|

झापा : २७ लाख भन्दा बढी जनसंख्याले उपचार पाउनुपर्ने मेची अञ्चल अस्पतालमा मंगलबार दिउँसो १२ बजे पुग्दा अस्पताल सुनसानप्राय: देखिन्थ्यो।

स्वास्थ्य मन्त्रालयले ओपिडी सेवाको समय बिस्तार गरेर बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म बनाएको छ। दिउँसो १२ बजे मेची अत्र्चल अस्पताल पुग्दा वार्डमा बिरामीको उपचार भइरहेको थियो भने ओपिडी सेवा बन्द भइसकेको थियो।

एक सय ५० वेडको अञ्चल अस्पताल पुग्दा अस्पताल शून्य नै देखिन्थो। केही बिरामीका आफन्तहरू निराश जस्तै देखिन्थे।

एक जना मेडिकल अफिसर, केही नर्सिङ स्टाफ र केही प्रशासनिक कर्मचारी मात्र भेटिएका थिए अस्पतालमा। टिकट काउन्टरका एक कर्मचारीले भने, ‘बाह्र बजेपछि प्राय: बिरामीहरू आउँदैन्, डाक्टर साहेबहरू पनि प्राय: १२ बजेपछि बस्नुहुन्न। त्यसैले १२ बजेपछि टिकट काउन्टर बन्द हुन्छ।'

 करिब  आधा घन्टासम्म अस्पतालको सबै क्षेत्र घुम्दा पनि अस्पतालमा एक जना डाक्टर नभेटिएपछि प्रशाशनका एक कर्मचारीले नाम नबताउने सर्तमा भने, 'अस्पतालकै मेडिकल सुपरिटेण्डेण्ट (मेसु) त १२ बजेपछि यहाँ बस्नुहुन्न। उहाँको विर्तामोडमा रहेको आफ्नै क्लिनिकमा जानुहुन्छ। अरु डाक्टरहरू झन् के बस्नु।'मेसुको आफ्नै क्लिनिक, अस्पताल छेउमा अन्य डाक्टरहरूको आ- आफ्नै क्लिनिक

२ नबज्दै अस्पतालबाट डाक्टरहरू बाहिर निस्किए पनि अस्पताल छेउमा उनीहरू व्यस्त हुने अस्पतालको प्रांगणबाहिर लस्करै झुण्ड्याएर राखिएका उनीहरूका प्राइभेट साइनबोर्ड देख्नासाथ थाहा हुन्थो। एकजना कर्मचारीले नाम गोप्य राख्न आग्रह गर्दै भने, ‘डा. साबको त विर्तामोडमा आफ्नै क्लिनिक छ, जुन विर्तामोडको चर्चित क्लिनिक हो।' उनले ती डाक्टर प्राय: १२ बजेपछि उतै जाने बताए।

अस्पतालका मेडिकल सुपरिडेण्डेण्ट जनरल फिजिसियन डा. पिताम्बर ठाकुर २ बज्नासाथ विर्तामोड पुग्दा रहेछन्। त्यसो त उनी अस्पतालकै बाहिर रहेको क्लिनिकमा पनि काम गर्छन्। उनको नाम झुण्ड्याएर अस्पताल बाहिरै बिरामी रोकिन्छन्। त्यस्तै, अर्का बालरोग विशेषज्ञ डा. टंकप्रसाद बाराकोटीको पनि आफ्नै क्लिनिक छ, अस्पतालको गेटैमा।

अस्पतालबाहिर मेची अस्पतालका डाक्टर भन्ने नामै लेखिएको साइनबोर्ड राखी रेडियोलोजिष्ट जुनकुमार श्रेष्ठ, सञ्जयकुमार गुप्ता, स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. दिलीपकुमार साह सबैका आआफ्नै क्लिनिक छन्। अझै अर्का फिजिसियन डा. गोविन्द कँडेलले त अस्पताल गेटकै सामुन्ने आफ्नो क्लिनिक राखेका छन्।ऐनेस्थेसिया डाक्टरको अभावमा अप्रेसन हुँदैन

अस्पतालभित्र २ बज्दा नबज्दै एक्सरे, भिडियो एक्सरे, इसिजी, अल्ट्रासाउण्ड जस्ता सबै सामान्य सेवा बन्द भैसकेका थिए।

 मेची अञ्चल अस्पतालमा स्वीकृत दरबन्दीअनुसार २६ जना डाक्टर हुनुपर्नेमा  जम्मा नौ जना डाक्टर मात्र उपलब्ध छन्। १०३ जनाको दरबन्दी रहेको सो अस्पतालमा जम्मा ५८ जना मात्र कर्मचारी रहेका छन्।

 केन्द्रसँग पटक पटक माग गर्दा पनि चिकित्सक व्यवस्था नभएको प्रशासनका कर्मचारीको भनाइ छ। अस्पतालमा अतिआवश्यक एनेस्थेसियाको डाक्टर नहुँदा कुनै पनि मेजर अप्रेसन हुन नसकेको कर्मचारी बताउँछन्। 'यसले गर्दा मेजर अप्रेसन गर्नुपर्ने बिरामीलाई सधैँ निजी क्लिनिकमा रिफर गर्नुपर्ने बाध्यता छ', एक कर्मचारी भन्छन्। अस्पतालको आफ्नै फार्मेसी भए पनि प्राय: ‍औषधीहरूको अभावकै कारण बिरामीहरू बाहिरै औषधी किन्न बाध्य हुने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.