'नेपालले भन्यो, भारतले सुन्यो'

|

काठमाडौं : नेपाल र भारतबीच विभिन्न चरणमा भएका सन्धि सम्झौता संशोधन एवं पुनरावलोकनका लागि दुबै देशका सरकारलाई सुझाव दिन गठन गरिएको प्रबुद्ध व्यक्तिको समूह (इपीजी) को तेस्रो बैठक सकिएको छ। बुधबार काठमाडौंमा सुरु भएको बैठक अगामी दिनमा नेपाल भारतबीच भएका सन्धि सम्झौताबारे थप छलफल गर्ने निष्कर्षसहित सकिएको हो।

भारतको देहरादूनमा आउँदो मे २० देखि ३१ सम्म हुने समूहको चौँथो बैठकमा नेपाली पक्षले राखेका विषयमा छलफल हुने छ। दुई दिन काठमाडौंमा चलेको बैठकमा पर्याप्त छलफल हुन नसकेपछि एक दिन थप गरी छलफल गरिएको नेपाली पक्षका सदस्य एवं सांसद राजन भट्टराईले जानकारी दिए।

नेपाल भारतका प्रबुद्ध व्यक्तिहरुको बैठकमा नेपाली पक्षले सन् १९५० को सन्धि र सीमा विवाद लगायतका विषयमा कुरा राखेको, भारतीय पक्षले ध्यानपूर्वक कुरा सुनेको र अगामी दिनमा अध्ययन गरेर थप छलफल गर्नेगरी बैठक सकिएको नेपाल टोलीका संयोजक पूर्व परराष्ट्रमन्त्री डा. भेषबहादुर थापाले बताए।

बैठकबारे जानकारी दिन नारायणहिटीमा रहेको इपीजीको कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा थापाले भने, 'यही निष्कर्षमा पुग्यौं भन्न सकिन्न। छलफल जारी रहन्छ।'

थापाले यसपपटकको बैठकमा नेपाली पक्षले सन् १९५० को नेपाल भारत शान्ति तथा मैत्रि सन्धि, जलस्रोत, व्यापार घाटा, नेपाल भारत सीमामा हुने अशान्ति लगायतका विषयमा कुरा राखेको र भारतीय पक्षले त्यलाई ध्यानपूर्वक सुनेको बताए। '१९५० को सन्धि, सीमा समस्या, व्यापार घाटा लगायतका समस्याको समाधान कसरी खोज्ने भन्ने कुरा राख्यौं। यो प्रकृयाले आफै गति लिन्छ र यसपछिको बैठकमा यी विषयबारे थप कुरा हुनेछ।' उनले वार्ताले सकरात्मक निष्कर्ष निकाल्ने आश गरेको बताए।

नेपालको अवस्था फेरिइसक्यो

थापाले नेपाल सन् १९५० को अवस्थाबाट धेरै अगाडि बढिसकेको बताए। नेपाल भारतबीच भएको सन् १९५० को सन्धिबारे भारतीय पक्षलाई पुनरावलोकनका लागि नेपाली पक्षले आफ्नो प्रस्ताव राखेको बताउँदै थापाले भने, 'अन्तर्राष्ट्रिय संघ सस्था, संयुक्त राष्ट्रसंघ लगायत कुटनीतिक क्षेत्रमा नेपालको उपस्थितिले अब नेपाल फरक भइसकेको छ।' उनले सन्धिका कतिपय कुरा असान्दर्भिक रहेकोमा नेपाली पक्षले आफ्नो धारणा राखेको बताए। जसलाई भारतीय पक्षले 'नेपाली पक्षका कुरा ध्यानपूर्वक सुनेको' थापाले बताए।

