|

जनकपुरधाम : संविधान संशोधन बिना स्थानीय निकायको निर्वाचन हुन नदिने भन्दै विरोधमा उत्रिएका मधेसवादी दलको अवरोधका कारण जनकपुरमा अझै चुनावी चहल- पहल सुरु भएको छैन। देशका धेरैजसो जिल्लाहरुमा सम्भावित उम्मेदवारहरुको खोजी र चर्चा भैरहेको बेला धनुषा जिल्लासहित प्रदेश नम्बर नं. २ का थुप्रै जिल्लामा चुनावी चहल-पहल सुरु भएको छैन।

सरकारले आन्दोलनरत मधेसी दलका जायज माग सम्बोधन गर्न नसकेका कारण धनुषा जिल्लासहित आसपासका क्षेत्रमा चुनावी वातावरण बन्न नसकेको नेपाल पत्रकार महासंघ धनुषाका पूर्व अध्यक्ष अशोक रौनियारको बुझाई छ।

तराइका जिल्लाहरुमा प्रायः चुनावी माहोल शुन्य भएको बताउदै निर्वाचन हुने वा नहुनेमा नै अन्योलता रहेको निर्माण व्यवसायी संघ धनुषाका अध्यक्ष विवेकानन्द मिश्रले बताए। उनले भने,'सदम्भावित उम्मेदवार भए पनि हेर र पर्खको नीतिमा अहिले रहेको छ।'

मतदाता नामावलीलाई अन्तिम रुप दिएका जिल्ला निर्वाचन कार्यालयहरुले स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्रहरुको पुनरावलोकन भने अहिलेसम्म गर्न सकेका छैनन्। जिल्ला निर्वाचन कार्यालयहरुले पनि अहिलेसम्म मतदान केन्द्र यकिन गर्न नसकेको धनुषाका प्रमुख निर्वाचन अधिकृत पुष्पा झा बताउँछिन्।

आन्दोलनरत पक्षको जायज माग सम्बोधन गर्दै चुनावी माहोल बनाउन सरकार र प्रमुख दललाई यहाँका बुद्धिजीवीहरुको सुझाव छ। नेपाली जनताको मंगल कल्याणलाई ध्यानमा राखेर सोच्नुपर्ने तथा जनता सर्वोपरी भएकोले आ–आफ्नो हठ त्यागेर सहमतिको लागि सरकार र आन्दोलनकारी दुवै पक्षले सहमतिको बिन्दु खोज्नुपर्ने साहित्यकार डा. राजेन्द्र विमल बताउँछन्।  उनले भने,' सहमतिको विन्दु नखोजिए सरकार र आन्दोलन पक्ष दुबैको अस्तित्व संकटमा पर्छ।'

प्रमुख राजनीतिक दल लगायत मधेसवादी दलहरु निर्वाचनको पक्षमा खुलेर नलागे पनि आन्तरिक रुपमा उम्मेदवारको खोजी भैरहेको जिल्ला स्तरका नेताहरु बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.