तयारी तथा निर्वाचन परिचालनका लागि समिति गठन गरेको छ। त्यसैअनुसार अहिले घोषणापत्र निर्माणलगायतका कामहरू धमाधम भइरहेका छन्', रावलले भने, 'यसअघि नै स्थानीय पार्टी कमिटीको बैठकद्वारा नयाँ पुनर्संरचनाअनुसार पार्टी कामलाई अगाडि बढाउने काम भइरहेको छ। सबै पार्टी कमिटीलाई निर्देशन जारी गरी वडा, गाउँ, नगर, जिल्ला कमिटी, प्रदेश र बाँकी कमिटीका स्थायी कमिटीले सिफारिस गरी निर्णय गरी अगाडि बढ्ने तयारी भएको छ।'

उम्मेदवार छनोट हुन बाँकी

स्थानीय निकायको निर्वाचनका सम्बन्धमा एमालेले उम्मेदवारको मापदण्ड तय गरिसकेको छ। स्थानीय, प्रदेश वा केन्द्र तीनवटा निर्वाचनमध्ये कुनै एक निर्वाचनमा मात्र एक व्यक्ति उठ्न पाउने निर्णयसमेत एमालेले गरेको छ। तर यो व्यवस्था जिल्ला समन्वय समितिका पदमा हुने उम्मेदवारीका सम्बन्धमा भने लागू हुनेछैन।

सोमबार बसेको बैठकले उम्मेदवारका सम्बन्धमा पार्टीका विभिन्न कमिटीले गर्नुपर्ने सुझाव, सिफारिस तथा निर्णयका लागि समयतालिका समेत तय गरिसकेको छ। यसअनुसार अब तोकिएको समयसीमाभित्र सम्बन्धित कमिटीको सिफारिसमा तोकिएका कमिटीले निर्णय गरेर स्थानीय तहको उम्मेदवार छनोट गर्न मात्र बाँकी छ।

समयतालिका यस्तो छ

- वडा कमिटीको बैठकबाट सुझाव पठाउने– २०७३ चैत्र ३० गतेसम्म।

- गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका कमिटीको बैठक बसी सुझाव तथा सिफारिस पठाउने –२०७४ बैशाख ४ गतेसम्म।

- जिल्ला कमिटीको बैठकबाट निर्णय गर्ने र सिफारिस पठाउने – २०७४ बैशाख ७ गतेसम्म।

- प्रदेश कमिटीको बैठकबाट निर्णय गर्ने र सिफारिस पठाउने– २०७४ बैशाख १० गतेसम्म।

- स्थायी कमिटीको बैठकबाट निर्णय गर्ने –२०७४ बैशाख १२ गते।

पार्टीको तल्लो कमिटीको सुझाव या सिफारिस प्राप्त गरेपछि निर्णय गर्ने अधिकारप्राप्त कमिटीको बैठक बसी अन्तिम निर्णय गरिनेछ।

घोषणापत्रको मस्यौदा तयारी

सोमबार सम्पन्न एमाले स्थायी समितिको बैठकले स्थानीय चुनावका लागि घोषणापत्र मस्यौदा समिति र निर्वाचन परिचालन कमिटी गठन गरेर घोषणापत्रको तयारी गरेको छ। समिति गठन भएलगत्तै मंगलबार एमाले उपाध्यक्ष तथा समितिका संयोजक वामदेव गौतमको अध्यक्षतामा बैठक बसी घोषणापत्रबारे छलफल सुरु भएको छ।

मंगलबार नै एमाले महासिचव तथा निर्वाचन परिचालन समितिका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा बैठक बसी निर्वाचन परिचालनबारे छलफल गरेको छ।

केन्द्रीय नेता भूगोलमा

एमालेले निर्वाचनका लागि केन्द्रीय नेताहरूलाई सम्बन्धित भूगोलमा केन्द्रित हुन निर्देशित गरेको छ। आन्तरिक रूपमा सर्कुलर जारी गरी सम्बन्धित भूगोलमा जिम्मेवारी तोकिएकाबाहेक अन्य केन्द्रीय सदस्यहरू, केन्द्रीय आयोगका पदाधिकारी र सदस्यहरू, केन्द्रीय सल्लाहकार परिषद्का पदाधिकारी तथा सदस्यहरूलाई भूगोलमा जान निर्देशन दिएको हो।

