|

दाङ : दाङका लक्षित समुदायका लागि विनियोजन गरिएको रकम चालु आर्थिक वर्षको हालको अवधिसम्म आधा मात्र खर्च भएको छ। 

झण्डै पौने दुई करोड रुपैयाँमध्ये आधा रकम मात्र खर्च भएको जिल्ला समन्वय समिति दाङले जनाएको छ। यस जिल्लामा विनियोजित कुल एक करोड ७२ लाख ७५ हजार ४८५ रुपैयाँमध्ये करिव ५० प्रतिशत मात्र बजेट खर्च भएको समाज विकास अधिकृत बालकृष्ण खनालले बताए।

लक्षित समुदायतर्फको महिला लक्षित कार्यक्रमका लागि करिव ४२ लाख ९४ हजार, बालबालिकातर्फ ६४ लाख ४१ हजार, दलित लक्षित समुदायको ११ लाख ५९ हजार, आदिवासी जनजातितर्फ २३ लाख १८ हजार, अपाङ्गतर्फ १२ लाख ८८ हजार, पिछडा वर्गतर्फ ११ लाख ५९ हजार र जेष्ठ नागरिकतर्फ छ लाख रुपैयाँ बराबरको योजना तथा कार्यक्रम तात्कालीन जिल्ला विकास समिति दाङले विनियोजन गरेको थियो। 

आर्थिक वर्षको अन्तिम चौमासिक अर्थात यो अवधिमा लक्षित समुदायको कार्यक्रम सञ्चालनका लागि बजेट माग हुने र योजना तथा कार्यक्रम जारी हुनुपर्ने हो, तर यसपटक भने आधा मात्र खर्च हुनसकेको उनले बताए। यसपटक स्थानीय तहको निर्धारण भएपछि कर्मचारी व्यवस्थापन र केन्द्र निर्धारणका विषयमा सबैको ध्यान केन्द्रित भएका कारण पनि योजना तथा कार्यक्रमप्रति ध्यान नगएको हुनसक्ने अधिकृत खनालले बताए।

उनले अब प्रत्येक स्थानीय तहमा गठन गरिएका लक्षित समुदायका समितिहरूमा सम्पर्क गरेर योजना तथा कार्यक्रम सञ्चालन गर्नुको विकल्प नरहेको पनि प्रस्ट पारे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.