|
गर्भवतीको  मृत्युपछि लुम्बिनी अञ्चल अस्पतालमा तनाव

रुपन्देही : लुम्बिनी अञ्चल अस्पताल बुटवलमा भर्ना भएकी गर्भवती महिलाको मृत्यु भएपछि अस्पतालमा तनाव भएको छ। महिलाका आफन्तहरुले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै दोषिलाई कारबाही र क्षतिपुर्तिको माग गर्दै अस्पताल घेराउ गरेका छन्।

बुटवल–११, न्यु दुर्गानगर निवासी अन्दाजी २७ वर्षीया मिना बुढामगरको सोमबार साँझ साढें ६ बजे अस्पतालमा मृत्यु भएको थियो। सोमबार बिहान ११ बजे अस्पताल आएकी मिनालाई साढे ६ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

मृतक मिनाका श्रीमान् कुल बहादुर बुढाले सामान्य अवस्थामा रहेकी श्रीमतीको अस्पतालमा कार्यरत चिकित्सकहरुको लापरबाहीका कारण मृत्यु भएको बताए।

बेथाले च्याप्दा समेत अस्पतालमा कार्यरत चिकित्सकहरु नआएको र साँझ ६ बजे अन्तिम समयमा मात्र चिकित्सक आएर आईसीयूमा सारेको उनले बताए।

मजदुरी गर्दै आएका बुढाको तीन जनाको परिवार सुकुम्बासी बस्तीमा बस्दै आएका छन् । उनीहरुका १० वर्षिय छोरा समेत छन्। अस्पतालले मृत्यु भएकी श्रीमतीको शव समेत हेर्न नदिएको बुढाले बताए। महिलाका आफन्तहरुले मंगलवार बिहानदेखि अस्पतालमा धर्ना दिएका छन्।

अस्पतालमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। अस्पतालले भने सुत्केरीको रेखदेख हुँदाहुँदै मृत्यु भएको जनाएको छ। अस्पतालका प्रवक्ता लक्ष्मिराज रेग्मीले चिकित्सकको लार्पबाही नभएको दाबी गरे।  मिनालाई अस्पतालमा कार्यरत डा. विष्णु गौतम, डा. शिला क्षेत्री र डा. श्रीधर आचार्यले हेरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.