भूकम्पपछि १ सय २९ कैदीबन्दी स्थानान्तरण

|

  • रमेश पराजुली-

सिन्धुपाल्चोक :  भूकम्पपछि जिल्लामा न जेलघर बनेको छ, न त कारागारमा कैदीबन्दीका विवरण नै छ। भूकम्पले भवन भत्काएपछि भागेका कैदीबन्दी २ वर्ष हुनै लाग्दा पनि सम्पर्कमा आएका छैनन्। उच्च अदालत पाटनबाट कारागार र अदालत निरीक्षण गर्दा जिल्ला कारागारले कैदीबन्दीको विवरण नै दिन सकेन।

उच्च अदालत पाटनका न्यायाधीश युवराज सुवेदीले दुवै कार्यालयको निरीक्षणपछि तत्काल कैदी बन्दीको लगत जम्मा गर्नुपर्ने, कारागार भवन बनाउन तदारुकता देखाउनुपर्ने लगायत प्रतिवेदन बुझाएको छ। जिल्ला कारागारअन्तर्गत रहेको ३ सय अट्ने दुईवटा जेलघरलाई भूकम्पले क्षतविक्षत पारेको थियो। भूकम्प गएको वर्षदिनपछि कारागारको प्रिफ्याब बनेको थियो। तर, कैदीबन्दीलाई राख्ने जेलघर अझैसम्म बन्न सकेको छैन।

जिल्ला अदालतबाट करार गरिएका अभियुक्त र पुर्पक्षका लागि जेल सजाय तोकिएका कैदीबन्दीलाई अन्यत्र लैजाने गरिएको छ। जिल्लामा अहिले एकजना कैदी बस्ने ठाउँ पनि नभएको जिल्ला कारागारका सूचना अधिकारी टीका दाहालले जानकारी दिए।

दाहालका अनुसार भूकम्पपछि विभिन्न मुद्दामा अभियुक्त प्रमाणित भएका र पुर्पक्षका लागि जेल तोकिएका कैदीबन्दीलाई रामेछाप, धुलिखेल र डिल्लीबजार लैजाने गरिएको छ। ‘जेलघर नुहँदा समयको बर्बाद भएको र राज्यलाई थप आर्थिक भार बढेको छ’ दाहालले भने, ‘भूकम्पपछि एकसय २९ कैदीबन्दीलाई स्थानान्तरण गरिएको छ। जेलघर बनाउन तत्काल आवश्यक देखिन्छ।’ उनले जेलघर नहुँदा कैदीबन्दी राख्न समस्या भएको साथै यसले राज्यलाई आर्थिक भार बढाएको प्रस्ट पारे।

जिल्लाको लागि अत्यावश्यक जेलघर नबन्दा कैदीबन्दीलाई स्थान्तरण गर्न अनेक समस्या व्योहोरिरहनु परेको छ। कैदीबन्दीलाई स्थानान्तरण गरेर सुनसरी, भिमफेदी र अन्य जेलकेन्द्रमा पु¥याउन खतरा मोल्नुपर्ने र राज्यलाई आर्थिक भार बढिरहेको छ। जेलघर छिटो निर्माण गर्न जिल्लाका सम्बन्धित कार्यालयले राज्यको उपल्लो निकायलाई अनुरोध गरेको सूचना अधिकारी दाहालले जनाएपनि हालसम्म केही कदम चालिएको छैन्। ल्याइएका कैदीबन्दी राख्न जेलघर नहुँदा जटिल समस्या थपिएको छ। जेलघर बन्न नसक्दा अपराधीलाई प्रोत्साहन मिलेको जस्तो भएको सदरमुकामबासीको गुनासो छ।

जिल्ला प्रहरीको तथ्यांकअनुसार जेलघरमा २ सय १६ अभियुक्त रहेका थिए। भूकम्पलगत्तै कारगार भत्किएपछि फरार भएका थिए। अहिले फरार एकसय पाँच अभियुक्तलाई आफै आउन खबरपत्र पठाएको जिल्ला प्रहरी प्रमुख एसपी रविन्द्र केसी बताउँछन्। ‘भूकम्पले जेलघर भत्काएपछि अभियुक्त तत्काल फरार भएका थिए’ केसीले भने ‘दुईसय पा“चमा ९ जना आफै सम्पर्कमा आएका थिए।’

उनले जेलघर पुनर्निर्माणको लागि माथिल्लो निकायबाट पहल भइरहेको जनाए। न्यायाधीश सुवेदीले बुझाएको प्रतिवेदनमा सरोकारवाला सबै निकायस“ग समन्वय गरी तत्काल भवन बनाउन र छरिएर रहेका कैदी बन्दीलाई जिल्लामै एकिकृत गराउनसमेत भनिएको छ।

१ सय ५ कैदी अझै फरार

भूकम्पले जेलघर भत्केपछि भागेका २ सय १६ कैदीबन्दीमध्ये एकसय ११ लाई मात्रै प्रहरीले पक्रन सफल भएको छ। बाँकी एकसय पाँच अझै फरार रहेको र तिनको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ। सुन र आखेटोपहार तस्करीमा संलग्न ११ चिनिया नागरिक, तस्करी काण्डमै संलग्न दुई भारतीय र ९२ नेपालीको नाम फरार सूचीमा छ।

भूकम्पपछि जेलबाट भागेका दुई पाकिस्तानी नागरिकलाई प्रहरीले पुनः पक्रेको थियो। ०७२ बैशाख १२ को भूकम्पले जेलघर भत्काउनेबित्तिकै भागेका २ सय १६ कैदीमा अहिलेसम्म एकसय एघार मात्रै समातिएका छन्। कैदीहरु पनि मकवानपूर, काभ्रे, रामेछाप लगायतका जेलघरमा लगिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.