भित्तो काटेको क्षेत्रमा चेकजाँचपछि मात्रै गाडी पास

|

चितवन : सडक चौडा पार्ने क्रममा रहेको चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा जोखिम क्षेत्र पहिचान गरिने भएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी तथा जिल विपद् व्यवस्थापन समितिका संयोजक नारायण भट्टले विज्ञ तथा इञ्जिनियरहरुको सहभागितामा जाँच गरेर उक्त सडकखण्डमा जोखिम क्षेत्रको पहिचान गर्ने जानकारी दिए। 

उनले विज्ञ इञ्जियनयिहरु र भूगोलविद्हरुको सहभागितामा जोखिम क्षेत्र पहिचान गरी सो क्षेत्रमा आवश्यक सावधानी अपनाउने निर्णय भएको जानकारी दिए। चितवनको कविलास स्थित घुमाउनेमा दुई दिनअघि खसेको सुख्खा पहिरोका कारण २ जनाको ज्यान गएको थियो, भने दुई जना घाईते हुनुका साथै ५ वटा गाडी पुरिएको थियो । 

सो घटनापछि सम्भावित घटना न्युनिकरणका लागि नारायणगढ–मुग्लिन सडक आयोजनालाई विशेष ध्यान दिन र कामलाई तीव्रता दिन निर्देशन दिएको भट्टले जानकारी दिए।

अहिले उक्त आयोजनाले नारायणगढ–मुग्लिन सडकको ३४ किलोमिटरमा सडक चौडा पार्ने काम गरिरहेको छ। निहान १० बजेदेखि ४ बजेसम्म ६ घण्टाको अवधिमा सो क्षेत्रमा भीभीआईपी, भीआईपी र एम्लुलेन्सहरुलाई समेत वैकल्पिक सडक हुँदै पठाउने तयारी गरिएको प्रजिअ भट्टले जानकारी दिए।

जोखिम क्षेत्रमा सौर्य बत्ती जडान गर्ने, आवश्यक ट्राफिक संकेत राख्ने, सचेतनामुलक जानकारीहरु राख्ने र चालकहरुलाई सचेत गराउने जिल्ला समन्वय समिति चितवनका सूचना अधिकारी बलराम लुर्इँटेलले जानकारी दिए। 

घटनालगत्तै आयोजनाका इञ्जिनियरहरुसँग छलफलसमेत भएको र निर्माणलाई तीव्रता दिने र सावधानी अपनाउने विषयमा गम्भीर बन्न स्थानीय प्रशासनले निर्देशन दिएको लुईँटेलले बताए।

आयोजनाका इञ्जिनियर शिव खनालले काम गर्ने प्रविधिको अधिकतम प्रयोग भएको बताउँदै, अझै थप सुरक्षाको उपाय अपनाउने बताए। ‘घुमाउनेमा अकल्पनीय घटना भएको हो, कसैले पहिरो खस्छ भनेकै थिएन,’ उनले भने, ‘अब सम्भावित जोखिम क्षेत्रको थप पहिचान गरेर सावधानिकासाथ काम अघि बढाउँछौं।’

उनकाअनुसार यसअघि जलविरे, कालिखोला क्षेत्र उच्च जोखिम भनेर पहिचान भएको थियो भने केराबारी र गाईघाटलाई पनि जोखिम क्षेत्रमा राखिएको थियो ।

भित्तो काटेपछि चेकजाँच गरेर मात्रै गाडी पास

नारायणगढ–मुग्लिन सडकको पुननिर्माणका क्रममा भित्तो काटिएको क्षेत्रमा रोड सेफ्टी इञ्जिनियरमार्फत चेकजाँच गरेर मात्रै गाडी पठाइने भएको छ । 

इञ्जिनियरहरुले गाडी पठाउन योग्य छ भनेपछि मात्रै स्थानीय प्रशासनसँगको समन्वयमा गाडी पास गराइने प्रजिअ भट्टले जानकारी दिए। अहिले सो सडकको ४÷५ स्थानमा भित्तो काट्ने काम जारी छ। 

सडक चौडा पार्ने क्रममा विभिन्न घुम्ती, मोडमा र साँघुरो सडक क्षेत्रमा भित्तो काट्नै पर्ने आयोजनाले जनाएको छ। सबैभन्दा ठूलो भित्तो काट्नुपर्ने स्थान भने घुमाउने नै हो। सो क्षेत्रमा ठूलो पहरो जोडिएको ढिस्को भएकाले विगत एक वर्षदेखि काम सुरु गरिए पनि सम्पन्न हुन सकेको छैन। 

गएको सोमबार सोही क्षेत्रमा पहिरो खस्दा दुर्घटना भएको थियो। कामको ढिलासुस्ती र असावधानीका कारण जोखिम बढेको यात्रुहरुको छ ।

विश्व बैंकको करिब ३ अर्बको लागतमा एसियाली मापदण्डको सडक निर्माणमा ३ ब्लकमा ६ वटा कम्पनीले यहाँ काम गरिरहेको छ। आगामी वैशाखमा सम्झौताको अवधि सकिने र काम आधा पनि नभएपछि पुनः म्याद थपिइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.