|

  • गोविन्द महतो-

जनकपुरधामः हिन्दुहरुको मानवरुपी भगवान् मर्यादा पुरुषोत्तम श्री रामको जन्मोत्सव अर्थात् राम नवमी जनकपुरमा विशेष पूजा गरी मनाइएको छ। जनकपुरस्थित राम मन्दिर, जानकी मन्दिर तथा राजदेवी मन्दिरसहित अन्य ठाउँमा पूजा गर्ने श्रद्धालुहरुको बुधबार बिहानैदेखि घुइँचो लागेको थियो।

रामनवमीका दिन गंगासागरमा स्नान गरी राम र जानकी मन्दिरमा पूजा गर्नाले मनोवाच्छित फल प्राप्त हुने जनविश्वासका साथ श्रद्धालुहरु पूजा गर्ने गर्दछन्।रामनवमीका लागि नेपाल र भारतबाट दुई सयभन्दा बढी साधुहरु जनकपुर आएको गुठी संस्थान जनकपुरले जनाएको छ।

रामनवमीलाई लिएर राम र जानकी मन्दिरलाई विशेष रुपले सजाइएको छ भने, एक साता अघिदेखि नै दुवै मन्दिरमा बधाई गान सहितका कार्यक्रमहरु भइरहेको जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले बताए। राम मन्दिरका महन्थ राम गिरीले रामको ससुराली भएका कारण पनि जनकपुरमा रामनवमी विशेष उत्सवका साथ मनाइने गरेको जानकारी दिए। रामनवमी पर्वको केही दिन मात्रै बाँकी रहेको बेलादेखि जनकपुरको राम मन्दिर, जानकी मन्दिर लगायतमा श्रद्धालुहरुको घुंइँचो अत्यधिक बढेको थियो।

असत्यमाथि सत्यको विजय भएको सम्झनामा चैत्र शुक्ल नवमीका दिन श्रीरामलाई सम्झना गर्दै राम नवमी पर्व मनाइने गरिन्छ। राम मन्दिरको महन्थ राम गिरी राम नवमी पर्व नजिकिएसँगै प्रत्येक वर्ष दर्शनार्थी तथा साधुसन्तको आवागमनमा वृद्धि हुने गरेको बताउँछन् ।

राम नवमीको दिन जनकपुरको राम मन्दिरका साथै जानकी मन्दिर, जनक मन्दिर, लक्ष्मण मन्दिर, विवाह मण्डप लगायतमा श्रद्धालुहरुको विशेष घुइँचो लाग्ने गर्दछ। बिहानै गंगासागर, धनुषसागर, अंगराजसर, दशरथ तलाउ लगायतका सरोवरहरुमा स्नान गरेर भजन, कीर्तनसहित भक्तिभाव तथा पूजा पाठ गर्ने परम्परा रहेको छ। रामनवमी पर्वलाई लिएर राम मन्दिर र जानकी मन्दिरलाई सरसफाइ गरी सजाइएको छ। त्रेता युगमा राम नवमीका दिन अयोध्यामा श्रीरामको जन्म भएको कुरा विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.