|

काठमाडौं : आसन्न स्थानीय निर्वाचनका गठित नेकपा एमाले ‘स्थानीय तह निर्वाचन अनुगमन तथा समन्वय समिति’को पहिलो बैठक मंगलबार बसेको छ। संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा बसेको बैठकले (एमाले)को विजयलाई सुनिश्चित गर्ने योजनासहित विभिन्न उपसमिति गठन गरेको छ।

जसअनुसार निर्वाचन आयोग लगायत निकायहरुसँग समन्वय गर्न संसदीय दलका उपनेता सुवास नेम्वाङको संयोजकत्वमा पोलिटब्युरो सदस्यहरु रघुजी पन्त, राजेन्द्र पाण्डे, अग्नी खरेल र भानुभक्त ढकाल रहेको उपसमिति गठन गरेको छ।

यस्तै सुरक्षा निकायलगायत प्रशासनसँग समन्वयका लागि ईश्वर पोखरेलको संयोजकत्वमा सचिव प्रदीप ज्ञवाली र कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ रहेको उपसमिति गठन गरिएको छ। बैठकले प्रचार संयोजनको जिम्मा प्रचार विभाग प्रमुख योगेश भट्टराईलाई दिएको छ।

प्रदेशको जिम्मेवारी बाँडफाँड

यसैगरी प्रदेशमा निर्वाचनको तयारीका काम सम्बन्धमा जानकारी लिन तथा समन्वय गर्न भानुभक्त ढकाल, वंशीधर मिश्र, रघुजी पन्त, बेदुराम भुषाल, रामकुमारी झाँक्री, छविलाल विश्वकर्मा र अग्नी खरेललाई जिम्मा दिइएको छ।

स्थायी कमिटीको निर्णयअनुसार सबै केन्द्रीय सदस्यहरु, केन्द्रीय निकाय, सल्लाहकार परिषद्, केन्द्रीय विभाग, जनसंगठनका केन्द्रीय पदाधिकारी तथा सदस्यहरु एवं सांसदहरुलाई चैत्र मसान्तसम्ममा सम्बन्धित भूगोलमा पुगेर निर्वाचन अभियानमा सहभागी हुन समेत समितिले अनुरोध गरेको सचिवालयका सचिव प्रदिप ज्ञवालीले जानकारी दिए।

सम्पर्क समन्वय कमिटी र मातहत सम्पर्क मञ्चका सबै सदस्यहरुलाई स्थानीय तह निर्वाचनमा सम्पूर्ण रुपमा केन्द्रीत हुन आह्वान गर्दै बैठकले स्थानीय तह निर्वाचन सम्बन्धमा आवश्यक कानुनी जानकारीका लागि सम्बन्धित कानुनहरुको संक्षिप्त जानकारी पुस्तिका प्रकाशन गर्ने र मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ।

प्रदेश संगठन कमिटीका संयोजक र जिल्ला अध्यक्षहरुलाई आफ्नो हस्ताक्षरको नमुना पार्टी केन्द्रीय कार्यालयमा चैत्र २५ गते भित्र उपलब्ध गराउन बैठकले निर्देशित गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.