|

  • जङ्ग तामाङ -

पाँचथर : वकपत्रको क्रममा सरकारको कामकाजी भाषा (नेपाली) बोलीचालीमा समस्या हुने वादी वा प्रतिवादीलाई जिल्ला अदालत पाँचथरमा दोभाषेको व्यवस्था गरेको छ। अदालतको काम कारबाहीमा दोभाषेको प्रयोग सम्बन्धी निर्देशिका- २०७२ अनुसार अदालतले दोभाषेको व्यवस्था गरेको हो।

अदालतमा दोभाषेको परिचय–पत्र प्राप्त ८ भाषाका १४ जना दोभाषे छन्। अदालतले आवश्यकता पर्दा उनीहरुलाई प्रयोग गर्दै आएको छ। श्रेष्तेदार टिकेन्द्रवीरजंग राणाले वकपत्रका क्रममा सरकारको कामकाजी भाषा (नेपाली) बोलीचालीमा समस्या हुने वादी वा प्रतिवादीलाई लक्षित गरेर व्यवस्था गरिएका दोभाषेको सेवाले अदालती काम कारबाहीमा सहजता भएको बताए ।

‘आफ्नो मातृभाषा बोल्न जान्ने तर नेपाली भाषा बोल्नै नजान्ने पनि छन्,’ उनले भने, 'नजान्नेहरुलाई आफ्नै मातृभाषाको माध्यमबाट घटनाको सत्यता भन्न सहजता होस् भनेर दोभाषेको व्यवस्था गर्‍यौँ।' अहिले दोभाषेले वादी वा प्रतिवादीले भनेको कुराको अनुवाद गरिदिँदा अत्यन्तै सहज भएको छ।’

दोभाषेहरुले बहु अर्थ नलाग्ने गरी अनुवाद गर्ने गरेका छन्। श्रेष्तेदार राणाले भाषिक कठिनाइकै कारण घटनाको वास्तविकता व्यक्त गर्न नसक्ने अवस्था दोभाषेको प्रयोगले अन्त्य भएको दाबी गरे। अदालतले वकपत्रको क्रममा भाषिक कठिनाई भएको महसुस गरे सम्बन्धित भाषाका दोभाषेलाई तत्काल बोलाउने गरेको छ।

लिम्बु भाषाका लागि निशा लोवा, शारदा आङदेम्बे, चन्द्रकुमार आङदेम्बे, राजन तावा र धनकुमार नेम्वाङ दोभाषे छन्। यस्तै राई भाषाका लागि शान्तिदेवी राई, राजेन्द्र राई, तामाङका लागि दिलकुमारी योञ्जन, मगरका लागि रञ्जना ज्ञाङ्मी मगर, अमृता गुर्मछान मगर, नेवार भाषाका लागि देविका श्रेष्ठ, शेर्पा भाषाका लागि लाक्चुङ शेर्पा, हिन्दी भाषाका लागि निर्भिक लावती र अंग्रेजी भाषाका लागि जीवन भण्डारी दोभाषे छन्।

उनीहरुलाई दोभाषेको सेवा उपलब्ध गराए बापत पारिश्रमिकको पनि व्यवस्था गरिएको अदालतले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.