|

जनकपुरधाम : आर्थिक, सामाजिक र शैक्षिक विकासका दृष्टिले पछि परेका समुदायको उत्थानका लागि सरकारले बर्सेनि ठूलो धनराशि खर्च गर्दै आए पनि मध्य तराईका विपन्न वर्गले यसको लाभ लिन सकेका छैनन्। शिक्षा र स्वास्थ्य, खानेपानी जस्तो न्युनतम आधारभूत सेवामा समेत विपन्न वर्गको पहँुचमा सुधार आएको छैन।

धनुषा जिल्लाको धनुषाधाम नगरपालिका गोविन्दपुरका २५ वर्षीय लक्ष्मण सदा र उनकी श्रीमती शारीरिक रुपमा अशक्त छन्। पोलियो रोग लागेर खुट्टा कामै नलाग्ने अवस्थामा पुगेका दुवै जनाको पालन पोषण लक्ष्मणकी आमाले मजदुरी गरेर गर्दै आएका छन्। तर, सरकारी सुविधाको नाममा यी दम्पतीले अहिलेसम्म केही पनि पाउन नसकेको धनुषा गोविन्दपुरका अशक्त लक्ष्मण सदा बताउँछन्। उनी भन्छन्, ‘राज्यले विपन्न वर्गका लागि विभिन्न सेवा सुविधा दिएको छ भन्ने सुनिन्छ तर, आफूलाई अहिलेसम्म सरकारले केही राहत दिएको हैन।’

१४ वर्ष अगाडि नेपाल रेडक्रस सोसाइटी धनुषाले ३४ लाख रुपैयाँको लागतमा निर्माण गरिदिएको रेडक्रस भवनमा लक्ष्मण सदाजस्तै हाल विपन्न वर्गका ३५ घरपरिवार बस्दै आएको नेपाल रेडक्रस सोसाइटीका सभापति नरेशप्रसाद सिंह बताउँछन्।

यस भवनमा प्रत्येक घरपरिवारलाई शौचालयको व्यवस्था मिलाइए पनि अधिकांश शौचालय प्रयोगविहीन रहेका छन्। जनचेतनाको अभावमा चर्पी भएर पनि विपन्न समुदायका व्यक्तिहरु खुला स्थानमा शौच गर्दै आएका छन् भने, अर्को कारण पानी नआउने समस्या समेत रहेको धनुषा गोविन्दपुरकै झगरु मण्डल बताउँछन्। युएनको गत वर्षको एक अध्ययनअनुसार धनुषाको कुल जनसंख्याको १८ प्रतिशतभन्दा बढी गरिबीको रेखामुनि रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.