|

इलाम : तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग  माइभ्याली गोल्डकपको फाइनलमा विभागिय टोली त्रिभुवन आर्मी र रमपम झापा–११ बीच प्रतिस्पर्धा हुने भएको छ। बिहीबार भएको अन्तिम सेमिफाइनलमा सशस्‍त्र प्रहरी बलको विभागितय टिम एपीएफलाई १-० ले हराउँदै झापा फाइनल पुग्यो।

झापाबाट अतिरिक्त समयको १५ औं मिनेटमा विशाल राई 'ए' ले निर्णायक गोल गरे। उनले रजिन धिमालको फ्रिकिककमा हेड गोल गरेका हुन्।

त्यसअघि निर्धारित ९० मिनेटमा दुबै टिमले गोलका लागि गरेका कुनै पनि प्रयास सफल हुन सकेनन्। खेलको सुरुवातमा नै एपीएफले अग्रता लिने मौका गुमायो। छैटौ मिनेटमा एपिएफको प्रहार झापाका डिफेन्डरले गोल लाइनबाट बचाए।  आठौ मिनेटमा झापाका बुद्ध चेम्जोङको क्रसलाई विशाल राईले गोल गर्न सकेनन्। विशालको प्रहार पोष्टमाथिबाट बाहिरियो।

४१ औ मिनेटमा एपीएफका सन्तोष श्रेष्ठको प्रहार पोष्ट नजिकैबाट बाहिरियो। झापाले पाएका धेरै अवसरमा एपीएफका गोलकिपर राजु नगरकोटी बाधक बने। खेलको ६८ औ मिनेटमा कर्ण लिम्बुको प्रहारले पोष्टको दिशा लिएपनि  रेफ्रीले अफसाइड दिएपछि घरेलु दर्शक निराश भएका थिए।

खेलपछि एपीएफका प्रशिक्षक कुमार थापाले अतिरिक्त समयको अन्तिम सेकेन्डमा गोल खानु नै दुर्भाग्य भएको बताए। झापाका टिम मेनेजर गोपाल राईले भरपर्दा मिडफिल्डर पुजन उपरकोटी घाइते भएकाले एपिएफले कडा चुनौती दिएको बताए । ‘शारिरिक रुपमा बलिया एपिएफसँग सोचे जस्तो खेल नभए पनि खेल जित्यौं,' राईले भने।

प्रतियोगिताको फाइनलमा अब झापाले आर्मीको सामना गर्नेछ। यसअघि नै पुलिस क्लबलाई हराएर आर्मीले चैत २६ गते हुने फाइनलका लागि स्थान बनाइसकेको छ। फाइनल खेलको विजेताले नगद ४ लाख रुपैयाँ र उपविजेताले नगद २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

यस संस्करणको सर्वोत्कृष्ट खेलाडीले यमाहाको १५० सीसीको मोटरसाइकल प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद २५ हजार प्राप्त गर्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.