|

इलाम :  एक वर्षअघि टाउकोमा गम्भीर चोट लागेपछि इलाम वरबोटे- ७ का ५१ वर्षीय गोविन्द भण्डारीले सिलगुढी गएर उपचार गराए। खेतिपाती गरेर जीविकोपार्जन गर्दै आएका भण्डारी टाउकोको थप उपचारका लागि अहिले पनि समय-समयमा अस्पताल जान्छन्। जिल्ला अस्पतालमा आफ्नो उपचार नहुने भएका कारण उनी टाउको दुखेपछि जिल्लाबाहिरको अस्पताल जान बाध्य थिए। उपचारमा भन्दा आवत-जावतमा धेरै खर्च हुन्थ्यो, उनको। 

गत असारमा स्वास्थ्य बिमा गराएपछि उनले केही राहत महसुस गरेका छन्। २५ सय रुपैयाँ तितेर स्वास्थ्य बिमा गराएका भण्डारीले भदौदेखि बिमाबापत प्राप्त रकमबाटै उपचार गराउँदै आएका छन्। 

झापास्थित बीएनसी अस्पतालमा उपचार गराउँदै  गरेका उनले  भने 'केही वर्षअघि लडेर टाउकोमा गम्भीर चोट लागेको थियो, त्यसबेलादेखि मेरो टाउको दुखिरहन्छ। बेलाबेलामा अस्पताल अाइरहनुपर्छ। तर स्वास्थ्य बिमा गराए पछि धेरै सजिलो भएको छ,' उनले थपे,'सधै भनेको बेलामा पैसा हुँदैन थियो। तर वर्षमा २५ सय तिरेर बिमा गराएपछि ५० हजार सम्मको निशुल्क उपचार पाइँदो रहेछ।' 

सूर्योदय नगरपालिका फिक्कलकी ४६ वर्षीया दिव्या तिमिल्सिनाले पनि गत असारमै बिमा गराइन्। २५ सय तिरेर स्वास्थ्य बिमा गराएपछि वार्षिक ५० हजारसम्मको उपचार सेवा पाइन्छ भनेर गाउँमा बिमकहरूले भन्दा उनलाई पत्यार लागको थिएन। 'सुरुमा त विश्वासै लागेको थिएन। बिमा गराएको २ महिनापछि एक्कासी बिरामी भएर जिल्ला अस्पताल पुगेँ। त्यहाँ बिमा कार्ड देखाएपछि मेरो सम्पूर्ण उपचार नि:शुल्क भयो,' उनले भनिन्। 

गोविन्द र दिव्या  प्रतिनिधि पात्रमात्र हुन्। उनीहरूले झैं इलामका धेरैले स्वास्थ्य बिमा गराएर उपचार सेवा लिइरहेको सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति इलामका प्रमुख हार्दिक सापकोटा बताउँछन्। गत असारदेखि सञ्चालन गरिएको स्वास्थ्य बिमा कार्यक्रममार्फत हालसम्म इलामका ९ हजार ७ सय २८ जनाले सेवा लिइसकेको उनले बताए।

'इलाममा गत असार १५ गते देखि सञ्चालन भएको सामाजिक सुरक्षा अन्तर्गत स्वास्थ्य बिमा कार्यक्रममा हालसम्म इलाममा ९ हजार ७ सय २८ जनाले सेवा लिइ सकेका छन्', सापकाेटाले भने। 

इलाममा स्वास्थ्य बिमा गराएकाहरूले जिल्लाको पशुपतिनगर, फिक्कल, प्याङ र मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्र, र जिल्ला अस्पतालमा उपचार सेवा पाउने गरेका छन्।  जिल्ला अस्पतालमा उपलब्ध सेवा नभएको खण्डमा झापाको  भद्रपुरस्थित मेची अञ्चल अस्पताल र बिर्तामोडस्थित बीएनसी अस्पतालमा सेवा पाउने व्यवस्था गरिएको छ।

हालसम्म स्वास्थ्य बिमाअन्तर्गत बिर्तामोडस्थित बीएनसी अस्पतालमा ५ सय ३ जना, मेची अञ्चल आँखा अस्पतालमा २ जना र मेची अञ्चल अस्पतालमा ३५ जनाले उपचार सेवा पाइसकेका छन्। ३ वटा नगरपालिका र ४२ वटा गाउँपालिकासहित २ लाख ५० हजार जनसंख्या रहेको इलाममा ५२ जना बिमकहरुले घर-घरमा गएर बिमा गराएको प्रमुख सापकोटाले बताए।

स्वास्थ्य बिमाका लागि ५ जनासम्मको परिवारले वार्षिक २ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने र सोबापत परिवारका सदस्यलाई ५० हजार रुपैयाँसम्मको स्वास्थ्य सेवा उपचार, निदान र औषधि प्रदान गरिने सापकोटाले बताए। उनले ५ जनाभन्दा बढी सदस्य भएका परिवारले प्रति सदस्य ४ सय २५ रुपैयाँका दरले बीमा रकम थप्नुपर्ने जानकारी दिए।  

यसरी सदस्य थप भए अनुसार त्यस्तो परिवारले प्रतिव्यक्ति थप १० हजार रुपैयाँ बराबरको सेवा पाउनेछन्। परिवारको नाताभित्र नपर्ने तर सँगै बसोबास गर्नेलाई पनि परिवारको सदस्यसरह रकम थप्न र निजले परिवारको सीमाभित्रको सुविधा उपभोग गर्न  पाउने भएकाले पछिल्लो समय इलाममा स्वास्थ्य बिमा गराउनेको संख्या बढेको प्रमुख सापकोटाले बताए।

इलाममा रहेर सामाजिक सुरक्षा विकास समितिबाट स्वास्थ्य बिमा गराउँदै आएकी बिमक सीता बेगाले सुरु–सुरुमा मानिसहरुले स्वास्थ्य बिमाको महत्त्व नबुझेको अनुभव सुनाइन्। 'पहिले त हामीलाई स्वास्थ्य बिमाको बारेमा बुझाउनै गाह्रो भो , धेरैले पत्याउँदै पत्याएनन्। तर पछिल्लो समय सबैले यसको महत्त्व बुझेका छन्। धेरैले बिमा बनाउने इच्छा राख्छन्। फोनै गरेर बिमा गराइदिनु भन्छन्।'

'पछिल्लो समयमा धेरैले बिमा गराउने गरेका छन्। तर बिमा गराइसकेपछि उपचार राम्रो भएन भनेर धेरैले गुनासो गर्छन्, बिमा गराएकाहरुले सुरुमा गाउँकै प्राथामिक स्वास्थ्य केन्द्रमा उपचार गराउनु पर्ने भएकाले धेरैले त्यहाँ राम्रो उपचार नहुने,औषधि नहुने गुनासो गर्छन्', सीताले भनिन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.