थापाले प्रबुद्ध व्यक्तिको समूहका कुरा पहिलेको जस्तो नहुने बताए। २ वर्षका लागि बनेको यो समूहको म्याद सन् २०१८ मा सकिँदैछ। उनले यो समूहले दिएका सुझाव दुबै सरकारले मान्ने प्रतिवद्धता आएकोले मिहिनेत गरेर अगाडि बढिरहेको बताए। 'यो प्रकृयाको सुरु हुनु पहिलेको भन्दा अहिलेको अवस्था फरक छ', थापाले भने, 'पहिले हामीले गुनासो गर्ने र उनीहरु (भारतीय पक्ष) कानमा तेल हालेर बस्थे। अहिले निश्चित निकाय र नीति बनेको छ यसबाट केही निष्कर्ष निसक्नेछ। यथास्थितिमा हुने कुरा नकारेर अगाडि बढेको बताए।'

पत्रकार सम्मेलनमा आएन भारतीय पक्ष

प्रबुद्ध समूहको तेस्रो बैठकबारे जानकारी दिन बोलाइएको पत्रकार सम्मेलनमा नेपली पक्षमात्र उपस्थित थियो। नेपालका तर्फबाट संयोजक डा. थापा, पूर्वमन्त्री नीलाम्बर आचार्य, सांसद राजन भट्टराई र पूर्वसचिव एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय पत्रकार सम्मेलनमा उपस्थित थिए।

भारतीय पक्षको नेतृत्व गरेका भारतीय जनता पार्टीका सांसद भगतसिंह कोसियारी र सदस्यहरु पूर्वराजदूत जयन्तप्रसाद, प्राध्यापक बिसी उप्रेती र प्राध्यापक महेन्द्र पी. लामा भने उपस्थित भएनन्।

बैठक सकिएपछि परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसँग दुबै पक्षका सदस्यले भेट गरेका थिए।

काठमाडौंमा बसेको पहिलो बैठक र दिल्लीमा भएको दोस्रो बैठकको जानकारी दिन दुबै देशका प्रतिनिधिले पत्रकार सम्मेलनमा सहभागी भएपनि यसपटक भने भारतीय पक्ष सहभागी भएन। भारतीय पक्ष सहभागी नभएपछि सञ्चारकर्मीले भारतीय पक्ष किन उपस्थित भएन भनेर प्रश्न गरेका थिए। प्रबुद्ध व्यक्तिहरुको समूहको पहिलो बैठकबारे नेपाली सञ्चार माध्यममा आएका समाचारप्रति असन्तुष्टि जनाएर भारतीय पक्ष पत्रकार सम्मेलनमा नआएको नेपाली पक्षले जानकारी दियो। 

नेपाली पक्षका संयोजक डा. भेषबहादुर थापाले भने- 'पहिलो बैठकमा भारतीय पक्षले पत्रकार सम्मेलन पछि आएका कुराप्रति असहज माने। त्यसैले भारतीय पक्ष संयुक्त पत्रकार सम्मेलनमा बस्न मानेन र नेपालमा नेपाली पक्ष र भारतमा भारतीय पक्ष मात्र पत्रकार सम्मेलनमा बस्ने समझदारी भयो।'

भारतीय पक्षका दुई सदस्य जयन्तप्रसाद र पी. लामा बिहीबार नै फर्किसकेका छन् भने संयोजक भगतसिंह कोशियारी र बीसी उप्रेती नेपालमै छन्।

आवश्यक परे विवादित सीमामा बैठक बस्ने

प्रबुद्ध व्यक्तिको तेस्रो बैठकको सुरुमा नेपाली पक्षले सीमानामा भएका अशान्तिका कुरा उठाएको थियो। यो बैठकको तयारीका लागि नेपाली पक्ष नेपाल भारत सिमानामा गएर अध्ययन गरेका व्यक्तिहरुसँगका कुरा राखेर सुरु भएको र अगामी दिनमा विवादित सिमानामा गएर अनुगमन गर्ने र त्यहीँ बैठक समेत गर्ने सम्भावना रहेको जानकारी पत्रकार सम्मेलनमा दिइयो।

डा. थापाले भने, 'दुबै पक्ष सीमामा जाने र बैठक नै विवादित ठाउँमा बस्ने भन्ने कुरा पनि भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.