|
Photo : CNN

अमेरिकाले सिरियाली सैनिक क्याम्पमा मिसाइल आक्रमण गरेको छ। शुक्रबार बिहान गरिएको आक्रमणमा ५९ क्रूज मिसाइल प्रहार गरिएको बीबीसीले लेखेको छ। हालै सीरियामा भएको रसायनिक आक्रमणपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणको आदेश दिएका हुन्।

ओबामा सरकारले सिरियाली बिद्रोहीलाई हतियार दिएर सघाउने नीति लिएको थियो। त्यतिबेला प्रत्यक्ष सैनिक आक्रमणमा सहभागि नभएको अमेरिका ट्रम्प राष्ट्रपति भएपछि प्रत्यक्ष सैनिक आक्रमणमा उत्रिएको हो।  

स्मरण रहोस्, ४ अप्रिलका दिन सिरियाको एक सहरमा भएको रसायनिक आक्रमणमा १०० भन्दा बढीको मृत्यु भएको थियो। त्यसको प्रतिक्रियामा ट्रम्पले भनेका छन्, 'सिरियामा भएको रसायनिक आक्रमणका लागि राष्ट्रपति बसर अल असद जिम्मेवार रहेको कुरामा कुनै शंका छैन। असदले सर्वसाधारण, महिला र बालबालिको रगत बगाइरहेका छन्। यो आक्रमणले मेरो असदप्रतिको धारणा फेरिएको छ। यो मानवता विरुद्धको क्रुर आक्रमण हो।'

रोयटर्सका अनुसार ट्रम्पले कार्यभार सम्हालेयता अमेरिकी परराष्ट्र नीतिले लगातार संकटको सामना गरिरहेको छ। सिरियामा चालिएको यो कदमलाई अमेरिकी फरेन पोलिसीमा आएको बदलाव पछिको ट्रम्पको सबैभन्दा ठूलो कदमका रुपमा हेरिएको छ।

समाचारमा जनाइएअनुसार अमेरिकी मिसाइलले शायरत हवाई अड्डालाई निसाना बनाएका छन्। सिरियाली विद्रोहीको कब्जामा रहेको इलाकामा यही हवाई अड्डाबाट रसायनिक आक्रमण गरिएको अमेरिकाको बुझाइ छ।

सिरियाली स्टेट टिभीलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार अमेरिकी मिसाइलहरुले सैनिक बेस क्याम्पमा तीव्र आक्रमण गरिरहेका छन्।

४ अप्रिलमा सिरियाको उत्तर पश्चिम इदलिब प्रान्तमा रसायनिक आक्रमण भएको थियो। त्यसक्रममा १ सय जनाले ज्यान गुमाएका थिए भने करिब ४०० भन्दा बढी बिरामी परेका थिए। सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार आक्रमण विद्रोहीको कब्जामा रहेको खान शेखौन सहरमा गरिएको थियो।

यस आक्रमणको पछाडि रुस र सिरियाली सेनाको संलग्नता रहेको आशंका गरिँदै आएको छ। यद्यपी रुसले सिरियाली सेनाले नै सो आक्रमण गरेको दाबी गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.