|
पीडित नरमाया खाती : तस्बिर Nabin Dhakal

  • नमीन ढकाल-

इलाम:  इलाम नगरपालिका–९ (साविक इनपा–५) सुकिलुम्बामा फाल्गुनन्द विमानस्थल निर्माण सुरु हुने कुरोले स्थानीयमा  ठूलै सपना देखाएको थियो। मीठो, गाँस, बास, कपास र रोजगारी अवसर पाउने भएपछि स्थानीयले मुआब्जा लिएर विमानस्थलका लागि जग्गा दिएका थिए। तर, त्यो सपना अहिले पूरा नहुने भएको छ।

चारवर्ष अघि निर्माण सुरु हुँदा विमानस्थलकै पेटीमा घर भएकी नरमाया खातीलाई धेरैले भनेका थिए, ‘अब काम दाम दुवै हुन्छ। तिम्रा दुःखका दिन गए’ त्यो आश्वासनमै सीमित रह्यो।  निर्माणाधीन विमानस्थलनजिकै रहेको कच्ची घरको पेटीमा उभिएर खातीले गुनासो गरिन्, ‘विमानस्थलले न त रोजगार दियो न घरबार बनायो। उल्टै सुकुम्बासी बनायो’ १० रोपनी जमिन भएका उनीको परिवार अहिले एक रोपनीभन्दा कम जमिनमा खुम्चिएका छन्। मुआब्जा पाउने बेलामा टाठाबाठा आफन्तले पैसा लगेपछि साना लालाबालासहित करिब–करिब सुकुम्बासी बनेको आँखाबाट आँसु खसाउन खोज्दै उनले सुनाइन्।

निर्माणाधीन विमानस्थलको पेटीमा घर भएको खाती परिवारका नौ जना सदस्य सानो चिमे घरमा बसेको निकै लामो भयो। वर्षा सुरु भएपछि उनीहरुको बास घरमा हुँदो रहेनछ। खातीले सुनाइन्, ‘जेठदेखि दसंैसम्म अरूकै घरमा बास हुन्छ।’ यस वर्षको दसैं पनि स्थानीय छिमेकी याम निरौलाको घरमा बित्यो।

खातीले सुनाइन् ‘वर्षा लागेपछि राम्रोसँग सुताई हुँदैन एकदमै गाह्रो  छ लालाबाला लिएर छिमेकीकोमा शरण लिन पुग्नुपर्छ।’  “हाम्रो जस्तै विजोक ५÷७ घरको छ।’ गिटी कुटेर गरिखाने नरमाया खातीले जग्गा गुमेपछि धेरैदिन रुँदै हिँडेको अनुभव सुनाइन्।

मुआब्जालिएर विमानस्थलबाट तल घर बनाएकी याङ्गीला शेर्पाको मन पनि पिरोलिएको छ। उनले विमानस्थल अब बन्दैन भन्ने हल्ला सुनेकी छन्। उनले जस्तै गाउँका अरूले पनि यस्तै हल्ला सुनेका छन्। ज–जसले सुनेका छन् उनीहरु निकै निराश देखिन्छन्। शेर्पासहित ८ घर पहिरोको जोखिममा परेका छन्।  उनले सुनाइन्  पीरै पीर छ, पहिरोले घर तान्न लागेको छ। कतिबेला भलसँग बग्ने हो त्रासैत्रास छ’

यो वर्ष पनि भल व्यवस्थापन नगर्ने हो भने घर पूरै बगाउँछ। पहिरोको चपेटामा परेको जग्गा बेच्न खोज्दा पनि कसैले किन्दैन। उनले सुनाइन्, ‘पहिला आशा देखाएर भएको जग्गा विमानस्थल बनाउनका लागि दियौं अहिले मर्ने न बाँच्ने अवस्था बनायो।’ निर्माणधीन एयरपोर्टभन्दा केही तल घर भएकी इन्दिरा तामाङलाई पनि एयरपोर्ट निर्माणको काम सकिएला जस्तो लागेको छैन।

पाँच वर्षमा काम सकिन्छ भनेको सुनेकी उनले चार वर्षमा केही नभएपछि निराश बनेको बताइन्। उनी भन्छिन् ‘वर्षातको समयमा एयरपोर्टको नालीबाट आएको पानीले घरै बगाउला जस्तो गर्छ घरमा बास हुँदैन’ तामाङलाई सुखका दिन आउलान जस्तै लागेका थियो अहिले परिस्थिति प्रतिकूल बन्यो । ‘पहुँच पुग्ने ठाउँमा हारगुहार गरिरहेका छौं, कसैले कुरा सुन्दैन’ उनले भनिन्।