त्यसैगरी केन्द्रीय विभाग तथा पार्टी सम्बद्ध जनसंगठनका पदाधिकारी तथा सदस्यहरूलाई आफ्नो स्थायी ठेगाना रहेको प्रदेश संगठन कमिटीसँग र व्यवस्थापिका–संसदका सदस्यहरूलाई आफ्नो निर्वाचन क्षेत्र रहेको जिल्ला कमिटीसँग समन्वय गरी स्थानीय निर्वाचनमा परिचालित हुन एमालेले निर्देशन गरेको छ।

चैत मसान्तभित्र सम्बन्धित कमिटीका संयोजक/अध्यक्षसँग समन्वय गरी जिम्मेवारी सम्हाल्न, सम्बन्धित प्रदेश संयोजक र जिल्ला अध्यक्षहरूले उनीहरूलाई निर्वाचनमा ठोस जिम्मेवारीसहित परिचालन गर्न आग्रह गरेको छ।

सांसदलाई गाउँ जान ह्विप

निर्वाचनको मिति नजिकिएपछि एमाले हरेक दिनजसो बैठक, भेला तथा छलफलमा केन्द्रित भएको छ। सोमबार बसेको स्थायी समिति बैठकले आफ्ना सांसदहरूलाई गाउँ गएर स्थानीय निकायको निर्वाचनमा परिचालित हुन आग्रह गरेको छ।

प्रवासीलाई स्वदेश फर्कन आग्रह

सोमबारको एमाले स्थायी समितिको बैठकले स्थानीय निर्वाचनलाई ध्यानमा राखी मातहतका सम्मेलन तथा अधिवेशनहरू स्थगित गर्न निर्देशन दिएपछि मंगलबार एमालेले प्रवासमा रहेका नेपालीलाई स्वदेश फर्कन आग्रह गरेको छ।

देशबाहिर रहेका प्रवासी नेपाली मञ्चका अधिवेशनहरू समेत बैशाखदेखि जेठको पहिलो सातासम्म स्थगित गर्न आग्रह गर्दै एमालेले दुई दशकपछि आयोजना हुन लागेको स्थानीय निर्वाचनमा सहभागी हुनका लागि प्रवासमा रहेका नेपालीहरूलाई स्वदेश फर्किएर सक्रियतापूर्वक भाग लिन आग्रह गरेको हो।

स्थानीयस्तरमा के गर्दै छ एमाले ?

एमालेको सातौं बैठकले ‘स्थानीय तहहरूको पुनर्संरचना हुनासाथ तत् स्थानमा क्रियाशील पार्टी कमिटीहरूको समन्वयात्मक संयन्त्र निर्माण गरी निर्वाचनको एकीकृत तयारीलाई अगाडि बढाउने’ निर्णय गरेको थियो। बैठकपश्चात् अन्तरपार्टी निर्देशन जारी गरी काम अगाडि बढाइएको थियो।

यस्तो छ निर्देशन

(क) जिल्ला

- पार्टी जिल्ला कमिटीहरूले पार्टी विधानबमोजिम गर्दै आएको कार्यकारी जिम्मेवारी पूर्ववत् सञ्चालन गर्ने।

(ख) गाउँपालिका

- घोषणा भएका नयाँ गाउँपालिकाहरूमा देहाय मोजिम सङ्गठन कमिटी गठन गर्ने:

-  घोषित गाउँपालिकाको भूगोलभित्र पर्ने साबिकका सबै गाउँ कमिटीका पदाधिकारीहरू (पदेन सदस्य)।

- कुनै गाउँ विकास समिति विभाजित भएर केही वडाहरू मात्रै नयाँ संरचनामा समावेश भएका छन् भने सम्बन्धित वडामा मतदाता नामावली भएका गाउँ कमिटीका पदाधिकारीहरू,

- सम्बन्धित भूगोलमा इलाका कमिटी गठन भएको रहेछ भने त्यस भूगोलमा मतदाता नामावली भएका इलाका कमिटीका पदाधिकारी र सदस्यहरू,

- सम्बन्धित भूगोलमा मतदाता नामावली भएका निर्वाचन क्षेत्रीय कमिटीका पदाधिकारी र सदस्यहरू,

