|

आफ्ना जिन्दगीका सुमधुर सपनाहरु बुनेर गगनमा पङ्ख फुकाउदै उडेका चराहरु पनि फत्र्याक्क भुइमा खस्ने गर्मी। त्यही गर्मीमा दिनभरि मरीमरी काम गर्दा पसिनाले निथ्रुक्क भिजेको शरीर लिएर आज पनि सदा झै बेलुकीको बासस्थानसम्म आइपुगियो। पसिनाले हुस्स गन्हाउने जिउ र लुगाफाटो धोइ पखाली एउटा प्लास्टिकको पोको फुकाउँदै भोकले लखतरान परेर छिट्टै खाना खाने तयारी गरियो।

तल्लो होटलवालाले ल्याइदिएको चिल्सा र घुन लागेर कालै देखिने भात र कुरुम कुरुम गर्ने काचै आलुका चोक्टा। यसो एक गास मुखमा हाल्न खोज्यो कि वाक्क आउने। दिनभरि काम गरेर दुई छाक निल्नु छ,त्यसैमा पनि यत्रो कस्ट। मन चुक भन्दा पनि अमिलो बन्छ, बरररर आँखा रसाउँछन्! दिनभरि गाउँ डुलेर घर फर्किदा मध्यरातसम्म चुलोमाथि भात तिउन तताएर टुकी बालेर छोरो पर्खने आमा र तिनै आमाले बाबु तरकारीमा नुन लागेको छ? लौ छोरा अझै खानुपर्छ, भनेर खाना पस्किएको पल सम्झियो,झन् घुक्क घुक्क डाँको छोडेर रुन मन लाग्छ। के गर्नु त अब घर नफिर्दासम्म यहाँको छाड्न नसकिने र उताको पाउन नसकिने भन्दै शान्त हुनुको अर्को कुनै बाटो नै छैन। 

दिनभरिको गर्मी र थकानले चुसिएर मुरलीझैं भएको जिउ एउटा चिसो एसी चल्ने बन्द कोठाको खाटमा लगेर फाल्यो। कहिले बोल्दाबोल्दै भुसुक्कै निदाइदो रहेछ,कहिले रात भरिनै आँखा नलाग्ने। आज पनि एवं रुपले सबै काम भ्याएर भर्खरै खाटमा पल्टिएर यसो साथीहरुतिर आँखा दौडाएको त,सबै जना निदाइसकेका रहेछन्। दिनभरि गर्मीमा काम गरेका साथीहरु बन्द कोठाको चिसो हावाले बाधा पुर्‍याएर होला डर लाग्दो गरी घुरिरहेका थिए। पापी मन त हो, अझ आज सुतेर भोलि बिहान उठिन्छ वा नाइ भन्ने पो डर हुन्थ्यो। बेलुकी सङ्गै सुतेको साथी बिहान कहिल्यै न ब्युझिने गरेर अस्ताएको पनि मैले नेपालबाट यहाँ आउनासाथ देखे भोगेको थिएँ। अझै पनि त्यो क्रम जारी नै छ। कोठामा म जस्तै जिन्दगीको कुनै टुङ्गो नभएका १८ जना नेपाली साथीहरु गहिरो निन्द्रामा सुतिरहेका छन्। थाहा छैन बिहान हामी सबै ब्युझिन्छौ कि नाइ!

अखबार पल्टायो आज मलेसियामा तामिलहरुद्वारा यति नेपालीमाथि आक्रमण, रेडियो खोल्यो अरबमा यति जना नेपाली सुतेको ठाउँमा मृत भेटिए, अनि फेसबुक हेर्‍यो कोरियामा नेपालीमाथि गोली प्रहार। हो जता चियायो यस्तै बेदना, यीनै कारुणिक घटना र समाचार छ्याप छ्यापती भेटिन्छन्। यो दुनियाँमा सायदै भेटिएला त्यो मुलुक जहाँ इमान्दार नेपालीको रगत नपोखिएको होस्, त्यो विश्वयुद्धमा होस वा जम्मु काश्मिरमा, इराक, अफगानिस्तान, अरब वा मलेसियामा। घर खेत बन्धकी राखेर श्रीमतीका गलाको तिलहरी र कानका मुन्द्रा बेचेर मुग्लान छिरेका म जस्तै कयौं युवाहरु वेकसुर परदेशमा रेटिएर रातो बाकसमा डल्लो पर्दै दैनिक त्रिभुवन विमानस्थलमा उत्रिन्छन्। हामीले त त्यही एउटा बाकस र २-४ जना आफन्तीको बिलौनामात्र देख्छौं। 

ती दैनिक नेपाल पुग्ने रातो बाकसहरुले कति निर्दोष चेलीहरुको सिउँदो पुछिदिएको छ,बाबा भन्न भर्खरै सिक्दै गरेका कति अवोध मुनाहरुलाई टुहुरो बनाएर  बाउ परदेश छिर्दाको ऋणको भारी बोकाएको छ। अस्ताउनै लागेको घामजस्ता बुढा आमा बाबाहरु बाँचेर पनि पटक पटक मरेका छन्। तर दुर्भाग्य यति हुँदाहुँदै पनि बिदेशिनेको संख्या दिनानु दिन बढेको छ। ज्यानको बाजी लगाएर रगत पसिनासँग साटेको पैसामा मस्ती भने सधै सत्ता र भत्ताका डाडु पन्यु छोप्नेहरुले नै गरिरहेका छन्। यिनै रातो बाकसमा आएका र त्यस्तै भीर पहरामा झुन्डिएर रगत र पसिनाको आहुती गर्ने युवाले पठाएको रेमिटान्सले चलेको देशका शोसकहरु सत्ता पल्टाउन र बनाउनकै लागि रुद्राक्ष जपिरहेका छन्। 

धन कमाएर मझेरीको कुनामा राखिएको सानो बाकस पैसाले भर्ने सपना सजाएर मुग्लान छिरेका लाखौं युवाहरु मरुभूमिमा बिना कारण विलाप गर्दै मारिएर काठको बाकसमा काठमाडौ झरेपछि गोहीका आँसु झार्दै बाकसमाथि फूल चढाएर गाइजात्रा देखाउँछन् र भन्छन् - यो देश युवाहरुको हो,र म नै युवाहरुको नायक हुँ। आखिर यो रमिता कहिलेसम्म? 

त्यस्ता मुलुकमा रहेका नेपाली राजदूतावासले के गरेर बसेको छ? देशभित्रै छ्यापछ्याप्ती उम्रिएका सुरक्षित बैदेशिक रोजगारको क्षेत्रमा झोला बोकेर गाउँ छिर्नेहरु कुन लोकमा छन्?  हुनत तारे होटल छिरेर बिराइनी र ह्वीस्कीको स्वादमा राष्ट्रियता खोक्ने काला मान्छेहरुलाई के थाहा रातो बाकसको सकस र पीडा?

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.