निर्माणधीन विमानस्थलमा भेटिएका स्थानीय सूर्य तामाङ भन्छन्–‘नाली नै नबनाई एयरपोर्टको काम गरेकोले विस्थापितहरुले बनाएको घर पनि एयरपोर्टको भलले बगाउन थालेको छ।’ सदरमुकामबाट पाँच किलोमिटर दक्षिणमा रहेको सुकिलुम्बामा विमानस्थल बनाउन लामो समयसम्मको जग्गा व्यवस्थापनको प्रयास भएको थियो। जग्गा खाली गरेपछि चार वर्ष अघि काम थालिएको हो। चाहिए जति बजेट नआउँदा सबै काम अलपत्र परेको स्थानीय बताउँछन्। एयरपोर्ट बनेपछि कमाइ होला भन्ने सपना बोेकेका स्थानीयको घरखेत निर्माणधीन एयरपोटको भेलले बर्सेनि बगाउने गरेको छ।

पर्याप्त बजेट नहुँदा काम ढिला भयो : नागरिक उड्डन प्राधिकरण

नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थललाई कालोपत्रेसहित सञ्चालनका लागि ४३ करोड बजेट लाग्ने छ। वर्षमा एक करोड मात्र आउने हो भने अब ३५ वर्षमा मात्र विमानस्थलको काम सकिने प्राधिकरणको अनुमान छ। प्राधिकरणका इन्जिनियर पुष्प न्यौपानेका अनुसार डे-नाइज व्यवस्थापनमा १५ करोड, रनवे कालोपत्रेलाई १७ करोड, टर्मिनल भवन लगायतमा ६ करोड हाराहारी बजेट आवश्यक छ। उनले आवश्यक बजेट आएमा काम तीन वर्षमा सम्पन्न हुने बताए। कामै रोकिने हल्ला भने निराधार भएको न्यौपानेले बताए।

अहिले ढल निकासमा भएको समस्या समाधानको लागि ड्रेनाइज व्यवस्थापनको लागि टेन्डर खुलाउन लागेको र यो  काम असारभन्दा अगाडि गरेर ढल निकासको व्यवस्थापन गर्ने उनको भनाइ छ। उनका अनुसार ‘०७४ वैशाख भित्रमा एयरपोर्टमा फ्लाईट टेस्ट ल्यान्डिङ जसरी हुनेछ।’ तर, अहिलेदेखि काम सुरु गर्ने हो भने पनि एयरपोर्टबाट दुई ठाउँमा गएको भलको नाली माईखोलासम्म पुर्‍याउने काम यो वर्षातमा सकिने अवस्था देखिँदैन।

१८ यात्रु अटाउने ट्विनअटर जहाज चल्ने विमानस्थलका लागि आवश्यक तीन सय २६ रोपनी जग्गा जिल्लास्थित सरोकारवाला निकाय र व्यक्तिवाट दुई करोड २६ लाख रकम संकलन गरी स्थानियबाट अधिग्रहण गरिएको थियो। ६० मिटर चौडा र सात सय ६० मिटर लम्बाइ भएको कच्ची धावनमार्ग निर्माण भइरहेको छ। एमाले नेता झलनाथ खनाल प्रधानमन्त्री  हुँदा शिलान्यास गरेको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा नेताहरुको चासो पछिल्लो समयमा घटेको स्थानीयको आरोप छ। शिलान्यासअघि नै यो विमानस्थल बनाउन प्राविधिक रुपमा उपयुक्त नभएको विज्ञहरुले सुझाव दिएका थिए।

उनीहरुले झापाको विमानस्थलनजिक रहेको, सडकको सहज पहुँच भएको कारण देखाउँदै विमानस्थल बनाउन आवश्यक नभएको सुझावसमेत दिएका थिए।  विमानस्थल सञ्चालनमा ल्याउन टमिर्नल टावरका लागि भवन निर्माण, धावन मार्ग कालोपत्रे, नाली निमाण, विमान पार्किङ र कार पार्किङ, भञ्ज्याङदेखि विमानस्थल सम्मको सडक र नाली निर्माण गर्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.