|
Photo : Getty Image\ BBC

एजेन्सी : पाकिस्तानका टेस्ट कप्तान मिसवाह उलहकले वेस्ट इन्डिज विरुद्धको शृंखलापछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्। ४२ वर्षका उलहक बुधबार विज्डनको वर्षका उत्कृष्ट ५ क्रिकेटरहरुको सूचिमा मनोनित भएका थिए। उनले २०१० देखि ५३ टेस्ट पाकिस्तानी टिमको कप्तानी गरेका छन्।

पाकिस्तानले अप्रिल २१ गतेबाट वेस्ट इन्डिज विरुद्ध ३ टेस्टको शृंखला खेल्नेछ। पहिलो टेस्ट किङ्स्टोनमा हुनेछ। 'मेरो क्रिकेट यात्रा धेरै राम्रो रह्‍यो,' मिसवाहले भनेका छन्,'मेरो करियरमा धेरै अफ्टेराहरु देखिए। तर अहिले वर्तमानमा केन्द्रित छु।'

मिसवाहले सन् २००१ देखि टेस्ट क्रिकेट सुरु गरेका थिए। तर  कप्तान नियुक्त हुनअघिसम्म उनले केवल १९ खेल मात्रै खेले। सन् २००७ मा ४ वर्षपछि उनले टेस्ट क्रिकेटमा पुनरागमन गरेका थिए।

सन् २०१० को सुरुवातमा उनी फेरि टिममा परेनन्। तर तत्कालिन कप्तान सलमान बट म्याचफिक्सिङ प्रकरणमा मुछिएर जेल परेपछि उनले टोलीको कप्तानी पाए।

मिसवाह पाकिस्तानका सबैभन्दा सफल टेस्ट कप्तान हुन्। उनले ५३ खेलमध्ये २४ खेलमा टोलीलाई विजयी गराएका छन्। सन् २०१६ को अन्त्यमा उनको कप्तानीमा रहेको पाकिस्तान आईसीसीको टेस्ट वरियतामा पहिलो स्थानमा उक्लिएको थियो।

उनले ७२ टेस्टमा ४५.८४ को औसतमा ४ हजार ९ सय ५१ रन बनाएका छन्। उनले लडर्समा इङल्यान्ड विरुद्ध पाकिस्तानले जित हासिल गर्दा गत जुलाईमा आफ्नो १० औं शतक पुरा गरेका थिए। त्यस शृंखलामा पाकिस्तान र इङल्यान्डले बराबरी खेले।

त्यसपछि पाकिस्तानले वेस्ट इन्डिज विरुद्धको शृंखला जितेको पाकिस्तान न्युजिल्यान्डसँग २-० ले पराजित भयो। अस्ट्रेलिया विरुद्धको शृंखलामा पाकिस्तान ३-० ले ह्वाइटवास भयो।

'पाकिस्तानका लागि विजयी यात्रामा फर्कन वेस्ट इन्डिज विरुद्धको शृंखला महत्वपूर्ण अवसर हो,' मिसवाहले भनेका छन्।

उनले सन् २०११ देखि सन् २०१५ को विश्‍वकपसम्म पाकिस्तानको एकदिवसीय टिमको कप्तानी गरेका थिए। त्यस विश्‍वकपपछि मिसवाहले एकदिवसीय क्रिकेटबाट सन्यास लिए। उनले ८ टी-ट्वान्टी खेलमा पाकिस्तानको कप्तानी गरेका छन्। सन् २००९ मा पाकिस्तानले टी-२० विश्‍वकप जित्दा मिसवाह टोलीका महत्वपूर्ण खेलाडी थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.