|

  • नारायण ढुंगाना -

चितवन : स्थानीय निकायको निर्वाचनलाई ध्यानमा राखेर हतियार बुझाउन दिएको निर्देशनअनुसार विभिन्न क्षेत्रबाट आजसम्म प्रहरीमा २० वटा हतियार आइपुगेको छ। चितवनका प्रहरी उपरीक्षक दिपक थापाकाअनुसार एउटा भरुवा बन्दुक र अन्य १९ वटा विभिन्न प्रकृतिका हतियार सम्बन्धित व्यक्तिहरुले प्रहरीलाई बुझाएका छन्। भरुवा बन्दुकबाहेक अरु सबै इजाजत प्राप्त हतियार रहेको थापाले जानकारी दिए।

प्रहरीले इजाजत लिएका र नलिइएका सबै हातहतियार र विष्फोटक पदार्थ बुझाउन निर्देशन दिएको थियो। कानुन बमोजिम अनुमति प्राप्त गरेका र अवैधरुपमा लुकाई छिपाइ राखेका हातहतियार, विष्फोटक पदार्थ बुझाउन निर्देशन दिए पनि अहिलेसम्म नगन्य मात्रै हतियार आइपुगेका छन्। हतियार बुझाउने म्याद वैशाख १५ गतेसम्म थपिएकाले त्यसपछि भने घरघरै गएर खानतलासी हुने उनको भनाइ छ।

‘यस्ता हातहतियार र विष्फोटक पदार्थ जिल्ला प्रशासन कार्यालय चितवन वा नजिकको प्रहरी कार्यालयमा अनिवार्य रुपमा बुझाउन हुन सम्बन्धित महानुभावहरुमा यो सूचना जारी गरिएको छ,’ प्रहरीले जारी गरेको सूचनामा भनिएको छ।’ तोकिएको समयसिमाभित्र नबुझाइ लुकाइछिपाइ राखेमा हातहतियार र विष्फोटक पदार्थ नियन्त्रण गर्ने विशेष योजनाअन्तर्गत गठन भएको विशेष संयुक्त सुरक्षा टोलीबाट कानूनअनुसार कडा कारबाही हुने चेतावनी प्रहरीको छ।

सीमा नाकामा कडाइ

जिल्ला प्रहरी कार्यालय चितवनले साना हतियारहरु सीमा नाका हुँदै भित्रिन सक्ने भन्दै निगरानी बढाएको छ। प्रहरी परिचालन गरेर सिमाबाट आउने गाडी तथा मोटरसाइकल चेकजाँच र खानतलासीमा कडाइ गरिएको प्रहरी उपरिक्षक दीपक थापाले जानकरी दिए।

‘बोर्डर टाइट पारेका छौँ,’ थापाले भने, ‘आवश्यक सूचनाहरु लिने र सर्च गर्नै अभियान थालिएको छ।’ उनले सादा पोसकमा समेत प्रहरीहरु परिचालन गरिएको जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.