|

सुर्खेत : प्रदेश नम्बर ६ को सम्भावित राजधानीको रुपमा रहेको सुर्खेतमा पछिल्लो समय अत्याधुनिक सेवासहितका होटेलहरु सञ्चालनमा आउन थालेका छन्। कर्णालीका पर्यटकिय क्षेत्रहरुको प्रचारप्रसार बढ्दै गएपछि विभिन्न पर्यटकिय स्थलको अवलोकनका लागि सुर्खेत हुँदै कर्णाली जाने पर्यटकको संख्या बढ्दो छ। पर्यटकको त्यही संख्यालाई मध्यनजर गर्दै सुर्खेतमा व्यवसायीहरुले होटल खोल्ने क्रम बढेको छ।

यसैबीच २७ करोडको लगानीमा निर्माण भएको शुभ होटलले सुर्खेतको वीरेन्द्रनगरबाट बुधबारदेखि औपचारीक रुपमा सेवा सुरु गरेको छ। निर्माण सुरु भएको करिब ३ वर्षको अवधिमा सुर्खेतको वीरेन्द्रनगरमा अत्याधुनिक र सुविधासम्पन्न सेवा र सुविधाका साथ शुभ होटलले रामनवमीको अवसर पारेर सेवा शुभारम्भ गरेको हो।

२७ करोडको लगानीमा निर्माण भएको सो होटलको सेवासुविधा तथा पूर्वाधारहरु थ्रीस्टार स्तरको रहेको होटलका महाप्रवन्धक पुष्पराज भट्टले जानकारी दिए। खासगरी मुगुको रारा र मानसरोवर जाने पर्यटकलाई होटलले आफ्ना लक्षित ग्राहक मानेको छ।

ग्राहकको चाहना र माग अनुसारको सेवासुविधाहरु होटलले प्रदान गर्ने महाप्रवन्धक भट्टले जानकारी दिए। ४ तलाको शुभ होटेल २२ कठ्ठा क्षेत्रफलमा फैलिएको छ। शुभ होटेललाई सुर्खेतको मात्रै नभई ६ नम्बर प्रदेशकै उत्कृष्ट सेवासुविधा सहितको होटल बनाउने दाबी महाप्रवन्धक भट्टको छ।

होटेलमा क्षेत्रीय उद्योग वाणिज्य संघ मध्यपश्चिमाञ्चलका अध्यक्ष पदमबहादुर शाहीसहित सुर्खेत उधोग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश उप्रेती र उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य टेकबहादुर भण्डारीको संयुक्त लगानी रहेको छ।  होटलमा ६० वटा डिलक्स कोठासहित, रेष्टुरेन्ट बार, सेमिनार हल, पार्किङ, विवाह मण्डप, पार्लर, लिफ्ट लगायतका सुविधा रहेका छन्।

भूकम्प प्रतिरोधी र अपांगमैत्री संरचनामा बनेको शुभ होटलमा अहिले ६० जनाले प्रत्यक्ष रोजगारी पाईरहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.