|

काठमाडौं : स्थानीय तह निर्वाचनको लागि घोषणा पत्र तयार गर्न कांग्रेसले बुधबारबाट शीर्ष नेताकै उपस्थितिमा सुझाव संकलन गर्ने भएको छ।

केन्द्रीय सदस्य महेश आचार्यको संयोजकत्वमा गठीत घोषणा पत्र निर्माण समितिले पार्टीका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलको उपस्थितिमा बुधबार विभिन्न पेशागत बुद्धिजीविसँग छलफल गर्ने कार्यक्रम छ

समितिले बुधबार बिहान ९ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा छलफल कार्यक्रम राखेको पार्टी कार्यालयका सचिव डा. प्रदीप पराजुलीले बताए। समितिले शुक्रबार बिहान भने कांग्रेस केन्द्रीय कार्यसमितिका सबै सदस्य र पार्टीको संसदीय दलका सदस्यहरुसँग संयुक्त छलफल गर्नेछ।

पार्टीले केन्द्रीय सदस्य आचार्यको संयोजकत्वमा ३५ सदस्यीय घोषणा पत्र तयारी समिति गठन गरेको थियो।

पार्टीले गठन गरेको केन्द्रीय निर्वाचन परिचालन समितिले सातवटै प्रदेशमा बृहत आमसभाको आयोजना गर्ने निर्णय गरेको छ। समितिले मंगलबार पार्टीका पूर्व केन्द्रीय सदस्य, पूर्वमन्त्री र पूर्व सांसदसँग र पार्टीका शुभेच्छुक संस्थाका पदाधिकारीसँग परिचालनका विषयमा छलफल गरेको थियो।

समितिले बुधबार पूर्वराजदूत, पूर्वप्रशासक, पूर्व सुरक्षा अधिकारीसँग छलफल गर्ने कार्यतालिका तय भएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए। निर्वाचन परिचालन समितिले चैत २७ गते धनगढी, चैत २८ गते तुलसीपुर, चैत २९ गते रुपन्देही, चैत ३० गते पोखरा र चैत ३१ गते जनकपुरमा आमसभा गरिसकेको छ।

६ नम्बर र ३ नम्बर प्रदेशमा भने कहाँ र कहिले आमसभा गर्ने भन्ने मिति तय भैसकेको छैन। 

६ वटा समन्वय उपसमितिमा मन्त्री मात्रै

कांग्रेस स्थानीय तहको निर्वाचन परिचालनलाई तिव्रता दिन ६ वटा समन्वय उपसमिति गठन भएको छ। ६ वटै उपसमितिको संयोजकमा बहालवाला मन्त्रीहरु छन्।

पार्टीका झण्डै चार दर्जन केन्द्रीय सदस्यले भूमिका नपाइरहेका बेला पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले मन्त्रीहरुलाई नै थप जिम्मेवारी दिएका हुन्।

पार्टी मुख्य सचिव पौडेलका अनुसार आर्थिक स्रोत परिचालन समन्वय उपसमितिको संयोजकमा कोषाध्यक्ष समेत रहेकी शान्ति तथा पुननिर्माण मन्त्री सीतादेवी यादव, प्रचार प्रसार समन्वय उपसमिति संयोजकमा केन्द्रीय सदस्य तथा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखक, सुरक्षा समन्वय उपसमिति संयोजकमा डा. प्रकाशशरण महतलाई जिम्मेवारी दिइएको छ। 

पार्टीले मतदाता शिक्षा तथा सचेतना समन्वय उपसमिति संयोजकमा उद्योग मन्त्री नविन्द्रराज जोशी, निर्वाचन अनुगमन समन्वय उपसमिति संयोजकमा केन्द्रीय सदस्य एवंम् खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाही र निर्वाचन आयोग समन्वय उपसमिति संयोजकमा केन्द्रीय सदस्य तथा रक्षा मन्त्री बालकृष्ण खाँडलाई जिम्मेवारी दिएको छ।

पार्टीले आर्थिक समितिको संयोजकमा भने पूर्वकोषाध्यक्ष चित्रलेखा यादवलाई चयन गरिसकेको छ। आर्थिक समितिको मातहतमा कोषाध्यक्षलाई जिम्मेवारी दिइएको कांग्रेसको इतिहासमा पहिलो पटक हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.