damping side

|

चितवन : जैविक विविधिता र वन्यजन्तुका हिसाबले अति महत्वपूर्ण क्षेत्र मानिएको चितवनको दक्षिणमा पर्ने माडी नगरपालिकाका खोलानाला फोहोर थुपार्ने डम्पिङ साइडको रुपमा परिणत भएका छन्। माडीका विभिन्न बजार क्षेत्रमा कुहिने र नकुहिने सबै खालका फोहरहरु खोलामै फ्याँक्ने गरेकाले खोलाका बगरहरु सबै फोहोर थुपार्र्ने थलो बनेको हो ।

इको नगरपाकिलाको रुपमा विकास गर्ने योजना ल्याइएको नगरपालिकाका दर्जनौ खोलामा जथाभावी फोहोर फाल्दा पनि न त स्थानीयको नै ध्यान पुगेको छ न त नगरपालिकाले नै चासो दिएको छ। माडीका एकजना स्थानीय नारदमणि पौडेल खोलामा जथाभावी फोहर देखिएको स्वीकार गर्छन्। यहाँ फोहोर व्यवस्थापनको कुनै पनि विकल्पसमेत नरहेको भन्दै उनी माडी नगरपालिकाले तत्कालै ध्यानदिनुपर्ने तर्क गर्छन्।

दक्षिणको माडी मुख्यतया चितवन निकुञ्जले घेरिएको नगरपालिका हो। यहाँबाट बग्ने पानी चितवन निकुञ्जको मुख्य वन्यजन्तुको वासस्थान क्षेत्र हुँदै बगेर नारायणीमा पुग्छ। विश्व संरक्षण सूचीमा सूचीकृत चितवन निकुञ्ज, जैविक विविधता र संरक्षक्षित वन्यजन्तुका हिसाबले महत्वपूर्ण रहेको माडीको खोलाहरु दुर्गन्धित र दूषित हुँदा कसैको चासो नपुग्नु विडम्बना छ।

चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्याल प्यास्टिकजन्य फोहोरहरु वन्यजन्तुले खाँदा पाचन प्रणालीमै असर गर्ने बताउँछन्। उनले वातावरणमा समेत असर गर्ने भएकाले तत्कालै यस्ता गतिविधि रोक्नु आवश्यक भएको बताए। सो विषयमा नगरपालिका र मध्यवर्ती क्षेत्रसँग कुरा गर्ने उनले सुनाए।

माडीका खोलामा कपडाका टुक्रा यत्रतत्र छन्। कपाल काटेका रौं, प्लास्टिकका बोतल तथा प्यास्टिकका झोलाहरु, मदिराका बोतल, फुटेका सिसा, बोरालगायत सहरबजारबाट निस्कने सबै फोहोर यत्रतत्र छरिएका छन्।  कतिपय बगरमा बोराका बोरा फोहोर भेटिन्छन् भने कतिपय स्थानमा कुकुरले  छरपस्ट पारेको दृश्य देखिन्छ। कतिपय स्थानमा पानीले यत्रतत्र पु¥याएको अवस्थामा फोहोर छ।

जथाभावी फोहोर देख्दादेख्दै पनि माडी नगरपालिका भने फोहोर व्यवस्थापनको काममा कार्यक्रम गर्न सकेको छैन। माडी नगरपालिकाका कार्यकारी प्रमुख रोमबहादुर महत्त खोलामा जथाभावी फोहर रहेको स्वीकार गर्दै अहिलेसम्म फोहोर व्यवस्थापनको काम हुन नसकेको यथार्थ बताउँछन्। ‘अब इको नगरपालिका बनाउन योजना बन्दैछ, महत्तले भने, घरघरै फोहोर व्यवस्थापनको काम सुरु गर्नेछौं।’

माडीमा मुख्य गरी रिउ नदी छ। यसका सहायक नदीहरुमा मगुई, घाँगर, बाँदरमुढे, डाङग्रे, चितही,लगायत खहरे खोला पर्छन्। सबै खोलाहरु वर्षाका बेला नदी बनेर उर्लने गरेका छन्। माडीका मुख्य बजारहरु वसन्तपुर, बरुवा, किर्तनपुर, देबेन्द्रपुर, कृष्णनगरलगायत छन्।

ती बजारका सबै प्रकारका फोहोरहरु खोलामा फ्याँकिएको छ। खोलाका बीच बगर र छेउछाउमा अहिले बोराका बोरा फोहोर छ। खुला रुपमा समेत फोहर यत्रतत्र देखिन्छ।वर्षातमा सबै फोहोर बगेर चितवन निकुञ्जभित्र पुग्छ। निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तुहरुले प्यास्टिकजन्य फोहोर खाए भने भित्र नपचेर मर्ने सम्भावना हुने संरक्षणकर्मीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.