- उक्त भूभागका इञ्चार्ज रहेका जिल्ला कमिटीका वरिष्ठ सदस्यहरूमध्येबाट संयोजक/सहसंयोजक मनोनयन गर्ने। सचिव सम्बन्धित कमिटीले नै निर्वाचन गर्ने।

(ग) वार्ड/टोल

- साबिकका गाउँ कमिटीहरू वार्ड कमिटीमा र वार्ड कमिटीहरू टोल कमिटीमा रूपान्तरित हुनेछन्।

(घ) उपमहानगर/नगरपालिका

- नगरपालिका या उपमहानगरपालिकाको भौगोलिक क्षेत्रमा कुनै थपघट भएको छैन भने त्यहाँ कार्यरत नगर कमिटी/उममहानगर कमिटी यथावत क्रियाशील रहने।

नयाँ घोषणा भएका या भूगोल थपघट भएर बनेका नगरपालिका/उपमहानगरपालिकाका हकमा देहायबमोजिम गर्ने:

- गाउँ विकास समितिहरूलाई समेटेर नयाँ नगरपालिका/उपमहानगरपालिका बनेको ठाउँमा सम्बन्धित गाउँ कमिटीका पदाधिकारीहरू, त्यस नगर/उपमहानगरपालिकाभित्र मतदाता नामावलीमा नाम समावेश भएका निर्वाचन क्षेत्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरू र इलाका कमिटी भएको ठाउँमा त्यसका पदाधिकारी र सदस्यहरू।

- दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्रमा बाँडिएका नगरपालिका/उपमहानगरपालिकाको कामलाई समन्वय गर्न बनाइएका समन्वय कमिटीका सम्बन्धित नगरपालिका/उपमहानगरपालिकामा मतदाता नामावली हुने सदस्यहरू।

- साबिक नगरपालिका/उपमहानगरपालिकामा कुनै गाविस वा गाविसका वार्ड वा नगरपालिका वा त्यसको कुनै वार्ड थप हुन आएको छ भने सम्बन्धित नगर कमिटी/गाउँ कमिटीका पदाधिकारीहरू।

- भूगोल परिवर्तन नभएका उपमहानगर/नगरपालिकाका वार्ड कमिटीहरूले पूर्ववत् जिम्मेवारी सम्हाल्ने। दुई वा दुईभन्दा बढी वडा संयोजन भएर नयाँ वडा बनेको स्थानमा साबिकका वार्ड कमिटीहरूलाई मिलाएर नयाँ वार्ड सङ्गठन कमिटी गठन गर्ने। नयाँ बनेका उपमहानगर/नगरपालिकाका वार्डहरूमा माथिको मापदण्डलाई आधार बनाएर वार्ड सङ्गठन कमिटी गठन गर्ने।

- नयाँ घोषणा भएका उपमहानगरपालिका/नगरपालिकाका हकमा त्यहाँ इञ्चार्जको जिम्मेवारी सम्हाल्दै आएका जिल्ला कमिटी सदस्यहरूमध्ये वरिष्ठलाई संयोजक र सहसंयोजक मनोनयन गर्ने। सचिव सम्बन्धित कमिटीले नै निर्वाचन गर्ने।

स्थानीय तहको पुनर्संरचनासँगै एमालेले जिल्ला कमिटीको बैठक तत्काल बसी उक्त कामहरू १५ चैतभित्र सम्पन्न गर्न निर्देशन दिएबमोजिम पूर्वका सबै क्षेत्रमा कामहरू सम्पन्न भइसकेको एमाले केन्द्रीय सदस्य हिक्मतसिंह कार्कीले बताए।

पुनर्संरचित स्थानीय निकायअनुसारको कमिटीका बैठक तत्काल बसी स्थानीय तह निर्वाचनको तयारीमा सम्पूर्ण रूपमा जुट्न पार्टी केन्द्रले भनेपछि एमाले कार्यकर्ता आफ्नो क्षेत्रमा क्रियाशील भएका छन्।

नयाँ संरचनाअनुरूप नयाँ गाउँपालिका, नगरपालिका र उपमहानगरपालिका संगठन कमिटीको गठनसँगै सबै इलाका कमिटी र नगर/उपमहानगरपालिका समन्वय कमिटीहरू विघटन भइसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.