|

काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा नजिकिदैं गर्दा चुनावी चहल-पहल बढेको छ। चैत २८ र २९ गते हुने ५१ औं साधारणसभाका लागि २ प्यानल खडा गरेर उम्मेदवारहरु मैदानमा उत्रिएका छन्।

महासंघको ६३ सदस्यीय कार्यसमिति साधारणसभाबाट चयन हुने प्रावधान छ। त्यसका लागि अहिले ११४ जनाको उम्मेदवारी परेको छ। जसमध्ये एक उपाध्यक्षसहित ४ सदस्य भने सर्वसम्मत भएका छन्। अन्य पदका लागि भने उम्मेदवारहरुको दौडधुप बढेको छ। मतदातालाई रिझाउने र भोट बढाउने प्रयासमा उनीहरु लागेका छन्।

महासंघमा सदस्यको उम्मेदवार बन्नका लागि ५० हजार तिर्नुपर्ने हुन्छ। मतदाता बन्नका लागि पनि ८/१० हजार रुपैयाँ पैसा खर्चनुपर्ने हुन्छ। तर, यति हुँदा हुँदै पनि महासंघको  सदस्य पदको लागि समेत किन यतिधेरै प्रतिस्पर्धी? महासंघमा किन आउन चाहन्छन् उद्यमीहरु?  यहाँ आएर के काम गर्ने उनीहरुको लक्ष्य हो?

यस विषयमा थाहाखबरले २ युवा उद्यमीसँग कुराकानी गरेको छ। यी उद्यमीहरु अहिले महासंघको चुनावमा होमिएका छन्।

प्रवलजंग पाण्डे

नेपाल उद्योग वाणिज्य महासंघ सम्पूर्ण उद्योगी तथा व्यवसायीको साझा संस्था हो। सदस्य हुँदै महासंघको नेतृत्वमा पुग्ने लक्ष्य धेरै उद्योगी व्यवसायीको हुन्छ। मेरो सवालमा कुरा गर्ने हो भने मेरो परिवार नै चेम्बर आन्दोलनमा होमिएको छ। यस संस्थाको महत्व मैले बुझेको छु र यहाँ पुग्नु मेरो चाहना हो।

वास्तवमा भन्ने हो भने नेपाल उद्योग वाणिज्य महासंघ  व्यवसायीको हक हित र देशको समृद्धिका लागि पहल गर्ने संस्था हो। हाम्रो धेरै क्षेत्रमा उद्योग छ। बैंकिङ, औषधि, सिमेन्ट, अटो लगायतका क्षेत्रमा हाम्रो उद्योग रहेको कारण पनि यो क्षेत्रका समस्या मैले बुझेको छु। व्यवसायीका समस्या संवादबाट समधान गर्न मैले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको छु। यो महासंघमा अपनत्व लिने प्रक्रिया पनि हो।

आकाश अधिकारी

नेपाल उद्योग वाणिज्य वाणिज्य महासंघ हाम्रो छाता संगठन हो। त्यसैले वस्तुगत तर्फबाट मैले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएको छु।  

छाता संगठन भएको कारण पनि यो प्लेटफर्म हामीले प्रयोग गर्नुपर्छ भन्ने मलाई लाग्छ। यो समग्र उद्योगी व्यवसायीलाई चाहिने क्षमता अभिवृद्धि गर्ने थलो हो। महासंघको प्लेटफर्म प्रयोग गरेर राखिएका कुरा सरकारले पनि चासोको साथ लिन्छ।

मैले चलचित्र उद्योगको प्रर्वद्धन र विकासलाई प्राथमिकता राखेर काम गर्नको लागि यहाँ जान खोजेको हुँ। अर्बौको लगानी भएको चलचित्र क्षेत्रलाई अहिले पनि सरकारले सेवाक्षेत्रको रुपमा परिभाषित गरेको छ। यसलाई उद्योगको रुपमा परिभाषित गर्ने मेरो लक्ष्य हो।

त्यस्तै, हाम्रो दुतावास भएका ८६ भन्दा बढी देशमा संस्कृति प्रवर्द्धनको लागी भन्दै बजेट छुट्याइएको छ। तर, त्यो बजेट खर्च हुन सकेको छैन। यो बजेट खर्च गरेर कल्चरल विकासको लागि फिल्म निर्माण गर्ने मेरो अर्को लक्ष्य छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.